उत्पादनमा अनुदान कार्यक्रमले भानुका पशुपालक किसान उत्साहित

भानु : तनहुँको भानु नगरपालिकाले पशुपालक किसानलाई उत्पादानमा आधारित अनुदानको व्यवस्था गरेपछि किसानहरु व्यवसायिक पशुपालनमा उत्साहित भएका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् ।
नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । उनका अनुसार किसानले कुल १८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत पाँच लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ ।
‘पछिल्लो समय किसानले घाँसखेतीसँगै पशुपालन व्यवसायलाई वृद्धि गर्दै लान थालेका छन्’, उनले भने, ‘नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्प्रेरण गर्ने काम भइरहेको छ ।’
नगरपालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्घ उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो । ‘घाँसखेती विस्तार कार्यक्रम अन्तर्गत कृषकले नयाँ प्रजातिका डाले तथा भुइँ घाँस विस्तार गरेका छन्’, ढुङ्गानाले भने, ‘यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी ल्याउने योजना छ ।’
यस्तै, नगरपालिकाले दुग्ध उत्पादनका आधारमा अनुदान वितरण कार्य थालेको छ । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान प्रतिस्पर्धाका साथै उत्साहित भएर उत्पादन गर्न लागेका छन् । नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत चार लाख २० हजार रुपैया रकम अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । ‘उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ’, उनले भने, ‘किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिइएको छ ।’
नगरप्रमुख आनन्द त्रिपाठीले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र नगरलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको बताए ।










