पर्यटन र दिगो आर्थिक विकास

के.बि. मसाल

प्रकृतिले सिंगो प्राणी जगतलाई आवश्यक प्राकृतिक श्रोतसाधन उपलब्ध गराई राखेको हुन्छ । प्रकृतिसँग जैविक चक्रको निरन्तरता दिने क्षमता हुन्छ । प्रकृतिको यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताका लागि समेत विकासका प्रतिफलहरुको निरन्तर लाभ दिलाउने विकास प्रक्रिया नै दिगो विकास हो । सुरुमा वातावरणसँग जोडिएको दिगो विकासको अवधारणालाई हाल आएर पर्यटन, आर्थिक तथा सामाजिक विकास र वातावरण संरक्षणसँग जोडेर हेरिन्छ । दिगो पर्यटनले वातावरण र समाजमा नकारात्मक प्रभावलाई रोक्ने गर्दछ । स्थानीय संस्कृति, प्राकृतिक अवस्थाका विषयवस्तु, वनजंगल र वन्यजन्तु, मानिस र तिनको संस्कृति, परम्परा र कला आदि दिगो पर्यटनका प्रमुख सरोकार हुन ।
सांस्कृतिक र जैविक विविधताको संरक्षण, स्थानीय मानिसहरुलाई रोजगारी प्रदान गरी जैविक विविधताको संरक्षण गर्ने तथा सामाजिक तथा आर्थिक फाइदा स्थानीय समुदायसम्म पु¥याउने उद्देश्य दिगो पर्यटनको हुन्छ । त्यस्तै पर्यटनको पर्यटकीय प्रभावलाई कम गर्ने तथा स्थानीय संस्कृति, जीवजन्तु र वनस्पतिको संरक्षण गरी प्राकृतिक अवस्था अक्षुण राख्ने सोच दिगो पर्यटन होरु। दिगो पर्यटनलाई दिगो विकासको कोखबाट जन्मेको अवधारणाको रुपमा लिइन्छ । दिगो पर्यटनले दिगो विकासको प्रभावकारी कार्यन्वयन गर्न सहयोगीको रुपमा भुमिका खेल्दछ । दिगो पर्यटनको विकास दिगोपनासँग जोडिन्छ । वातावरणीय नीतिहरु र विकासका रणनीतिहरुको समष्टि नै दिगो विकास हो। यो भावी पुुस्ताप्रतिको चिन्ता, सरोकार र जिम्मेवारी हो भने वर्तमान पुुस्ताको दायित्वबोध हो । यसले नयाँ नैतिक मूल्यको सृर्जना गरेको छ ।
प्राकृतिक स्रोत साधनको समुचित संरक्षणसहितको विकासलाई दिगो विकासको अवधारणाले आत्मसात् गर्दछ। विकासका क्रियाकलापले वातावरणीय ह्रास हुन्छ भन्ने मान्यताबाट यो अवधारणा विकास भएको छ। जसले त्यस्तो जोखिमलाई न्यूनीकरण गरी वातावरणको निरन्तरता आवश्यक ठान्दछ । नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रुपमा विश्वमा चर्चित छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु नै पर्यटन विकासका प्रमुख आधारका रुपमा रहेको छ । नेपालको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरुले पर्यटकलाई आकर्षण गरिरहेका छन । भएका प्राकृतिक स्रोत साधनलाई कसरी संरक्षण गर्ने र पर्यटनको बिकास गर्ने भन्ने सोचको खाचो छ । पर्यटन गतिविधिमा दिगोपनाको अवधारणानै दिगो पर्यटन हो । वातावरणीय दिगोपना तथा व्यवसायीक, आर्थिक दिगोपना लगायतका पर्यटकीय गतिविधिमा बहुपक्षीय सदियौ सम्मको एकरुपतापनको अपेक्षा हो दिगो पर्यटन ।
पर्यटन क्रियाकलापमा वातावरणीय, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक तथा प्रशासनीक दृष्टिकोणबाट सुरक्षित र टिकाउ रहदै पर्यटनबाट आजको पुस्ताले लाभ लिनुका साथै भोलीको पुस्ताले समेत लाभ लिन सक्नु पर्दछ । यही अनुपातमा कम्तीमा पनि नघटने गरि कालान्तर सम्म सहज रुपमा लाभ प्राप्त गर्न सक्ने तथा सुन्दर मैलिक पृथ्वीको स्वरुप देखिराख्न सक्ने परिकल्पना सहितको जिम्मेवार पर्यटकीय गतिविधि दिगो पर्यटन हो । दिगो पर्यटन त्यस्तो अवस्था हो जसमा पर्यटकीय उपभोग र उपयोगीता अन्नतकाल सम्म घटदैन । दिगो पर्यटनमा सम्पदाहरुको व्यवस्थापन यसरी गरिएको हुन्छ की भविष्यको पर्यटकीय गुणस्तर र उत्पादनमा कुनै प्रतिकुल प्रभाव पर्न नसकोस । पर्यटकीय गतिविधिमा प्रकृति र मानव दुवैको कालान्तर सम्मको सहअस्तीत्व सहितको क्रियाकलापहरुको समग्रता नै दिगो पर्यटन हो ।
यसरी दिगो विकासको परिपुरकको रुपमा दिगो पर्यटनलाई स्वीकार्न सकिन्छ। दिगो पर्यटनका परिलक्ष्यहरु प्राप्त गर्न कुनै एक पक्षको सक्रियतामा मात्र सम्भव देखिदैन । यसका निम्ती बहुपक्षीय समझदारी, समन्वय, सहकार्य, साझेदारी तथा जिम्मेवारीको आवश्यकता पर्दछ । विश्वको चासो र सरोकार सहित द्धिपक्षीय तथा बहुपक्षीय सरोकारको विषय हुँदाहुँदै पनि एउटा निश्चित राज्यका निम्ती समेत उत्तिकै महत्वपूर्ण विषय रहेकोले नेपालमा समेत दिगो पर्यटनका निम्ती विभिन्न सहकार्यमुलक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने हुन्छ । यसका निम्ती नेपाललाई सुरक्षित, गुणस्तरीय र पर्यटनमैत्री बनाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गनुपर्ने हुन्छ । यसैगरी पर्यटकीय स्थल तथा उपजमा विविधिकरण गरी पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान अभिवृद्धि गर्नुका साथै पर्यटकीय क्षेत्रबाट प्राप्त लाभलाई समन्यायीक हिसाबले जनस्तरसम्म पु¥याउनु पर्दछ ।
नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो र विश्वमा अनुपम छ । अतिथि देवो भव संस्कार–संस्कृतिमा अभ्यस्त नेपालीहरुको जीवनस्तर उकास्न पर्यटन प्रवर्द्धन वरदान सावित हुन सक्छ । नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको अनुपम समझदारी र सहकार्यमा जीवन्त रहेको छ । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशहरुका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरुको रहनसहन, संगीत र नृत्यमा प्रकट हुन्छ । कला र शिल्प, लोकगीत र वाद्यवादन, भाषा, धर्म, संस्कृति, उत्सव, खाना पर्यटनको लागि नौलो हुन्छ । सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे प्रसारको कमिको कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धी हासिल हुन सकेको छैन । नेपालमा पर्यटन विकासका आधार एवं चर्चा र चुनौतीबारे नीति तथा कार्यक्रम ल्याउन सरकार र सरोकार पक्ष पछाडि परेको छ ।
मानिसहरु पर्यटकका रुपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ। आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायतका दुर्लभ तथ्यहरु उजागर गरी कीर्तिमान कायम राख्ने होड नै चलेको छ । विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधिका लागि लोभलाग्दा छन । प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ, विहार, स्काई डाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिप वायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर, गाउँबस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरु हुन । हामीले पनि उल्लेख्य मात्रामा पर्यटक भित्राउने रणनीतिक व्यावहारिक योजनाको ल्याउन पर्दछ ।
सानो भूगोलभित्र प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा, संस्कार तथा संस्कृतिले भरिपूर्ण भएको देश विश्वमा नेपाल मात्रै होला । नेपालको विविधता अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार–संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि उत्तिकै रोजाइको क्षेत्र पर्दछ । हाम्रो धार्मिक, सांस्कृतिक र प्राकृतिक वैभवको दिगो संरक्षण र विकास गर्दै पर्यटक भित्राउन ठोस नीति र रणनीतिको खाँचो भएको छ । हाम्रा पुर्खाले आर्जेको र प्रकृतिले दिएको वरदानको सदुपयोग गर्दै सम्पन्नतातिर लम्किन नेतृत्वमा दूरदर्शी सोच र दृढ इच्छाशक्ति आवश्यक छ । संसारमै ठूलो उद्योगका रुपमा स्थापित र विस्तारित हुँदै गएको पर्यटन उद्योग अझै पनि हाम्रोमा प्राथमिकतामा परेको छैन ।
दिगो पर्यटनको बिकासको लागि बाह्यका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रुपमा लिइने बाटो, बासस्थानअन्तर्गत होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्दछ । अर्को तर्फ नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयको स्थापना गर्नुपर्दछ । कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए तापनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन सक्दछ । हामीे प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टीठलाग्दो अवस्था हो । नेपाली पोसाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन ।
राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक पर्यटनको कस्तो योगदान रहदै आएको छ ? यसका सम्भावना र चुनौती के के हुन ? प्राथमिकताका साथ यसको सुक्ष्म अध्ययन, विश्लेषण पर्यटनको क्षेत्रमा गरेको देखिदैन । जब कि मुलुकको दिगो आर्थिक विकासको लागि गैरउत्पादन क्षेत्रमा खर्चिने धनराशी र निष्क्रिय रुपमा छरिएर रहेका पूँजिलाई एकीकृत गरी उत्पादनमूखी क्षेत्रमा लगानी गरी रोजगारीका लागि खाडी धाउन विवस श्रमिकलाई स्वदेश फर्काउनु अपरिहार्य छ । त्यसको लागि देशमा उद्योग, व्यापार, व्यवसाय तथा रोजगारीको अवस्था सृजना गरी मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक पर्यटन भरपर्दो माध्यम हुन सक्दछ । खै त यो बिषयमा योजना बिध, राजनितीदल र पर्यटन क्षेत्रमा काम गर्ने सरोकार वालाहरुको दृष्टिकोण ? मुलुकमा विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न सके हाम्रो आन्तरिक पर्यटन विकासले एउटा ऐतिहाँसिक छलाङ मार्न सक्दछ । त्यसको निम्ति केही नविन र प्रभावकारी कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी छ ।
मुलुकभित्रका धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक, भौगोलिक महत्ववका श्रोत र सम्पदाहरुलाई राष्ट्रिय सम्पतिको रुपमा भन्दा पनि कुनै जाति, धर्म, समुदाय, क्षेत्र विशेषको एकल अधिकारको रुपमा बुझने गरिन्छ। परिणाम स्वरुप हाम्रो भन्दा नि तेरो र मेरो जस्तो संकिर्ण र अनुदार भावनाले प्रश्रय पाउदै आएको छ । कुनै जाति वा समुदाय विशेषको धार्मिक वा सांस्कृतिक पर्वप्रति राष्ट्रिय स्वामित्व वोध र चेतनामा ह्रास आइरहेको छ । कुनै जाति, धर्म वा समुदायको प्रतिनिधित्व गर्ने पुरातात्विक महत्व बोकेका धार्मिक तथा सांस्कृतिक मठ, मन्दिर, गुम्बा, मस्जीतको संरक्षणमा राष्ट्र व्यापी अभियान आरम्भ हुन सकेको छैन् । राष्ट्रिय नीतिमा त्यो विषयले प्राथमिकता पाइहाले पनि राज्यकै व्यवहारिक पक्ष र आम नागरिकले त्यो यथार्थलाई आत्मसाथ गर्ने गरेको पाइदैन् । देशको जुनसुकै कुनामा भएको धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक, भौगोलिक महत्ववका श्रोत र सम्पदाहरुलाई राष्ट्रिय सम्पतिको रुपमा ग्रहण गर्ने अवस्था श्रृजना हुनु पर्दछ ।
मुलुकमा विद्यमान बिभिन्न पर्यटन व्यवसायीहरु मुलत विदेशी प्रर्यटक र विदेश टुर प्याकेजहरुमा केन्द्रित हुदै आएको देखिन्छ । यदी मुलुकका विभिन्न पर्यटकीय गन्तव्यहरुको लागि सुलभ र उपयुक्त टुर प्याकेजहरु तयार गरी सहज पौहुच सृजना गर्ने हो भन्ने पक्कै पनि आन्तरिक पर्यटनमा उल्लेख्य सुधार आउन सक्छ । साथै विदेशी पर्यटकका लोकप्रिय गन्तव्यहरु जहाँ पर्यटकको चाप निश्चित अवधि मात्र हुने गर्छ त्यस्ता स्थानका पर्यटन व्यवसायीहरुले उक्त अवधिमा नेपालीलाई लक्षित गरी सुलभ दरका बिभिन्न प्यकेजहरु उपलव्ध गराउने हो भने व्यवसायीहरुले पनि बाह्रै महिना आफ्ना व्यवसायबाट लाभ लिन सक्नुका साथै आन्तिरिक पर्यटनमा पनि व्यापक सुधार आउने छ । साथै नागरिकमा देश घुम्ने संस्कृतिको बिकास हुनुका साथै सार्वजनीक सम्पतिप्रति सवैमा अपनत्व र स्वामित्व ग्रहणको भावना विकास भई देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत जागरण आई साचो अर्थमा एउटा समृद्ध मुलुक निमार्णको आधारशिला तयार हुने छ ।
मुलुकमा अनगिन्ती भर्जिन गन्तव्यहरु छन् । अनेकौ सांस्कृति तथा धार्मिक सम्पदा र तिर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख छन । त्यस्ता सवै धरोहरहरुको खोज र प्रचारप्रसार अनि राष्ट्रिय सूचिकरणको प्रवन्धमा राज्यले विशेष प्राथमिकता दिन पर्दछ । साथै त्यस्ता भर्जिन गन्तव्यहरुमा आवश्यक पूर्वाधार तथा सूचना प्रविधिको विकासका साथै अन्य मानव निर्मित पर्यटकीय आकर्षण र सुविधाहरुको निर्माण गर्नसके नयाँ गन्तव्यको पर्खाइमा बसेका हजारौं आन्तरिक पर्यटकको लर्को लाग्ने छ । अब पर्यटन विकासको लागि राज्यको निकायमा एउटा छुट्टै संयन्त्र खडा गरी यस्ता गन्तव्य, धार्मिक तथा सांस्कृतिक महत्वका विविध पक्षका खोज र अन्वेषणमा केन्द्रित गराउनु पर्दछ । दिगो पर्यटन बिकासको लागि अब राष्ट्रियता वोकेको सरल र अर्थपूर्ण नारा सहित यस्तो एउटा अभियान सञ्चालन गर्नु जुरुरी छ जसले देश हेर्न र देश फेर्न दुवैका लागि राज्यले आफूलाई प्रमुख भूभिकामा राखेको अनुभूत हरेक नागरिकले गर्न सकुन । यो अभियानले देश व्यापी रुपमा देश घुम्नु भनेको देशको विकास र समृद्धिमा योगदान गर्नु हो भन्ने सन्देश प्रवाह गरोस ।
देश, विदेश जहाँ सुकै बस्ने नेपालीलाई कम्तीमा एक पटक, आफ्नो क्षमता अनुसार देशको कुनै न कुनै स्थान घुम्न उत्पे्ररित गर्न सकोस । देश घुम्ने हरेक नागरिक आफूले देश घुमेरै देशको विकास र समृद्धिमा योगदान गरे भन्ने हिसावले गौरव महसुस गर्न सकोस । देशका कुनै पनि स्थान घुम्ने व्यक्ति वा परिवारलाई सम्बन्धित लज, होटल, होमस्टे, क्याम्प साइटले देश हेरौं, देश फेरौं अभियानमा सहभागीता जनाए वापत सम्मान स्वरुप मायाको चिनो प्रधान गर्ने नविन परम्पराको आरम्भ गरेर नागरिकलाई देश घुमेर देशको आर्थिक विकासको हिस्सा बन्न प्रोत्साहित गर्न सकोस ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker