भानु नगरपालिका : “पञ्चवर्षीय नगर शिक्षा योजना तयार गरी कार्यान्वयनमा लगेका छौ”

तनहुँको भानु नगरपालिकाले शैक्षिक सुधारका कार्यक्रमहरु प्राथमिकताका साथ अगाडि बढाएको छ । नगरपालिकाको शिक्षा शाखाले २०८१ को शैक्षिक प्रोफाइलमा नगरपालिकाद्वारा सञ्चालनमा आएका विभिन्न योजनाहरू र कार्यक्रमहरू तयार गरी कार्यान्वयनमा लग्दा शिक्षा प्रणालीलाई एक नयाँ दिशा दिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।
नगरपालिका मातहत ३८ आधारभूत र २४ माध्यमिक  गरी ६२ वटा विद्यालयहरू सञ्चालनमा छन् भने, ३ सामुदायिक क्याम्पस, ७ वटा सामुदायिक सिकाई केन्द्र, ३ वटा प्राविधिक शिक्षालयहरु मध्य दुई वाट सञ्चालनमा आएपनि विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । नगर क्षेत्रका विद्यालयहरुमा २ हजार ९२५ छात्र र २ हजार ९०० छात्रा गरी ५ हजार ८२५ विद्यार्थीहरू अध्ययनरत छन् ।
नगरप्रमुख त्रिपाठीका अनुसार नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि भानु नगरपालिका शिक्षा ऐन २०७७ र शिक्षा नियमावली २०७८ जारी गरिएको छ । पञ्चवर्षीय नगर शिक्षा योजना (२०७९/०८०–२०८३/०८४) निर्माण तथा कार्यान्वयन शिक्षक दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापनका साथै सबै सामुदायिक विद्यालयहरुलाई इन्टरनेटको पहुँच पु¥याएर प्रविधिमैत्री शिक्षण पद्धती अवलम्बन गर्ने प्रयास गरिरहेको छ । यस योजना अन्तर्गत विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, डिजिटल शिक्षाका माध्यमहरूको विकास र शिक्षकको क्षमता विकासमा विशेष ध्यान दिइएको नगरप्रमुख त्रिपाठीले बताए ।
‘महिला र बालिकाहरूको शिक्षा र सुरक्षा सुनिश्चित गर्नका लागि भानु नगरपालिका सक्रिय रूपमा काम गर्दै आएको छ । प्रत्येक विद्यालयमा महिला शिक्षक र महिला फोकल पर्सनको अनिवार्य व्यवस्था गरिएको छ । यद्यपि, बालिका शिक्षा र सुरक्षा सम्वन्धी विभिन्न कार्यक्रमहरूको प्रोत्साहनको लागि महिला शिक्षकहरूको लागि सुत्केरी बिदा र अन्य सुविधाहरू प्रदान गरिएको छ’, नगरप्रमुख त्रिपाठीले भने, ‘शिक्षकहरूको प्रशिक्षण र क्षमता विकासका लागि विभिन्न तालिमहरू आयोजना गरिएका छन् । यस अन्तर्गत सूचना प्रविधिको प्रयोग सम्बन्धी तालिम, बालविकास सहजकर्ताका लागि शैक्षिक सामग्री निर्माण तालिम र विषयगत तालिमका साथै शिक्षकहरूको व्यवस्थापन र गुणस्तरीय शिक्षाको लागि आवश्यक कदम चालिएको छ ।’
नगरपालिकाले शैक्षिक संरचनामा पनि सुधार गर्दै लगेको र विद्यालयहरूको भौतिक संरचना र शौचालयहरूको व्यवस्थापनमा सुधारका साथै, विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर र अन्य डिजिटल शिक्षा सामग्रीहरूको व्यवस्था गरी विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउन मद्दत पुग्ने गरी शिक्षा क्षेत्रका कार्यक्रम अगाडि बढाउँदै लगिएको उनले जानकारी गराए ।
विद्यालयहरूको भौतिक पूर्वाधारको अभाव, दरबन्दीको व्यवस्थापन र आर्थिक स्रोतको कमीले शैक्षिक क्षेत्रको अपेक्षित सुधार ल्याउन नसकिएको बताउँदै नगरप्रमुख त्रिपाठीले भने, ‘भविष्यका योजनामा शैक्षिक गुणस्तरमा सुधार गर्न र विद्यालयहरूको भौतिक संरचनामा सुधार गर्नका लागि नगरपालिका प्रतिबद्ध छ ।’ भानु नगरपालिका शिक्षा सुधारका लागि प्रतिबद्ध रहेको बताउँदै उनले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न कदम चालिएको र नगरपालिकाद्वारा लागू गरिएका योजनाहरू, कार्यक्रमहरूले शिक्षा क्षेत्रमा छोटो समयमै राम्रो प्रगति देखिने विश्वास व्यक्त गरेका छन् ।

“सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गरी प्रविधिमैत्री शिक्षा दिन लागिपरेका छौं” : शिक्षा अधिकारी पौडेल

भानु नगरपालिकाले शिक्षा ऐन २०७७ र शिक्षा नियमावली २०७८ जारी गर्नुका साथै पञ्चवर्षीय नगर शिक्षा योजना निर्माण तथा कार्यान्वयनमा ल्याएपनि शिक्षा क्षेत्रमा सकरात्मक संकेतहरु देखिन थालेका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । नगरपालिकाले शिक्षक दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन गरी सबै सामुदायिक विद्यालयहरुलाई इन्टरनेटको पहुँचमा ल्याएर प्रविधिमैत्री बनाउन लागि परेको उनले जानकारी गराए ।
शिक्षा क्षेत्रमा देखिएको समस्या पहिचान तथा समस्या समाधानका लागि नगरपालिकाले प्रत्येक २ महिनामा नियमित प्रधानाध्यापक बैठक सञ्चालन गरी समसामयिक विषयका सूचना प्रवाह, शैक्षिक गुणस्तर र सुशासन अभिवृद्धिका लागि छलफल, अन्तरक्रिया तथा विद्यालयका असल अभ्यास तथा अनुभव शेयरिङ् गर्ने परिपाटीको विकास गरिएको उनले जानकारी गराए । कक्षा १–८ सम्म स्थानीय पाठ्यक्रम ’हाम्रो भानु’ निर्माण र प्रयोग हुनुका साथै हाम्रो भानु नामक स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयहरुमा निःशुल्क वितरण गर्नेमा भानु गण्डकी प्रदेशमा पहिलो पालिका बनेको छ ।
‘शिक्षा, युवा तथा खेदकुद शाखाको तर्फबाट दैनिक पाठयोजना तथा महत्वपूर्ण शैक्षिक सूचना सहितको शिक्षक डायरीको निर्माण गरी सबै शिक्षकहरुलाई निःशुल्क वितरण गरिएको छ’, नगर शिक्षा अधिकारी पौडेलले भने, ‘नगर शिक्षा ऐन २०७७ मा व्यवस्था भए बमोजिम मापदण्ड पुगेको सम्बन्धित तहको स्थायी शिक्षकलाई विद्यालयको प्रधानाध्यापकको रुपमा व्यवस्थापन गरिएको छ । नगरका प्राविधिक शिक्षालय र गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनका लागि प्रत्येक वडाबाट २ जनाका दरले २६ जनालाई जनही १ लाख ५० हजारका दरले तीनवर्षे प्राविधिक शिक्षा हासिल गर्नका लागि प्राविधिक शिक्षा छात्रवृत्ति उपलब्ध गराइएको छ ।’
आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा नगरपलिकाले लिएको छ । सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइने व्यवस्था गरिएको र आधारभूत तहका बालबालिकाले परीक्षाको नाममा कुनैपनि शुल्क तिर्नु नपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘महिला शिक्षक र बाल विकास सहजकर्ता सुत्केरी हुँदा नियमानुसार ९८ दिन तलबी बिदा पाउने व्यवस्था छ । उक्त अवधिमा कुनैपनि विद्यालयको पठनपाठनमा असर नपरोस् भनी नगरपालिकाको आन्तरिक स्रोतबाट ३ महिनाको लागि स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको र यसका लागि नगर कार्यपालिकाबाट स्वयंसेवक शिक्षक परिचालन कार्यविधि २०७९ समेत जारी गरिएको छ ।’
आधारभूत तह (१–८) सञ्चालित दरबन्दी पुरा नभएका सामुदायिक विद्यालयहरुमा नगरपालिकाको तर्फबाट शिक्षण सहयोग  अनुदानमा ८ जना निम्न माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी विषय शिक्षकहरुको व्यवस्था गरिएको छ । कक्षागत र विषयगत वार्षिक पाठयोजना, विभिन्न शैक्षिक कार्यक्रमहरु र महत्वपूर्ण सूचना सहितको वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी सबै विद्यालयमा निःशुल्क वितरण गरी यसको प्रयोग गर्ने गरिएको छ । प्रत्येक सामुदायिक विद्यालयका बालविकास केन्द्रलाई स्रोतपूर्ण आकर्षक र सिकाइमैत्री बनाउने उद्देश्यले स्मार्ट टेलिभिजन, विभिन्न सिकाइ सामग्री तथा विभिन्न खेल तथा मनोरञ्जनका सामग्री वितरण गर्ने प्रयास भइरहेको छ । नगरपालिकाले प्रत्येक विद्यालयमा दिवा खाजा तयारी र व्यवस्थापनका लागि आधारभूत भाँडाकुँडा वितरण गर्नुका साथै सबै विद्यालयहरुका लागि दिवा खाजाको साप्ताहिक मेनु निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
शुद्ध खानेपानीको प्रबन्ध गर्नका लागि प्रत्येक मावि तथा निमाविका लागि युरोगार्ड तथा प्राविहरुका लागि फिल्टर र वास वेंशिन वितरण गरिनुका साथै प्रत्येक माध्यमिक विद्यालयमा सेनिटरी प्याड डिस्पोजल इलेक्ट्रोनिक मेसिन वितरण, प्रत्येक माध्यमिक विद्यालयमा सेनिटरी प्याड वितरण र आवश्यकता अनुसार आधारभूत विद्यालयमा र सेनिटरी प्याड वितरण, व्यवस्थापन र सहजीकरणका लागि महिला फोकल पर्सन तोकी उनीहरुलाई अभिमुखीकरण गरिएको छ नगर शिक्षा अधिकारी पौडेलले बताए ।
भानु नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तरीय विकास, समावेशी पहुँच र व्यावसायिक शिक्षाको प्रवद्र्धनमा उल्लेखनीय प्रगति गर्दै सामुदायिक विद्यालय सुधारमा उदाहरणीय अभ्यास सुरु गरेको छ ।
नगरपालिकाले माध्यमिक विद्यालयका प्राचार्य र लेखा कर्मचारी, साथै आधारभूत विद्यालयका प्राचार्यलाई लेखा व्यवस्थापन तालिम प्रदान गरेको छ । आधारभूत तह (कक्षा १–३) मा सुधारात्मक मूल्याङ्कन प्रणाली लागू गर्दै मूल्याङ्कन फाराम निःशुल्क वितरण गरिएको छ। विद्यालय तहका सबै आवधिक परीक्षाको संयोजन र व्यवस्थापन नगरपालिकाले लिँदै, सबै कक्षाका लागि स्तरअनुसारको प्रश्नपत्र तथा उत्तरपुस्तिका वितरणको परिपाटी स्थापना गरिएको छ । परीक्षाको नाममा विद्यार्थीबाट कुनै शुल्क नलिने नीति लागू गरिएको छ। शैक्षिक संरचना सुधारका क्रममा सम्पूर्ण माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला तथा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । आधारभूत तहमा पनि क्रमशः प्रयोगशाला स्थापना कार्य अघि बढाइएको छ । शिक्षक तथा कर्मचारीको परिचयपत्र निजामती सरह नगरपालिकाबाट निःशुल्क प्रदान गरिएको छ ।
बाल विकास केन्द्रलाई अझ बढी सिकाइमैत्री बनाउन ३० जना भन्दा बढी विद्यार्थी भएको विद्यालयमा बाल विकास सहयोगी कार्यकर्ताको कोटा थप गरिएको छ। दिवा खाजाका लागि नेपाल सरकारले निर्धारण गरेको रु १५ मा नगरपालिकाले रु ५ थप गरी कक्षा ६ सम्म विस्तार गरिएको छ। सामुदायिक विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप तथा व्यावसायिक सीप विकासका कार्यक्रमहरूलाई प्रवद्र्धन गर्न ‘बुक फ्रि फ्राइडे’ कार्यान्वयन गरिएको छ। केही विद्यालयहरूमा च्याउ खेती, सालको पातबाट दुनाटपरी बनाउने, हाउस वाइरिङ्, मकैको खोस्टाबाट चकटी बनाउने, सामूहिक आलु खेती, रैथाने बाली प्रवद्र्धन, बाँसका सामग्री बनाउने, पञ्चेबाजा बजाउने जस्ता व्यावसायिक अभ्यास थालिएको छ ।
एसइई परीक्षामा नेपाल सरकारको छात्रवृत्तिमा एमविविएस पढ्न नाम निकालेका विद्यार्थीलाई रु ५ लाख अनुदान दिने नीति पनि लागू गरिएको छ । साथै, नगर कार्यपालिकाबाट नगरभित्र कार्यरत सबै शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ । शिक्षकको व्यावसायिक तथा शैक्षिक क्षमता विकासका लागि नगरस्तरमा पुनर्ताजगी तालिम, विषयगत तालिम, सूचना प्रविधि तालिम, र शैक्षिक सामग्री निर्माण तालिम सञ्चालन भइरहेका छन् । विद्यालयको कक्षा शिक्षणको अनुगमन तथा अवलोकन प्रणाली स्थापित गरिएको छ ।
अभिभावक सहभागिता वृद्धिका लागि त्रैमासिक अन्तरक्रिया कार्यक्रम, अभिभावक शिक्षा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघसँग गोष्ठीको अभ्यास सुरु गरिएको छ । विद्यालयमा अनुशासन, सरसफाइ र अतिरिक्त गतिविधिका लागि स्काउट, बाल क्लब, रेडक्रस, ग्रीनक्लब लगायतका समूहहरू गठन गरिएको छ ।
नगरपालिकाले संघीय सरकारबाट वार्षिक रु ३२ करोड र आन्तरिक स्रोतबाट रु ३ करोड विनियोजन गरी रु ३५ करोडको बजेटमार्फत शिक्षाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । यद्यपि, नगर शिक्षा योजनाले परिकल्पना गरेका सबै कार्यक्रम कार्यान्वयन गर्न अझै थप बजेट आवश्यक रहेको नगर शिक्षा शाखा प्रमुख पौडेलले जानकारी दिए। भानु नगरपालिकाले शिक्षा क्षेत्रमा लैङ्गिक, सामाजिक तथा भौतिक पहुँचमा समानता ल्याउन बालमैत्री, बालिकामैत्री र अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा विशेष ध्यान दिँदै आएको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीहरु : स्थानीय तहमा शिक्षा क्षेत्रले व्यवहारिक, प्राविधिक र संरचनागत विभिन्न समस्या झेलिरहेका छन् । आन्तरिक स्रोतको अभाव, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, विद्यालय मर्जिङको बाध्यता र शिक्षण–सिकाइ प्रविधिमैत्री बनाउन नसक्नु जस्ता चुनौतीले शिक्षाको गुणस्तर प्रभावित बनेको छ ।
बालविकास केन्द्रहरूमा स्रोत अभाव, विषयगत दरबन्दीको व्यवस्थापनको कमी, र योग्य जनशक्तिको अभावले शिक्षा शाखालाई थप दबाबमा पारेको छ । साथै, मागमा आधारित योजना तथा कार्यक्रम कार्यान्वयनमा पनि कठिनाइ देखिएको छ । स्थानीय सरकारद्वारा शिक्षालाई प्राथमिकतामा राख्दै दरबन्दी व्यवस्था, प्रविधिको प्रयोग, र बालमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा भञ्ज्याङ दैनिकले वैशाख १ गते प्रकाशन गरेको विशेषाङ्कमा प्रकाशित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker