संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ ।

मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको हो ।

“दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो”, उहाँले भन्नुभयो, “छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।” अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा (एमाले) रहेको छ ।”

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताउनुभयो । “उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिकको म्याराथुन धावक हो”, अध्यक्ष ओलीले भन्नुभयो, “म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।” उहाँले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुुहुन्थ्यो ? संयम र धैर्यता एमालेको चरित्र हो । त्यो मूलमन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ”, उहाँले भन्नुभयो, “ हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ ।”

उहाँले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताउनभयो । हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताउनुभयो । मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker