महिलामाथि हुने हिंसा भित्रका कुरा
के.बि. मसाल

प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म महिला हिंसाविरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवस मनाइँदै छ ।
लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुटनु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु¥याउने कार्य पनि हिंसा हो । हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ। यसअन्तर्गत कुटपिट गर्नु, झगडा गर्नु, असहयोग, दबाब, चेलीबेटी वेचबिखन गर्नु, फोहोर शब्द प्रयोग गरेर गाली गर्नु कुनै पनि हुन सक्छ। लैंगिक दृष्टिकोणले हेर्दा महिलामाथि विभिन्न प्रकारका हिंसात्मक कार्यहरु भएको पाइन्छ। यस्ता हिंसामा शारीरिक र मानसिक दुवै खालका हिंसा हुने गर्दछन। बलात्कार, यौनशोषण, बालविवाह, बहुविवाह र दाइजोजस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सकेत अन्य आदिबाट गरिने दुव्र्यवहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रुपमा रहेका छन । यस्ता हिंसाहरु उचित मात्रामा चेतनाको अभाव, अधिकारको अभाव तथा अन्य वातावरणले समेत बढेको देखिन्छ। खासगरी एकल महिलामाथि हुने दुव्र्यवहार र मानसिक पीडा पनि यसै अन्तर्गत पर्दछ ।
विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याकले देखाउँछ । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरु यौनजन्य हिंसाभित्र पर्दछ ।
नेपालमा महिला हिंसाविरुद्ध लामो अभियान जारी छ । दर्जनौँ संघ संस्था हिंसालाई न्युनिकरण गर्न लागिपरेका छन्। तैपनि समाजमा महिला हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । महिला अधिकारकर्मी र समाजका विभिन्न पेसाकर्मी महिला हिंसा रोक्न तथा अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउन भनेर आन्दोलन गर्दै छन् । मुलुक भित्रका विभिन्न कुना कन्दरामा महिलामाथि भएका विभिन्नखाले घटना सञ्चार माध्यममा आउने गर्दछ। तर पनि महिलामाथि ज्यादती भएका घटना सार्वजनिक भइरहेका छन्। महिला हिंसाविरुद्ध यति ठूलो जनचेतना फैलाउने प्रयास हुँदाहँुदै पनि महिला प्रताडित हुनुपर्ने अवस्था साँच्चै लज्जास्पद हो । नेपालमा महिलामाथि विभिन्न खाले विभेद हुने गरेका छन् । यसका लागि हाम्रो परम्परागत गलत संस्कृति अर्कोतर्फ आधुनिकरणको नाममा पाश्चात्य छाडा संस्कृतिले पनि काम गरेको छ ।
नेपाली समाजमा महिलामाथि हुने विभेद हिंसा नयाँ कुरा होइन । यस्ता घटना पहिले पनि नघटेका होइनन् तर अहिले सञ्चार क्षेत्रको विकास, महिलामा बढेको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटना सार्वजनिक भइरहेका छन । यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्परा बीचको सम्बन्ध रहेको पाइन्छ । कम्लरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सी लगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार धर्म, संस्कृति र परम्परा नै हो । यसकारण हाम्रो समाजको परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुन सक्दैन ।
यी परम्परागत कारणले गर्दा महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयं महिला नै रहने गरेका छन । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निहुँमा बुहारीलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनामा सासूकै अहं भूमिका रहने गरेको पाइन्छ । अर्को तर्फ महिला हिंसाका घटनामा वृद्धि हुनका पछाडि देशको राजनीतिक अस्थिरता, अन्योल, कमजोर निरीह, भ्रष्ट र विदेश परस्त सरकार पनि हो । यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिबद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी संघसंस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुनसकेको छैन । नेपालको नागरिक समाज र बहुसंख्याक गैरसरकारी संस्थामा समस्या समाधान गर्नेभन्दा समस्यालाई देखाएर तथा समस्यालाई यथावत राखेर त्यसलाई मागी खाने भाँडोको रुपमा प्रयोग गरिरहने परम्परा नै बनिसकेको छ । यसैले हजारौँ र सयौँको सख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकाय सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखन जस्ता समस्या घटनुको सट्टा झन् विकराल हुँदै गइरहेको छ ।
नेपाली नागरिकका सम्पूर्ण मानवअधिकारको रक्षा र सुनिश्चितताको संवैधानिक जिम्मेवारी पाएको राष्ट्रिय मानवअधिकार आयोग, महिलाको अधिकारको रक्षाका लागि स्थापित राष्ट्रिय महिला आयोग र दलित आयोग जस्ता निकाय कमजोर निकम्मा भूमिकाविहीन तथा भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका सिकार भएका कारणले पनि मानवअधिकार उल्लघन तथा महिला हिंसाका घटना घट्नुको सट्टा बढिरहेको छ । नेपालका राजनीतिक दल तथा नेतामा मानवअधिकारको संस्कृतिको विकास नहुनु तथा उनीहरुमा मानवअधिकार प्रतिको प्रतिबद्धता र इच्छाशक्तिको कमी हुनाले पनि नेपालको समग्र मानवअधिकारको अवस्था नाजुक र दयनीय रहँदै आएको छ ।
महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना घटिरहेका छन् । इन्टरनेट, साइबर, फेसबुकको विकास र त्यसप्रति बढदै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेका छन । नेपाली महिला त्यसमा पनि विशेषगरी युवा पुस्ताको लवाइमा बढ्दै गएको उच्छृङ्खलता, उत्ताउलोपन, नग्नता र अंग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको मानिन्छ । समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृति पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छनरु। जघन्य खालका महिला हिंसा र बलात्कारका घटना मदिरा सेवनकै कारण भएका छन। समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटना घटने गर्छन। खुला अर्थतन्त्र, पुँजीवादप्रतिको मोह र पैसा नै सबैथोक हो भन्ने सामाजिक मान्यताका कारण पनि नेपाली समाज अपराधीकरण र छाडापनतिर उन्मुख हुँदै गइरहेको छरु। नेपाली राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरणका कारण नेपाली समाजमा दण्डहीनता मौलाउँदै गइरहेको छ ।
माथि उल्लेखित तमाम कारणले गर्दा महिलाविरुद्ध हुने विभेद सबै खालका हिंसा अन्त्य गर्नका लागि यी सबै पक्षलाई विचार गर्नु आवश्यक छ । नेपाली राजनीतिमा क्रमभङगता, नेपाली समाजको परम्परागत सोच, चिन्तन, संस्कार र जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यका सबै संरचनामा आमूल परिवर्तन नआएसम्म महिला हिंसाको अन्त्य हुनसक्दैन । नेपाली महिलालाई हाम्रो सदियौँदेखि परम्परागत धर्म संस्कृतिले देवीको रुपमा पूजा गर्ने परम्परालाई आज उपोभोक्तावादी समाजले महिलालाई एउटा खेलौनाको रुपमा लिइने गरेको पाइन्छ ।
महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रुपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्म सम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रुपमा हुन । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन। नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भैरहेका छन् । पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानुनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । देशमा धेरै ठूला राजनीतिक परिवर्तन भएका छन् तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पु¥याउन आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरुको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।
समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रुपमा देखिएका छन । पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा गरिने व्यवहार अहिले पनि जारी छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष ख्वाउने, एसिड खन्याएर कुरुप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भैरहेका छन ।
महिला हिंसाअन्तर्गत पनि अधिकांश महिला आफ्नै घर परिवेशभित्र श्रीमान् तथा परिवारका अन्य सदस्यबाट पीडित छन । जसलाई घरेलु हिंसा भन्ने गरिएको छ । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनका परिवारका सदस्यहरुले पत्नी र बुहारीप्रति गर्ने व्यवहार अति नै अमानवीय रहँदै आएको पाइन्छ । श्रीमानले बहुविवाह गरेर अघिल्ली श्रीमती तथा सन्तानप्रतिको जिम्मेवारी पूरा नगर्ने र कतिपय अवस्थामा घरबाट निकालिदिने अवस्थाका साथै महिलाहरु वैवाहिक बलात्कारबाट पनि उत्तिकै सताइएका छन । त्यस्तै सामाजिक तहमा हुने विभिन्न खालका हिंसाबाट पनि महिलाहरु उत्तिकै पीडित हुने गरेका छन । कामकाजमा रहेका महिलाविरुद्ध विभिन्न किसिमका टिप्पणी गरेर गरिने चरित्र हत्या, सार्वजनिक स्थल तथा सवारी साधनहरुमा दुव्र्यवहार एवं अपशब्दहरुको प्रयोग, काम गर्ने ठाउँमा हुने हिंसाजन्य व्यवहार व्यापक रुपमा हुने भए पनि सामाजिक तहमा भने यस्ता घटनालाई सामान्य ढंगले मात्र हेर्ने गरिएको छ ।
पछिल्लो समयमा महिला तथा बालिकामाथि हुने बलात्कारका घटना असामान्य ढंगबाट वृद्धि भैरहेका छन। कतिपय बलात्कारका घटनामा बलात्कारपछि पीडित हत्यासमेत हुने गरेको छ। बोक्सीको आरोपमा असहाय महिलाहरु मारिनेदेखि लिएर हदैसम्मको निकृष्ट व्यवहार सहन बाध्य छन । त्यस्तै प्रथा र परम्पराका नाममा व्यक्तिगत स्वतन्त्रता एवं अधिकारबाट वञ्चित हुँदै अझै पनि महिलाहरु देउकी र झुमाको जिन्दगी जिइरहेका छन् भने नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण महिलाहरु अहिलेसम्म पनि कुन तहको जीवन बाँचिरहेका छन् भन्ने प्रश्न खडा भएको छ । यौन व्यवसाय, सर्कसलगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरुमा बर्सेनि लगभग ५ हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारीका लागि खाडीलगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रुपमा काम गर्ने महिलाहरुको शोषण एवं अत्याचार पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।
सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरु आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन । अझ घरेलु हिंसाविरुद्धको उजुरीमा महिलाहरुले ठूलो त्रास खेप्नुपर्ने स्थिति छ । त्यसैले समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ । तर पनि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ । यस्ता घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानव अधिकार संस्था आदिमा पीडितहरुले निवेदन दिने गरेको पाइन्छ । सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अदालतमा पेस हुने गरेका छन । नेपालमा राजनीतिक परिवर्तन र त्यसले सुनिश्चित गरेका संवैधानिक अधिकारको कुरामा बलियो अवस्थामा रहेको छ। तर त्यसको कार्यान्वयन र वास्तविक न्याय वा मानवअधिकारको अवस्थामा भने अझै सुधार आउन सकेको छैन। पछिल्लो समय बढ्दै गएको यौनजन्य हिंसा र हत्या तथा द्वन्द्वका पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् । यस्तै अरु सामाजिक न्यायका कुरामा पनि समस्या देखिएको छ ।










