माघ २४ गते हुने १६औं संस्करणको हाइकिङका माध्यमबाट तनहुँको थप्रेक र गलेखामकोटको प्रवर्द्धन गरिदै
वासुदेव पौडेल
हाइकर्स क्लब नेपालको आयोजनामा धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १ स्थित थप्रेक र व्यास नगरपालिका वडा नं ६ को सिमानामा पर्ने गलेखामकोटको प्रवर्द्धन गर्ने भएको छ ।
हाइकिङका माध्यमबाट गण्डकी प्रदेश भित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६औं श्रृङ्खला थप्रेकमा गर्न लागेको हो । प्रत्येक महिनाको अन्तिम शनिबार संस्थाले विभिन्न पर्यटकीय गाउँमा पुगी त्यहाँको प्रवर्द्धन गर्दै आएको हार्इकर्स क्लब नेपालका उपाध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो ।
“गण्डकी प्रदेश भित्र विभिन्न रमणीय गाउँहरू प्रवर्द्धनको अभावमा पर्यटन बजारमा पुग्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “गाउँका प्रकृति र संस्कृतिलाई उजागर गराउन पर्यटन व्यवसायी सहित विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरूलाई हाइकिङका माध्यमबाट विभिन्न स्थानमा पुर्याउने गरिएको छ ।” मोटरेवल बाटो विकाससँगै विगतमा स्थानीयको आवतजावतमा धेरै योगदान पुर्याएका तर हाल खासै प्रचलनमा नआएका पुराना ऐतिहासिक बाटोघाटोलाई हाइकिङका क्रममा प्रयोग गर्ने गरिएको रानाभाटले जानकारी दिनुभयो ।
१६औं श्रृंखलासम्म आइपुग्दा आँफूहरूको लुकेका गाउँहरूको प्रवर्द्धन अभियान उपलब्धिमूलक बन्दै गएको बताउँदै उहाँले थप्रेकका पर्यटकीय सम्भावनालाई उजागर गर्न यही माघ २४ गते हुने १६औं संस्करणको हाइकिङ महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
थप्रेककका विभिन्न स्थानस्थित समुद्री सतहबाट एक हजार २०० मिटर भन्दा बढी उचाइका ठाउँबाट हिमश्रृंखलादेखि पहाडी भूभागको एक साथ अवलोकन गर्न सकिने शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो । थप्रेकबाट करिब १५ किलोमिटरमा पृथ्वीराजमार्गको कोत्रेका साथै तल्लो गगनगौडा पुग्न सकिन्छ भने थप्रेक नजिकै रहेको धार्मिक पर्यटकीयस्थल गलेखामकोटबाट १५ किलोमिटरको दूरीमा सदरमुकाम दमौली पुग्न सकिन्छ । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकास लगायतका कामलाई आँफूहरू निर्वाचित भए पछि प्राथमिकतामा राखेर कामहरू अघि बढाइएको उहाँले बताउनुभयो ।
थप्रेकमा गुरुङ समूदायको बाक्लो बासोबास रहेको तमु हरियाली क्लबका अध्यक्ष लोक गुरुङले जानकारी दिनुभयो । थप्रेकमा पर्यटकको आगमनलाई सहज बनाउनका लागि विभिन्न पूर्वाधार निर्माण हुने क्रम पनि बढीरहेको उल्लेख गर्दै उहाँले थप्रेक देवी थान नजिकै भ्यु टावर पनि निर्माण गरिएको बताउनुभयो । मौला डाँडाका रुपमा रहेको देवी थानलाई प्राचीन कालदेखि नै आस्था एवम् विश्वासका साथ पूजाआजा हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय पूर्वाधार विकासका क्रममा थप्रेकमा भ्यु टावर सहित पर्यटनमैत्री भवन, शौचालय, आदि पूर्वाधार निर्माण भएका छन् । अर्का युवा दीनेश गुरुङका अनुसार थप्रेकबाट पोखरा महानगरपालिका सहित कास्कीको रुपा गाउँपालिकाको अधिकांश भाग, लम्जुङ, दमौली, मानुङकोटका साथै धवलागिरीदेखि गोरखा हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।
थप्रेक नजिकै रहेको धार्मिक पर्यटकीय तीर्थस्थल गलेखामकोट यहाँको अर्को आकर्षण हो । यहाँ नेवार समूदायको बाहुल्यता छ । बढ्दो पर्यटकीय आकर्षणसँगै टाढा टाढाका रमणीय दृश्य नियाल्न गलेखामकोटमा पनि भ्यु टावरको निर्माण गरिएको छ ।
भ्यु टावरबाट विभिन्न छिमेकी जिल्लाहरु लम्जुङ, स्याङ्जा, गोर्खा र कास्कीका स्थानहरू सजिलै देख्न सकिन्छ । पछिल्ला समयमा आन्तरिक एवम बाहय पर्यटकलाई लक्षित गरी खान र बस्नका लागि उचित प्रबन्ध भैरहेको स्थानीयवासीले बताए । गलेखामकोटको कोटभैरवी मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण कास्की तथा तनहुँका विभिन्न भूभागबाट दशनार्थी समेत आउने गरेका छन् ।
हिमाली दृश्यका साथै सूर्योदय, बेसीतर्फदेखिने बादलको तह आदिले थप्रेकमा आउने जो कोही पर्यटक लोभिने गरेको समाजसेवी एवं विलाउने खोला लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द सुवेदीले बताउनुभयो । यहाँका स्थानीयले कृषिजन्य उत्पादनलाई पनि प्राथमिकता दिएका छन् ।
थप्रेक क्षेत्रको भ्रमणमा आउने पर्यटकले यहाँका स्थानीय उत्पादन समेत लिएर जान सक्ने अगुवा कृषक एवं सुवेदी कृषि र्फमका सञ्चालक भेषराज सुवेदी बताउनुहुन्छ । सुवेदी कृषि र्फममा उत्पादित फलफूल तथा तरकारी थप्रेक क्षेत्रमा नै खपत हुने गरेको बताउँदै उहाँले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको बताउनुभयो ।
प्रवर्द्धनको अभावमा ओझेलमा परको थप्रेक तथा गलेखामकोटका प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पक्षको उजागर गनु अपरिहार्य भएको सरस्वती मा.वि. थप्रेकका पूर्व शिक्षक ठाकुरप्रसाद खनाल बताउनुहुन्छ । “प्रवर्द्धन मात्र गर्न सके पनि थप्रेक तथा गलेखामकोट महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थापित हुन सक्छन्”, उहाँले भन्नुभयो, “यी स्थानको प्रवर्द्धन र विकासमा स्थानीय जागरुकताका साथै राज्यको पनि ध्यान पुग्नु अपरिहार्य छ ।”










