ईआईए स्वीकृतिमा ढिलाईले मुग्लिन–आँवुखैरेनी सडक खण्ड स्तरोन्नितिको काम अगाडि बढेन्

तनहुँ : वि.सं. २०२६ मा रेखाङ्ककन भएको पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । राजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्ड कायम गरी सडक विस्तारको कार्यलाई तीब्रता दिइरहेको छ । आँबुखैरेनी–पोखरा खण्डमा काम भइरहँदा मुग्लिन–आबुँखैरेनी सडक स्तरोन्नतिका लागि अझै ठेक्का लगाउने काम अगाडि बढ्न सकेको छैन । योजनाका अनुसार आँबुखैरेनी–जामुने खण्डको निर्माण ७५ प्रतिशत सकिइसकेको छ भने जामुने–पोखरा खण्डको काम ४० प्रतिशत सकिएको छ ।
राजमार्गको आँवुखैरेनी–पोखरा खण्डको कामलाई अगाडि बढाइरहदा आँवुखैरेनी–मुग्लिन सडक खण्डमा मात्र काम अगाडि बढेको छैन । यस खण्डको ठेक्का भए निर्माण गर्न साढे दुई वर्ष लाग्ने बताइएको छ ।
आँबुखैरेनी–पोखरा खण्डको काम सक्नुअघि नै यस खण्डमा ठेक्का व्यवस्थापनको काम गर्ने तयारी भइरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ। अत्यधिक सवारी चाप हुने उक्त खण्डमा मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस पर्छ । फेरि यो अप्ठ्यारो र जटिल खण्डभित्र पर्ने निर्देशक ढकालले बताए ।
जहाँ साँघुरो सडकका कारण दुर्घटनाको जोखिम पनि उच्च छ, उक्त खण्डको साढे ८ किमि सडकमा ठेक्का व्यवस्थापन हुन नसकेको हो । मुग्लिन पारिबाट सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पूरा गरी वन तथा वातावरण मन्त्रालय पठाइसकिएको छ । तर एक महिना बित्दा पनि ईआईए स्वीकृत नभएको ढकालको जनाएका छन् ।
‘पहिला ईआईए प्रतिवेदन तयार पारेर वन र आयोजनासँग सम्बन्धित सरोकारवाला निकाय बसेर त्यसमाथि छलफल भयो, छलफलबाट आएका केही कुरा थपेर पठाएको एक महिना भयो’, उनले भने, ‘स्वीकृत भएर आएको छैन, ईआईए स्वीकृत भएर आएपछि ठेक्का प्रक्रिया अघि बढाउन समस्या छैन। निर्माणका लागि डिजाइनको काम सकिइसकेको छ ।’
‘अब वारि र पारि दुई–दुई लेन सडक निर्माण गरिन्छ’, ढकालले भने, ‘मुग्लिन बजारमुनि त्रिशूलीमा र मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस कट्नासाथ एक–एकवटा पक्की पुल बनाउने गरी डिजाइन गरिएको छ । मस्र्याङ्दी पावर हाउसबाट करिब ४ सय मिटर पर पुल बनाउँछौं । त्यसपछि ४ लेन सडक निर्माण गरिनेछ।’ मुग्लिन–आँबुखैरेनी खण्डको निर्माणमा ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
‘माघभित्रै ईआईए स्वीकृत भएर आए ठेक्का गर्न समस्या थिएन, त्यसका लागि वन मन्त्रालयमा पनि ताकेता गरिरहेका छौं’, ढकालले भने, ‘नारायणगढ–मुग्लिन सडक बनिसकेको छ, मुग्लिनबाट काठमाडौं जाने सडक स्तरोन्नति भइरहेको छ, पोखराबाट आँबुखैरेनीसम्मको सडक पनि बनिरहेको छ, यही सुरुको सडकको ठेक्का गर्न नसक्दा समस्या हुने अवस्था छ ।’ यसको निर्माण अघि बढाउनेसम्बन्धमा एडीबीसँग पनि कुरा भइरहेको उनको भनाइ छ । एडीबीको सहुलियतपूर्ण ऋणमा स्तरोन्नतिको काम गरिएको हो ।
‘आँबुखैरेनी–पोखरा सडक स्तरोन्नति गर्न सम्झौता भएकै ऋणको बचतबाट यसको काम गर्ने हो,’ ढकालले भने, ‘त्यसैले यो काम अघि बढाउन एडीबीले पनि वनबाट स्वीकृत भई आउने ईआईए रिपोर्ट पर्खिएको छ ।’ ईआईए रिपोर्ट स्वीकृत गर्न के कारणले ढिलाइ भएको हो भन्नेसम्बन्धमा बुझ्ने वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले जनाए ।
आँबुखैरेनी–जामुने खण्डमा ७५ र जामुने–पोखरा खण्डमा ४० प्रतिशत निर्माणको काम सकिसकेको छ । आँबुखैरेनी–जामुने खण्डको सुरु म्याद २०८१ वैशाखसम्म थियो । अहिले २०८१ फागुन १ सम्म म्याद थपिएको छ । उक्त समयभित्र काम नसकिने भएपछि चार महिना म्याद थप्ने तयारी छ । ‘थपिएको समयभित्र काम सकिन्छ’, खरालले भने, ‘जामुने–पोखरा खण्डको म्याद २०८१ भदौ १२ सम्म थियो, काम नसकिएपछि २०८२ पुस १६ सम्म समय थपिएको छ । अहिले दुवै खण्डमा कामको प्रगति राम्रो रहेको छ ।’
पहिलो खण्ड (आबुँखैरेनी–जामुने)को ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो । यसको दूरी ४१.४५ किमि छ । जामुनेदेखि सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको दूरी ३८.८८ किमि छ । पहिलो खण्डको ६ अर्ब २१ करोड ३१ लाख र दोस्रो खण्डको ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का भएको हो । आँबुखैरेनी–जामुने खण्डमा ३७ किमि नयाँ कालोपत्रे सडक बनिसकेको ढकालको भनाइ छ ।
जामुने–पोखरा खण्डमा २५ किमि एकतर्फी र ६ किमि दुईतर्फी सडक कालोपत्र गरिएको ढकालले जनाए । सेती र मादी नदीमा दुईवटा ठूला पक्की पुल निर्माणाधीन छन् । मादीमा चार लेनको पुल बन्दै छ । सेतीमा दुई–दुई लेनका दुईवटा पुल निर्माणाधीन छन् । डुम्रे, दमौली लगायत केही खण्डमा काम गर्न बाँकी रहेको आयोजनाले बताएको छ ।
आँबुखैरेनी–जामुने खण्डमा साना–ठूला गरेर १२ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा ११ वटाको निर्माण सकिसकेको छ । एउटा निर्माणका क्रममा रहेको निर्देशक ढकालको भनाइ छ । जामुने–पोखरा खण्डमा ९ वटा पुल निर्माण गर्नुपर्नेमा ७ वटाको काम सकिइसकेको छ । एउटा निर्माणको अन्तिम चरणमा रहेको र कोत्रे पुलको काम पनि सुरु भइसकेको आयोजनाले जनाएको छ । मुख्य सडक चार लेनको हुनेछ । बजार क्षेत्रमा चार लेनसहित थप दुई–दुई लेन सर्भिस लेन निर्माण गरिनेछ । आँबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी भने ८०.३३ किमि छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker