तनहुँको व्यास नगरपालिकाद्वारा शिक्षा, स्वास्थ्य सहितका चार कार्यविधि पारित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले शिक्षा, स्वास्थ्य सहितिका चार वटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको नियमित बैठकले व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।

बैठकले नगरपालिका अन्तर्गत अत्यावश्यक चार विषयमा तत्काल बोलपत्र आहृवान प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिएको छ । २५ लाख रुपैयाँभित्र रहने गरी विपद् व्यवस्थापन अन्तर्गत तार जाली खरिद गर्ने, व्यास नगर कोभिड व्यवस्थापनका लागि २५ शय्याको अस्पताल भवन निर्माण गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकृत विशाल पण्डितले जानकारी गराए ।

त्यस्तै, नगरपालिका अन्तर्गत बहुउद्देश्यीय भवन र दक्षिण पूर्वतर्फ रहेको आरसिसी भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस निर्माण, कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका अन्तर्गत नगरसभाबाट पारित संगठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी संशोधन गरी हाल सात शाखा रहेकोमा नौ शाखा कायम गर्ने निर्णय बैठकले गरेको छ ।

व्यास नगरपालिका भित्रका माध्यमिक, आधारभूत र प्रावि शिक्षकको दरबन्दी मिलान गर्दै केही शिक्षकको काज सरुवा गर्ने निर्णय गरकेो नगरपालिकाले विद्यालयमा भौतिक दूरी कायम गर्दै २०७८ साउन मसान्तभित्र नियमानुसारका अभिभावकबाट व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै, निषेधाज्ञा अवधि २०७८ साउन मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालयको कक्षा सञ्चालन नगर्न सबै सामुदायिक एवं संस्थागत विद्यालयलाई निर्देशन समेत दिएको छ । विपद्बाट असर पुगेका, घर गुमाएका लाभग्राहीको विवरण संकलन गरी समितिबाट निर्णय गराइ नगर विपद् समितिमा पेश गर्न सम्बन्धित वडा विपद् समितिलाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

कोभिड-१९ को संक्रमण बढ्दै गएको अवस्था देखिँदा सबै वडामा आवश्यकताअनुसार संक्रमण परीक्षण अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या शाखालाई र सबै वडा समिति र स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयमंसेवीलाई सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

बैठकले सम्पूर्ण नगरवासीमा मास्क अनिवार्यरुपमा प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, लापर्वाहीपूर्वक बाहिर नहिड्न अनुरोध गर्ने निर्णय गरेको छ भने पिसिआर प्रयोगशाला जडान भइसकेकाले जनशक्ति व्यवस्थापन हुनासाथ सञ्चालन गर्ने निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker