म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा : ३४ प्रस्ताव र ३ विधेयक पेश

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा सोमबार पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको छ । गाउँसभामा ३४ वटा प्रस्ताव र ३ वटा विधेयक पेश गरिएको छ, जसले गाउँपालिकाका विभिन्न प्रशासनिक र विकास सम्बन्धी कार्यहरूको दिशा तय गर्ने बताइएको छ ।
गाउँसभामा पेश गरिएका प्रमुख विधेयकहरूमा म्याग्दे गाउँपालिकाको तथ्याङ्क तथा अभिलेख व्यवस्थापन विधेयक २०८१, म्याग्दे गाउँपालिकाको वालअधिकार विधेयक २०८१ र म्याग्दे गाउँपालिकाको आर्थिक ऐन २०८१ रहेका छन् । यी विधेयकहरूमाथि गाउँपालिकाका सदस्यहरूले सैद्धान्तिक छलफल गरेका थिए ।
गाउँसभामा उपाध्यक्ष वालकृष्ण घिमिरेले संकल्प प्रस्ताव पेश गरेका थिए । वसन्त कुमार श्रेष्ठ तथा वद्रिका घिमिरेले छलफलमा भाग लिए । यसैगरी, समितिहरूका अर्धवार्षिक प्रतिवेदनहरू पनि प्रस्तुत गरिएको थियो । सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिव बहादुर क्षेत्रीले प्रस्तुत गरेका थिए । न्यायिक समितिको प्रतिवेदन संयोजक वालकृष्ण घिमिरेले र सुशासन समितिको प्रतिवेदन संयोजक सुनिता नेपालीले प्रस्तुत गरेका थिए ।
गाउँसभामा पेश गरिएका ३४ वटा नीतिगत निर्णयका एजेण्डा र प्रस्तावहरूको समावेशमा कार्यपालिकाले गरेका निर्णयहरूको अनुमोदन, संगठन र व्यवस्थापन सर्वेक्षण, आन्तरिक राजस्व वृद्धि (नदिजन्य घाट, ठेक्का, अमानत, निजि जग्गा उत्खनन व्यवस्थापन), लिलाम विक्री, निकासी ठेक्का, विभिन्न विधेयकहरूको स्वीकृति, खर्च अनुमोदन, सवारी मर्मत र खरिद लगायतका महत्वपूर्ण प्रस्तावहरू रहेका छन् ।
यसैगरी, प्रस्तावहरूमा डिजिटलाईजेशनको उपयोग, आय संकुचनसँगै भुक्तानी हुन नसक्ने योजनाहरू, सहकारी र विद्यालय नियमन व्यवस्थापन, रिक्त कर्मचारी पदपूर्तिको प्रक्रिया, अवैध उत्खनन जरिवाना असुली, सार्वजनिक भवन निर्माण, खानेपानी र अन्य अपुरो योजनाहरूको समापन, नयाँ बजेट निर्माण प्रक्रिया, थर्पु अस्पतालका लागि आवश्यक जनशक्ति माग, सडकका लागि सिसी क्यामेरा जडान, पृथ्वीराजमार्ग सडक निर्माण, लागत साझेदारी योजनाको कार्यान्वयन, सामाजिक सुरक्षा कोष र वृद्धिमुखी कार्यक्रम कार्यान्वयन, बजेट तथा योजनामा संशोधन र रकम परिवर्तनका विषयहरू समावेश छन् ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले प्रस्तुत प्रस्तावहरूका बारेमा प्रस्टिकरण दिँदै दफावार छलफलमा सहभागी सदस्यहरूको जिज्ञासा समाधान गरेका थिए । गाउँसभाले विभिन्न विषयमा छलफल र निर्णय गर्दै म्याग्दे गाउँपालिकाको समृद्धि र विकासका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।










