तनहुँको डुम्रे महोत्सवमा सुनामी खेल खेल्न पाइने

डुम्रे : तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा सुनामी खेल खेल्ने पाइने भएको छ । दर्शकको चाहना र महोत्सवमा फरक अनुभवको आनन्द दिन सुनामी पिङ ल्याइएको महोत्सवका प्रवक्ता सुबोध अधिकारीले बताए ।
सुनामी खेल खेल्न पहिलो दिन सोमबार दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महोत्सवमा डुङ्गा सयरको व्यवस्था समेत मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा सयर गर्न पाइने भएपछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको प्रवक्ता अधिकारीले बताए ।
यस्तै महोत्सवमा आउने दर्शकहरूको लागि हरेक दिन चर्चित कलाकारहरुबाट साँगितक कार्यक्रम प्रस्तुत गरिएका छन् । सोमबार चर्चित गायिका रचना रिमालले दर्शकहरुलाई सांगितक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेकी कलाकार संयोजक सुनिल श्रेष्ठले जानकारी गराए । महोत्सवमा खुला दोहोरी प्रतियोगिता सहित हरेकदिन चर्चित कलाकार आएपछि दर्शकको चाप पनि बढ्दै गएको संयोजक श्रेष्ठले बताए ।
महोत्सवमा दर्शकहरुको सहभागिता बढाउन आयोजकले बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएको जनाइएको छ । महोत्सवमा आउने दर्शकहरूलाई विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निःशुल्क व्यवस्था मिलाएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाँले जानकारी गराए ।
उनका अनुसार महोत्सवमा ज्येष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थालाई पनि एक हजार भन्दा बढी निःशुल्क पास छुट्याइएको छ ।
यस्तै महोत्सवमा बन्दिपुर केवलकारमा छुट, रेष्टुराँमा छुट, एनटिसिको सिमकार्ड फ्री लगायतका सुविधाहरू उपलब्ध गराइएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । यस्तै महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवुलकारमा समेत विभिन्न छुट पाउने बताइएको छ । महोत्सवको टिकटमा बन्दीपुर केवलकार जान ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत, स्काइलिङ, जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा आगामि चैत्र ३ गतेसम्म सञ्चालन हुने छ ।
तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा उनले गरेका छन् ।
महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ । दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निःशुल्क स्टल उपलब्ध गराएको महोत्सवका स्टल संयोजक राम जोशीले बताए। महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निःशुल्क खाने व्यवस्था गरिएको उनले बताए ।










