कोरोना कहर : एकै परिवारका तीन जनाको मृत्यु, शोकमा डुब्यो भिमाद बजार

- भञ्ज्याङ समाचारदाता (दमौली)
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण एकै परिवारका तीन सदस्यको ज्यान गएपछि अहिले तनहुँको भिमाद बजार शोकमा डुबेको छ । कोरोना संक्रमणकै कारण एक हप्ताको अन्तरमा बुबा र दुइ छोरासहित एकै परिवारका तीन जनाको मृत्यु भएपछि अहिले भिमाद बजारका बासिन्दा चिन्ता र शोकमा डुबेका छन् । भिमाद-६ का धर्मकुमार श्रेष्ठ बिरामी भएर अस्पताल भर्ना भएपछि उनका चार छोराहरू भेट्न जाने गरेका थिए । कोरोना महामारीका बेला अस्पताल भर्ना भएका अभिभावकसंगै ४ जना छोरा र परिवारका अन्य सदस्यलाई कोरोना भाइरस संक्रमण देखियो ।
कोरोना संक्रमणकै कारण १ हप्ताको अन्तरमा बुवा र २ छोरासहित एकै परिवारका ३ जनाको मृत्यु भयो । यो घटनाले भिमाद बजारका बासिन्दा चिन्तित र त्रसित छन् । कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको भिमाद-६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । कोरोनाकै कारण जेठा छोरा र माहिली बुहारी काठमाडौंमा भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
असोज तेस्रो साता परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिरेपछि परिवार छिन्नभिन्न भएको छ । कोरोनाले असोज १८ साहिँला छोरा, असोज २४ गते माहिला छोरा र असोज २५ गते बुवाको मृत्यु हुन पुगेको छ । भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बुवा २ हप्ताअघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आइरहने भएकाले उनलाई चितवनस्थित चितवन मेडिकल कलेज (सीएमसी)मा भर्ना गरेर बढी भएपछि काठमाडौंको मेडिसिटी रेफर गरिएको थियो । उपचारकै क्रममा कोरोना पुष्टि भएका उनको असोज २५ गते निधन भयो ।
त्यसअघि साहिँला छोराको असोज १८ गते चितवनकै सीएमसीमा निधन भएको थियो । उनलाई घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा-लैजाँदै बाटैमा ज्यान गएको अनुमान गरिएको छ । किनकि सीएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए । उनमा मधुमेह समेत थियो । साहिँलाको मृत्यु भएको भोलिपल्ट माहिलालाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौंको बीएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएपछि असोज २४ गते उपचारकै क्रममा उनको मृत्यु भयो । त्यसको केही दिनअघि प्नोस्टेटको शल्यक्रिया भई उनी घरमै आराम गरिरहेका थिए । त्यसको भोलिपल्ट उनका बुवाको मृत्यु भयो ।
परिवारका जेठा छोराको हाल हृयाम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । माहिली बुहारी पनि कोरोना संक्रमित छिन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको भिमाद-६ का वडाध्यक्ष जोशीले जानकारी दिए ।
साहिँली बुहारीको सोमवार पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ। उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमादस्थित घरमै आइसोलेसनमा बसेकी छन्। उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा भने असोज १७ गते निको भएको बताइएको छ ।










