“म र मेरो”
देव बस्न्यात

म नेपाली व्यञ्जन वर्णमालाको २५औं अक्षर हो । नेपाली भाषामा कखरा पढन सिक्दा र सिकाउँदा यसलाई राम्रो म भन्ने गरिन्छ । सर्वप्रथम मानिसले बुझ्नु पर्ने महत्वपूर्ण विषय नै किन मलाई राम्रो म भनिन्छ र राम्रो म को उच्चारण गर्नाले शाब्दिक अर्थ के बुझाउँछ ? म को हुँ र मेरो कर्तव्य के हो ? म नाम रुप (शरीर, इन्द्रीय, मन वा बुद्धि के हुँ वा त्यो भन्दा अरु भिन्न केही हुँ कि भनेर बुझ्न जरुरी छ ।
म मानिसको नाम होइन । मलाई चिन्ह मेरो बेग्लै नाम चाहिन्छ । मेरो नाम राम, कृष्ण वा थोमस जे पनि राख्न र बनाउन सकिन्छ । आज मलाई राम भनेर चिन्नेहरुले म आमाको गर्भमा रहँदासम्म कसैले मलाई राम भनेर बोलाउने गर्थेनन् न कृष्ण भनेर नै बोलाउने गर्दथे । किनकी त्यो बेला मेरो नामको नामाकरण नै भएको थिएन । मैले यस पृथ्वी धरातलमा पदार्पण गरेपछि मलाई मेरो बाबा, आमा र मेरो परिवारका अग्रजहरुले सोह्रसंस्कार कर्म अन्तरगत जन्मिएको एघारौं दिनमा नामाकरण संस्कार गरे पछि मात्र मेरो नाम राम राखिदिएका हुन। न मेरो मृत्यु मरणोपरान्त पनि कसैले मलाई राम भनेर बोलाउँछन्, न म राम भनेर चिनिने गर्दछु । नाम एउटा त्यस्तो चिज हो जस्ले पनि र जहिले पनि फेर्न सक्दछन्। जस्तै पुष्पकमल दाहालले आफ्नो नाम आफै प्रचण्ड राखेका हुन्। पुष्पकमललाई प्रचण्ड नाम राख्न पुनः बाहुन बोलाउन परेको पनि होइन । न पुष्पकमलका बाबाआमाले नै बोलाउने नाम प्रचण्ड फेरेर । राखेका हुन् ।
पृथ्वीलाई स्वर्ग बनाउने की नर्क बनाउने मानिसको मन भित्रको कुरा हो । चाह्यो भने उ संसारलाई एकै छिनमा नष्ट गर्न र धर्तीको स्वर्ग सृजना गर्न सामर्थ्य राख्दछ । मानिसले आफ्नै बुद्धि र विवेकको भरमा नयाँ अभियानहरुको थालनी र नयाँ स्वामित्व ग्रहण गरी रहेका पाइएका छन् । अहिले नरहेता पनि कुनै बेला ब्रिटिस साम्राज्यमा घाम अस्ताउँदैनन् भन्ने कुरा सार्थक भएको तितो सत्य थियो पनि । पृथ्वीनारायण शाहले आफ्नै बल बुद्धि र सेनाको सहयोगमा एकीकृत नेपाल निर्माण गर्न सफल भएका थिए । यसैले हामी यो भन्न सक्दछौं कि सानाठूला लडाईंहरु मानव जातिकै बुद्धि, विवेक र शक्तिको आधारमा निर्माण भएका हुन भन्न सक्दछौं। हुनत हरेक मानिस उसको आफ्नो नाममा अभिमान जनाउँछ । आजसम्म देखिएका सृजनात्मक र ध्वंसात्मक क्रियाकलाप मानिसका बुद्धिविवेकका माध्यमबाट सृजित, सञ्चालित र नियन्त्रित भएकाले अभिमान प्रकट गर्दछ । हिजो ब्रिटेन शक्तिशाली राष्ट्र भएता पनि आज अमेरिका विश्वमा आफ्नो आर्थिक र सामरिक शक्ति प्रदर्शन गर्न उद्धत छ। त्यही अभिमानका कारणले मानिस हो या शक्तिशाली राष्ट्रहरु अरुलाई नराम्रो, कमसल, बुद्धिहीन र अविवेकी देख्ने गर्दछन् ।
मेरो शरीर र मेरो रुप पनि म होइन। किनभने यहाँ शरीर जडको रुपमा र म चेतको रुपमा देखिन्छन् । आखिर के हो र को हो त म ? यहीं आएर घोत्लिनु पर्ने हुन्छ । जन्म पश्चात हाम्रो शरीर क्रमशः बृद्धि हुँदै जाने, बुढ्यौली लाग्दै गएपछि शरीरको ओज ढल्दै जाने र अन्त्यमा नाश हुन पुग्दछ। शरीरको बृद्धि उत्पति र नाशवान हुने कारणले हामी बालबच्चा, तन्देरी, जवान र क्रमशः बुढो हुँदै जाने गर्दछौं ।
मानिस बाल, तन्देरी र बृद्ध जे अवस्थामा रहोस म भने सदैव एउटै अवस्थामा प्रकट भइरहने गर्दछ । यही कारण हामी म भनेको शरीर होइन भनेर किटान गर्न सक्दछौं । जस्ले मत्व र मपाइत्वलाई बिर्सेर यस गुढ रहस्यलाई बुझ्ने प्रयत्न गर्दछ उसले शरीरको मान, अपमान, र सुख दुःखमा समभाव राखेर हेर्ने गर्दछ। म शरीरको कुनै इन्द्रीय तथा क्रमेन्द्रिय पनि होइन । मेरा इन्द्रीय तथा क्रमेन्द्रियहरु चोटपटक लागेमा पनि म जस्ताको तस्तै रहन्छ । म इन्द्रीय तथा क्रमेन्द्रियहरु भएको भए इन्द्रीय तथा क्रमेन्द्रियहरुको नाश संगसंगै नाश हुने गर्दथ्यो । यसबाट के बुझिन्छ भने म इन्द्रीय तथा क्रमेन्द्रिय नभएर इन्द्रीय तथा क्रमेन्द्रियहरुको ज्ञाता र द्रष्टा रहेछ भन्ने संकेत गर्दछ ।
यसै गरी म मन पनि होइन । सुषुप्तिको अवस्थामा मन हुँदैन तर म भने सोही स्थानमा रहने गर्दछ । त्यसै हुनाले मानिस जागा हुना साथ आज मलाइ गहिरो निन्द्रा परेछ भन्ने ज्ञानको महसुस भने गर्दछ । अन्ततः हामीलाई म ज्ञानको ज्ञाता हुँ भन्ने वोध भने रहने गर्दछ । मन चञ्चल छ । यसैले मन दौड्ने गर्छ छिनमै मन अमेरिका छिनमै रुस, छिनमै अष्ट्रेलिया लगायत संसारको जुनसुकै कुनामा पुग्न सक्दछ । मनमा अनेकौं संकल्प तथा विकल्पहरु आइरहने गर्दछन् । हाम्रा व्यवहारगत कुराहरुमा मनमा आउने परिवर्तनले हाम्रो काममा त्रुटि हुन सक्दछन् तर मन सचेत हुनसाथ मनमा उब्जिएका विकारहरुले मेरो आफ्नै मन अर्कै तिर मोडिन गएको हो भन्ने महसुस गर्दछु । यसैलै यो भन्न सकिन्छ की हाम्रो मन बिना हाम्रा इन्द्रीय तथा क्रमेन्द्रियहरुबाट सावधानी पूर्वक काम गर्न सकिंदैन । हाम्रो मन चञ्चल छ तर हाम्रो शरीर भने सदैव अचल रहन्छ । यसैले म भनेको मनको ज्ञाता हो तर म मन भने कदापि होइन भनि प्रष्टिने गर्दछ ।
यसै गरी म भनेको बुद्धि पनि होइन। मानिसको बुद्धि कसैमा बढी कसैमा घटी हुने गर्दछ। यसैगरी मानिसमा कहिले बुद्धि बढ्ने र कहिले घट्न जाँदा बुद्धि पनि घटबढ भइरहने गर्दछ । म बुद्धिका सम्पूर्ण अवस्थाको हरपल जान्ने ज्ञाता भएतापनि वास्तवमा म बुद्धि भने होइन । यसैले म रुप, शरीर, इन्द्रीय, मन र बुद्धि केही पनि होइन । म सम्पूर्णबाट अलग तथा पृथक पृथक चेतना शक्तिकोे देखि जान्ने साक्षी मात्र हो । वास्तवमा शुद्ध आनन्दयुक्त आत्मा नै म हो । यसैलाई म भनिन्छ । यही नै म को वास्तविक स्वरुप हो ।
प्रभु परमात्माले मानिसलाई बल र बुद्धि दुबै शक्ति प्रदान गरेका छन् । परमेश्वरबाट प्राप्त बललाई भन्दा पनि बुद्धिलाई आफ्नो अतुलनीय शक्तिको रुपमा उपयोग गर्ने गरेका छौं । त्यही बुद्धिका आधारमा मानिसले संसारमा रहेका हरेक प्राणीहरु बीच सबैको मालिक बनेर बस्ने सुअवसर प्राप्त गरेको छ । पुराना रुढीवादी, संस्कृति, शासन व्यवस्थालाई परिमार्जन गर्दै लोकतान्त्रिक प्रणाली स्थापना गर्न सफल भएको छ । मानिसहरु स्वयंले आफ्ना अग्रजहरुबाट भोगेका व्यवहारगत कुरा र उनीहरुको अतितको अध्ययन गरेर आफ्ना सुखद् भविष्यका लागि नयाँ व्यवहार, मान्यता र धारणहरुको विकास गर्दै नयाँ नयाँ आविष्कार गर्न सफल बनेका छन् । जस्को आधारमा मानव जातिले आफ्ना कलाकृति, सभ्यता, संस्कार र संस्कृतिको सृजना गरेका छन् । तिनै प्रजातन्त्रका सेनानीहरुले आफ्ना मुलुकलाई अतिसुन्दर बनाउँदै लगेको पनि पाएका छौं । यसका बाहेक मानिसमा विद्यामान बुद्धि र विवेकका प्रभावले प्रकृति भित्र रहेका गुढ रहस्यहरु पत्ता लगाएर हामीले आफ्ना लागि आबस्यक नयाँनयाँ सुख सुविधाहरु समावेश गर्न सफलता प्राप्त गरेका छौं ।
जगत भौतिक र अभौतिक इश्वर र अनिश्वरवादी भागमा विभाजित छ । जुन मार्ग अप्नाए पनि हामी हाम्रा मनमा सुख, शान्ति र परमानन्दको अनुभूत हुने सुअवसरको खोजी गर्दछौं । त्यही सुख र आनन्द प्राप्त गर्ने सरल मार्ग मानवीय अवस्था हो । यसैले सुख शान्ति र परमआनन्द प्राप्ति गर्न हामीले मानवीय शरीर पाएको हौं । सुख र परमानन्द प्राप्ति तत्वज्ञानबाट प्रप्त हुने गर्दछ। तत्वज्ञान मानवले आफ्ना विवेक, वैराज्ञ, विचार सदाचार र सदगुण जस्ता व्यवहारगत अभ्यासबाट प्राप्त गर्न सक्दछ । सुख र परमानन्द प्राप्त गर्न इश्वरको दया र कृपा पनि जरुरी छ । उनै परमेश्वरको शरणागत हुन सकियो भने हामीले दया र कृपाको रहस्य बुझ्न सक्दछौं ।
तसर्थ तत्वज्ञान प्राप्त गरी परमशान्ति प्राप्त गर्नका लागि पनि हामी परमेश्वरमा शरणागत हुन सक्नु पर्दछ । परमेश्वरमा म लाई सदा सर्वदा लीन गराउन सकियो भने मानिस चिर निन्द्राबाट ब्युँझेर जाग्रत अवस्थामा पुग्न सक्दछ । मानिस जाग्रत अवस्थामा पुग्नु भनेको अज्ञानताको नाश भइ ज्ञानमञ्जरीमा प्रवेश गर्नुलाई सम्झनु पर्दछ । तत्पश्चात नै हामी म मा भएका नाम, रुप, शरीर, इन्द्रीय, मन र बुद्धिबाट आफुलाई अलग बनाउन सकिएको महसुस गर्न पुग्दछौं । यही महसुसताले हामी स्वयंले पूर्णज्ञान प्राप्त गरेको अनुभूत गर्न पुग्दछौं । यही अवस्थाबाटनै हामीले हाम्रा प्रभु प्रमेश्वरलाई प्राप्त गरी आफुलाई परमप्रभूमा लीन गराउने सुअवसर प्राप्त गर्न सकेका हौं । मनमा परमेश्वरको भावलाई हरदम हृदयगम गरेर हामी स्वयं परमानन्दमय र परमात्मामय बन्ने सदप्रयास गर्नु नै हामी सबैको साझा मूलकर्तव्य हो ।










