“म र मेरो”

देव बस्न्यात

म नेपाली व्यञ्जन वर्णमालाको २५औं अक्षर हो । नेपाली भाषामा कखरा पढन सिक्दा र सिकाउँदा यसलाई राम्रो म भन्ने गरिन्छ । सर्वप्रथम मानिसले बुझ्नु पर्ने महत्वपूर्ण विषय नै किन मलाई राम्रो म भनिन्छ र राम्रो म को उच्चारण गर्नाले शाब्दिक अर्थ के बुझाउँछ ? म को हुँ र मेरो कर्तव्य के हो ? म नाम रुप (शरीर, इन्द्रीय, मन वा बुद्धि के हुँ वा त्यो भन्दा अरु भिन्न केही हुँ कि भनेर बुझ्न जरुरी छ ।
म मानिसको नाम होइन । मलाई चिन्ह मेरो बेग्लै नाम चाहिन्छ । मेरो नाम राम, कृष्ण वा थोमस जे पनि राख्न र बनाउन सकिन्छ । आज मलाई राम भनेर चिन्नेहरुले म आमाको गर्भमा रहँदासम्म कसैले मलाई राम भनेर बोलाउने गर्थेनन् न कृष्ण भनेर नै बोलाउने गर्दथे । किनकी त्यो बेला मेरो नामको नामाकरण नै भएको थिएन । मैले यस पृथ्वी धरातलमा पदार्पण गरेपछि मलाई मेरो बाबा, आमा र मेरो परिवारका अग्रजहरुले सोह्रसंस्कार कर्म अन्तरगत जन्मिएको एघारौं दिनमा नामाकरण संस्कार गरे पछि मात्र मेरो नाम राम राखिदिएका हुन। न मेरो मृत्यु मरणोपरान्त पनि कसैले मलाई राम भनेर बोलाउँछन्, न  म राम भनेर चिनिने गर्दछु । नाम एउटा त्यस्तो चिज हो जस्ले पनि र जहिले पनि फेर्न सक्दछन्। जस्तै पुष्पकमल दाहालले आफ्नो नाम आफै प्रचण्ड राखेका हुन्। पुष्पकमललाई प्रचण्ड नाम राख्न पुनः बाहुन बोलाउन परेको पनि होइन । न पुष्पकमलका बाबाआमाले नै बोलाउने नाम प्रचण्ड फेरेर । राखेका हुन् ।
पृथ्वीलाई स्वर्ग बनाउने की नर्क बनाउने मानिसको मन भित्रको कुरा हो । चाह्यो भने उ संसारलाई एकै छिनमा नष्ट गर्न र धर्तीको स्वर्ग सृजना गर्न सामर्थ्य राख्दछ । मानिसले आफ्नै बुद्धि र विवेकको भरमा नयाँ अभियानहरुको थालनी र नयाँ स्वामित्व ग्रहण गरी रहेका पाइएका छन् । अहिले नरहेता पनि कुनै बेला ब्रिटिस साम्राज्यमा घाम अस्ताउँदैनन् भन्ने कुरा सार्थक भएको तितो सत्य थियो पनि । पृथ्वीनारायण शाहले आफ्नै बल बुद्धि र सेनाको सहयोगमा एकीकृत नेपाल निर्माण गर्न सफल भएका थिए । यसैले हामी यो भन्न सक्दछौं कि सानाठूला लडाईंहरु मानव जातिकै बुद्धि, विवेक र शक्तिको आधारमा निर्माण भएका हुन भन्न सक्दछौं। हुनत हरेक मानिस उसको आफ्नो नाममा अभिमान जनाउँछ । आजसम्म देखिएका सृजनात्मक र ध्वंसात्मक क्रियाकलाप मानिसका बुद्धिविवेकका माध्यमबाट सृजित, सञ्चालित र नियन्त्रित भएकाले अभिमान प्रकट गर्दछ । हिजो ब्रिटेन शक्तिशाली राष्ट्र भएता पनि आज अमेरिका विश्वमा आफ्नो आर्थिक र सामरिक शक्ति प्रदर्शन गर्न उद्धत छ। त्यही अभिमानका कारणले मानिस हो या शक्तिशाली राष्ट्रहरु अरुलाई नराम्रो, कमसल, बुद्धिहीन र अविवेकी देख्ने गर्दछन् ।
मेरो शरीर र मेरो रुप पनि म होइन। किनभने यहाँ शरीर जडको रुपमा र म चेतको रुपमा देखिन्छन् । आखिर के हो र को हो त म ? यहीं आएर घोत्लिनु पर्ने हुन्छ । जन्म पश्चात हाम्रो शरीर क्रमशः बृद्धि हुँदै जाने, बुढ्यौली लाग्दै गएपछि शरीरको ओज ढल्दै जाने र अन्त्यमा नाश हुन पुग्दछ। शरीरको बृद्धि उत्पति र नाशवान हुने कारणले हामी बालबच्चा, तन्देरी, जवान र क्रमशः बुढो हुँदै जाने गर्दछौं ।
मानिस बाल, तन्देरी र बृद्ध जे अवस्थामा रहोस म भने सदैव एउटै अवस्थामा प्रकट भइरहने गर्दछ । यही कारण हामी म भनेको शरीर होइन भनेर किटान गर्न सक्दछौं । जस्ले मत्व र मपाइत्वलाई बिर्सेर यस गुढ रहस्यलाई बुझ्ने प्रयत्न गर्दछ उसले शरीरको मान, अपमान, र सुख दुःखमा समभाव राखेर हेर्ने गर्दछ। म शरीरको कुनै इन्द्रीय तथा क्रमेन्द्रिय पनि होइन । मेरा इन्द्रीय तथा क्रमेन्द्रियहरु चोटपटक लागेमा पनि म जस्ताको तस्तै रहन्छ । म इन्द्रीय तथा क्रमेन्द्रियहरु भएको भए इन्द्रीय तथा क्रमेन्द्रियहरुको नाश संगसंगै नाश हुने गर्दथ्यो । यसबाट के बुझिन्छ भने म इन्द्रीय तथा क्रमेन्द्रिय नभएर इन्द्रीय तथा क्रमेन्द्रियहरुको ज्ञाता र द्रष्टा रहेछ भन्ने संकेत गर्दछ ।
यसै गरी म मन पनि होइन । सुषुप्तिको अवस्थामा मन हुँदैन तर म भने सोही स्थानमा रहने गर्दछ । त्यसै हुनाले मानिस जागा हुना साथ आज मलाइ गहिरो निन्द्रा परेछ भन्ने ज्ञानको महसुस भने गर्दछ । अन्ततः हामीलाई म  ज्ञानको ज्ञाता हुँ भन्ने वोध भने रहने गर्दछ । मन चञ्चल छ । यसैले मन दौड्ने गर्छ छिनमै मन अमेरिका छिनमै रुस, छिनमै अष्ट्रेलिया लगायत संसारको जुनसुकै कुनामा पुग्न सक्दछ । मनमा अनेकौं संकल्प तथा विकल्पहरु आइरहने गर्दछन् । हाम्रा व्यवहारगत कुराहरुमा मनमा आउने परिवर्तनले हाम्रो काममा त्रुटि हुन सक्दछन् तर मन सचेत हुनसाथ मनमा उब्जिएका विकारहरुले  मेरो आफ्नै मन अर्कै तिर मोडिन गएको हो भन्ने महसुस गर्दछु । यसैलै यो भन्न सकिन्छ की हाम्रो मन बिना हाम्रा इन्द्रीय तथा क्रमेन्द्रियहरुबाट सावधानी पूर्वक काम गर्न सकिंदैन । हाम्रो मन चञ्चल छ तर हाम्रो शरीर भने सदैव अचल रहन्छ  । यसैले म भनेको मनको ज्ञाता हो तर म मन भने कदापि होइन भनि प्रष्टिने गर्दछ  ।
यसै गरी म भनेको बुद्धि पनि होइन। मानिसको बुद्धि कसैमा बढी कसैमा घटी हुने गर्दछ। यसैगरी मानिसमा कहिले बुद्धि बढ्ने र कहिले घट्न जाँदा बुद्धि पनि घटबढ भइरहने गर्दछ । म बुद्धिका सम्पूर्ण अवस्थाको हरपल जान्ने ज्ञाता भएतापनि वास्तवमा म बुद्धि भने होइन । यसैले म रुप, शरीर, इन्द्रीय, मन र बुद्धि केही पनि होइन । म सम्पूर्णबाट अलग तथा पृथक पृथक चेतना शक्तिकोे देखि जान्ने साक्षी मात्र हो । वास्तवमा शुद्ध आनन्दयुक्त आत्मा नै म हो । यसैलाई म भनिन्छ । यही नै म को वास्तविक स्वरुप हो ।
प्रभु परमात्माले मानिसलाई बल र बुद्धि दुबै शक्ति प्रदान गरेका छन् । परमेश्वरबाट प्राप्त बललाई भन्दा पनि बुद्धिलाई आफ्नो अतुलनीय शक्तिको रुपमा उपयोग गर्ने गरेका छौं । त्यही बुद्धिका आधारमा मानिसले संसारमा रहेका हरेक प्राणीहरु बीच सबैको मालिक बनेर बस्ने सुअवसर प्राप्त गरेको छ । पुराना रुढीवादी, संस्कृति, शासन व्यवस्थालाई परिमार्जन गर्दै लोकतान्त्रिक प्रणाली स्थापना गर्न सफल भएको छ । मानिसहरु स्वयंले आफ्ना अग्रजहरुबाट भोगेका व्यवहारगत कुरा र उनीहरुको अतितको अध्ययन गरेर आफ्ना सुखद् भविष्यका लागि नयाँ व्यवहार, मान्यता र धारणहरुको विकास गर्दै नयाँ नयाँ आविष्कार गर्न सफल बनेका छन् । जस्को आधारमा मानव जातिले आफ्ना कलाकृति, सभ्यता, संस्कार र संस्कृतिको सृजना गरेका छन् । तिनै प्रजातन्त्रका सेनानीहरुले आफ्ना मुलुकलाई अतिसुन्दर बनाउँदै लगेको पनि पाएका छौं । यसका बाहेक मानिसमा विद्यामान बुद्धि र विवेकका प्रभावले प्रकृति भित्र रहेका गुढ रहस्यहरु पत्ता लगाएर हामीले आफ्ना लागि आबस्यक नयाँनयाँ सुख सुविधाहरु समावेश गर्न सफलता प्राप्त गरेका छौं ।
जगत भौतिक र अभौतिक इश्वर र अनिश्वरवादी भागमा विभाजित छ । जुन मार्ग अप्नाए पनि हामी हाम्रा मनमा  सुख, शान्ति र परमानन्दको अनुभूत हुने सुअवसरको खोजी गर्दछौं । त्यही सुख र आनन्द प्राप्त गर्ने सरल मार्ग मानवीय  अवस्था हो । यसैले सुख शान्ति र परमआनन्द प्राप्ति गर्न हामीले मानवीय शरीर पाएको हौं । सुख र परमानन्द प्राप्ति  तत्वज्ञानबाट प्रप्त हुने गर्दछ। तत्वज्ञान मानवले आफ्ना विवेक, वैराज्ञ, विचार सदाचार र सदगुण जस्ता व्यवहारगत अभ्यासबाट प्राप्त गर्न सक्दछ । सुख र परमानन्द प्राप्त गर्न इश्वरको दया र  कृपा पनि जरुरी छ । उनै परमेश्वरको शरणागत हुन सकियो भने हामीले दया र कृपाको रहस्य बुझ्न सक्दछौं ।
तसर्थ तत्वज्ञान प्राप्त गरी परमशान्ति प्राप्त गर्नका लागि पनि  हामी परमेश्वरमा शरणागत हुन सक्नु पर्दछ । परमेश्वरमा म लाई सदा सर्वदा लीन गराउन सकियो भने मानिस चिर निन्द्राबाट ब्युँझेर जाग्रत अवस्थामा पुग्न सक्दछ । मानिस जाग्रत अवस्थामा पुग्नु भनेको अज्ञानताको नाश भइ ज्ञानमञ्जरीमा प्रवेश गर्नुलाई सम्झनु पर्दछ । तत्पश्चात नै हामी म मा भएका नाम, रुप, शरीर, इन्द्रीय, मन र बुद्धिबाट आफुलाई अलग बनाउन सकिएको महसुस गर्न पुग्दछौं । यही महसुसताले हामी स्वयंले पूर्णज्ञान प्राप्त गरेको अनुभूत गर्न पुग्दछौं । यही अवस्थाबाटनै हामीले हाम्रा प्रभु प्रमेश्वरलाई प्राप्त गरी आफुलाई परमप्रभूमा लीन गराउने सुअवसर प्राप्त गर्न सकेका हौं । मनमा परमेश्वरको भावलाई हरदम हृदयगम गरेर हामी स्वयं परमानन्दमय र परमात्मामय बन्ने सदप्रयास गर्नु नै हामी सबैको साझा मूलकर्तव्य हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker