“प्राविधिक शिक्षामा पाठ्यक्रम पुनरावलोकनको आवश्यकता छ” : प्रअ भट्टराई

तनहुँको व्यास नगरपालिका–२ मा स्थित सत्यवती माध्यमिक विद्यालयकी प्रधानाध्यापक पुष्पकला भट्टराई प्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण दिनप्रतिदिन कम हुँदै गएकोमा यस तर्फ सोच्नुपर्ने समय आएको बताउँछिन् ।
जिल्लाकै नमूना विद्यालयका रूपमा चिनिएको सत्यवती माविले कम्प्युटर इन्जिनियरिङ विषय पढाइ गर्दै आएको छ । उनका अनुसार सरकारको नीति अनुसार स्वरोजगारमुखी शिक्षा दिने उद्देश्यले ल्याइएको प्राविधिक विषय विद्यार्थीको क्षमता अनुरूप नहुँदा अपेक्षित परिणाम आउन सकेको छैन । उनले भनिन्, ‘कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई सीपमूलक बनाउने सोच राम्रो हो, तर जटिल पाठ्यक्रमले उनीहरू झन् निरुत्साहित बनाएको छ ।’

शिक्षा प्रणाली अझै वि.सं. २०२८ कै ऐनमा आधारित रहेकाले समसामयिक आवश्यकता र प्रविधिसँग मेल खाने पाठ्यक्रमको अभाव रहेको उनी बताउँछिन् । ‘अब शिक्षा मूल्याङ्कन केवल तीन घण्टाको परीक्षा भरि सीमित हुनु हुँदैन’, भट्टराईले थपिन्, ‘विद्यार्थीको सामाजिक, मानसिक र व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने बेला आएको छ ।’
विद्यालयमा हाल २ हजार ५५९ विद्यार्थी अध्ययनरत छन् । शिक्षक दरबन्दी अनुसार १२५ जना आवश्यक भए पनि हाल ९३ जनाबाट पठनपाठन सञ्चालन भइरहेको छ। भौतिक पूर्वाधारमा सुधार भएपनि खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यक जमिनको अभाव रहेको उनको भनाइ छ । उनले आधुनिक बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । ‘अहिलेका विद्यार्थी प्रविधिमा अब्बल छन्, उनीहरूलाई डर होइन समझदारी चाहिन्छ’, भट्टराईले भनिन्, “मोवाइलको सही र गलत प्रयोग छुट्याउने ज्ञान दिन जरुरी छ ।’
तनहुँको व्यास–२ मा वि.सं. २०३३ सालमा भएको सत्यवती माविले वि.सं. २०४६ सालमा पहिलो तत्कालिन एसएलसी परीक्षामा विद्यार्थी सहभागि गराएको थियो । त्यसपछि निरन्तर रुपमा शैक्षिक गुणस्तरको हिसावमा नेतृत्वदायी भूमिका निभाउँदै आइरहेको उनले बताइन् । ‘हालसम्म आईपुग्दा हाम्रो विद्यालयमा प्रारम्भिव बालशिक्षादेखि १२ कक्षासम्मको पढाई हुने गरेको छ । कक्षा ११ र १२ मा बिज्ञान, शिक्षा, व्यवस्थापन, होटल म्यानेजमेट, कम्प्युटर शिक्षा दिंदै आएका छौं ।’
‘२०७४ सालमा नमूना विद्यालय बनेपछि विद्यालयको भौतिक र शैक्षिक पक्षलाई व्यवस्थित बनाउन सहयोग पनि उपलब्ध भईरहेको छ । यसरी सहयोग आईरहदा हामीलाई उपलब्ध भएको जमिनमा भवनहरु पनि बनाईसकेका छौं । विद्यालयको सबैभन्दा ठुलो समस्य भनेको आवश्यक पर्ने क्षत्रफलको जमिन छैन’, उनले भनिन्, ‘आवश्यक जमिन उपलब्ध नहुँदा हाम्रा बाबुनानीलाई खेल्ने, खेलाउने, अतिरिक्त क्रियाकलापहरु गराउने, विद्यार्थी संख्याको आधारमा कक्षा कोठाको व्यवस्थापन गराउन पनि गाह्रो भइरहेको छ ।’
(‘भञ्ज्याङ’ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा २०८२ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशित सामाग्रि)