तनहुँका मजदुर संगठनहरुले दमौलीमा मे दिवस मनाए

दमौली : मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गर्छन ।
तनहुँका मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । ‘परिपुर्ण लोकतान्त्रिक गणतन्त्रको निरन्तरता श्रमजीवी वर्गको सम्मान, समृद्धि र सिर्जनशिलता’ भन्ने राष्ट्रिय नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र नेपाल ट्रेड युनियन काँग्रेस लगायतका संघ संस्थाले दमौलीमा एक कार्यक्रमको आयोजना गरी मे दिवस मनाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट तनहुँका कार्यवहाक अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव सोम आले, स्वरोजगार निर्माण समितिका केन्द्रीय सदस्य चन्द्रा घले, स्वरोजगार निर्माण समिति तनहुँका अध्यक्ष सागर थापा लगायतले मे दिवसका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, नेपाल ट्रेड युनियन काँग्रेस तनहुँले दमौलीमा प्रभातफेरी गरी नेपाली काँग्रेस तनहुँको कार्यालयमा आयोजित सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री प्रदिप पौडेल, नेपाली काँग्रेस तनहुँका उपसभापती राजेन्द्र कृष्ण श्रेष्ठ लगायतले मे दिवसको महत्व र मजदुर आन्दोलनको उपलब्धीका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल ग¥यो ।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा पनि विराटननगरमा वि.स. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र वि.सं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर संगठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।










