व्यासका कृषकलाई बाँदर धपाउने लेजर लाइट वितरण

दमौली : तनहुँको व्यास नगरपालिकाले कृषकहरूलाई बादरको समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले लेजर लाइट वितरण सुरु गरेको छ । नगरपालिकाले हाल परीक्षणका लागि बाँदर धपाउने लेजर लाइट वितरण सुरु गरेको हो ।
प्रारम्भिक चरणमा नगरका केही स्थानहरूमा यी लाइटहरू परीक्षणस्वरूप वितरण गरिनेछ । प्रयोग सफल भएमा नगरपालिकाका सबै १४ वडामा क्रमिक रूपमा वितरण विस्तार गरिने योजना रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘बाली नष्ट गर्ने बाँदरबाट पीडित कृषकहरूको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक उपायको प्रयोग गर्न लागिएको हो। यदि यो प्रविधि प्रभावकारी देखियो भने यो दीर्घकालीन समाधान बन्न सक्छ ।’
बाँदरलाई धपाउन प्रयोग गरिने यो लेजर लाइट राति र दिन दुवै समयमा उपयोगी हुने विश्वास लिइएको छ । नगरपालिकाले कृषकहरूलाई प्रयोग सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।










