तनहुँको आँवुखैरेनी ऐना पहरा दुर्घटना : स्टार्ट गरेरै छाड्दा बस भिरबाट खस्यो

पाँच जना घाइते, ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा आइतबार दिउँसा यात्रु बहाक बस दुर्घटना भएको छ । गोरखाबाट चितवनको नारायणगढ तर्फ जाँदै गरेको बस ऐना पहराबाट खस्दै गर्दाको सीसीटीभी फूटेज बाहिरिएको छ । ऐन पहराको पार्किङबाट निकाल्ने क्रममा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमा २ जनाको अवस्था गम्भीर छ ।
गोरखाबाट चितवनको नारायणगढ आइरहेको ग२ख १०७७ नम्बरको बस सडकबाट मस्र्याङ्दीनजिकै ऐना पहरा भिरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा उक्त बसलाई चालकले पार्किङबाट ब्याक गराइरहेको देख्न सकिन्छ । चालकले ब्याक गराउँदा नियन्त्रण गुमेर बस भिरमा खसेको बयान प्रहरीलाई दिएका छन् । उक्त सीसीटीभी फुटेजअनुसार बस ब्याक गरेको १० सेकेन्डमै सडकबाट सिधै तल गएर बजारिएको छ । बसले उकालो ठाउँमा रहेको पार्किङ छाडेर ओरालोतर्फ सडक छुनेबित्तिकै तीव्र गतिमा पछाडि सरेको थियो ।
सीसीटीभी फुटेजअनुसार ब्रेक फेल भएको थाहा पाएपछि यात्रु हामफालेको देख्न सकिन्छ । बस ब्याक गर्दा ब्रेक नलागेपछि थाहा पाएका यात्रुहरू ढोकाबाट सडकमा हुत्तिँदै हामफालिरहेका सीसीटीभीमा देखिएको छ । यसरी हामफाल्नेमा धेरै महिला छन् । सीसीटीभी फुटेजअनुसार ८ जना यात्रुले त्यसरी हामफालेका थिए ।
बस दुर्घटनास्थलमा भेटिएका ५ जनासहित कम्तीमा १३ यात्रु गोरखाबाट नारायणघाट आइरहेको अनुमान गरिएको छ । बसको अगाडिको भाग भासिएको अवस्थामा भिरमा अड्किएपछि क्रेनले तानेर निकालिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको हो । नियन्त्रणमा लिइएका चालकले पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।
यस्तै, आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको बताइएको छ। चितवन जाने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्काे गाडीमा पठाएर ऐना पहरामै गाडी रोकिएको थियो ।
शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न आएका थिए । उनीहरूलाई लिएर गोरखा फर्कने भन्दै बस सोही स्थानमा कुरिरह्यो। उनीहरू केही बेर ऐना पहरा घुमेर फर्कने तयारी गरे । केही बसमा चढे । कोही चढ्ने तयारीमा थिए ।
चालकले गाडी स्टार्ट गरेर बाँकी यात्रुलाई कुरेर बसे । केही क्षणमा स्टार्टमै राखेर चालक गाडीबाट ओर्लिए तर, ओट लगाउन बिर्सिए । गाडी विस्तारै पछाडी गुड्न थाल्यो । भित्र रहेका केही यात्रु ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भए । बाँकी पाँच जना भने गाडीबाट ओर्लन नपाउँदै भिरमा खसे ।
‘हामी दश जना थियौ, ऐना पहरा घुमेर फर्कने तयारी गर्दै थियौं,’ मगरले भनिन्, ‘चार÷पाँच जना आएर गाडी चढिसकेका थियौं, बाँकी चढ्दै थियौं, त्यही बेला ड्राइभर गाडी स्टार्टमै राखेर कता गएछ, बस एक्कासी गुडेर आफैं तल भिरतिर गयो ।’
बसमा रहेका केही सडकमै हाम फालेर ज्यान जोगाएको उनले बताइन् । उनका अनुसार बाँकी पाँच जना भने बससँगै तल खसे। उनीहरूमध्ये अहिले दुई जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी तीन जना भने आँवुखैरेनी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

छिर्कनेमा विद्युतीय माइक्रो दुर्घटना हुँदा नौ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा आइतबार भएको विद्युतीय माइक्रो दुर्घटनामा नौ जना घाइते भएका छन् । पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
चालकले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किदा माइक्रो सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माइक्रोमा चालकसहित १२ जना सवार थिए । घाइते नौ जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको थियो । माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका–४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker