मनो–सामाजिक परामर्शले फेरिएको दैनिकी

तोलाकान्त बगाले

स्याङ्जा : वालिङ–७ की २५ वर्षीया एक महिला दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ । छोराछोरीको लालनपालन र घर सम्हाल्दै आउनुभएकी उहाँ र श्रीमान्बीच अकस्मात झै–झगडा हुन थाल्यो ।
घरमा अन्य कोही पनि नभएको र स–साना दुई छोराछोरीको स्याहार गर्दै बस्नुभएकी ती महिला र परिवारको खुसीका लागि विदेशी भूमिमा पसिना बगाउनुभएका श्रीमान्बीचको झै–झगडा बढ्दै जान थाल्यो । जसको असर साना छोराछोरीमा पनि पर्न थाल्यो । श्रीमान्ले विदेशबाट पैसा पठाउन छाड्नुभयो । घर खर्च चलाउन उहाँलाई धौधौ भयो ।
परदेशमा रहेका श्रीमान् र घर चलाउँदै आएकी ती महिलाबीच दैनिक झै–झगडा हुने, श्रीमान्ले पैसा नपठाउँदा परिवारमा विचलन आयो । पछि उहाँ डिप्रेशनको रोगी बन्नुभयो ।
“जो हो साहारा दिने उसैको सहारा नपाएपछि जिन्दगी नै उजाड भएजस्तो लाग्न थाल्यो, जतिबेला नि पिर चिन्ताले सताउन थाल्यो, हुँदाहुँदै रोगी बनें” उहाँले भन्नुभयो, “मनो–सामाजिक परामर्शकै कारण म अहिले निको हुँदै गएकी छु, जीउन सकिने धेरै बाटाहरु रैछन् भन्ने साहस र हिम्मत पाएकी छु ।”
औषधिभन्दा पनि मनो–सामाजिक परामर्शकै कारण आफ्नो दैनिकी फेरिनुका साथै सहजता भएको अनुभव उहाँको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत मनो–सामाजिक परामर्शकर्ताले घरमै पुगेर मनोसामाजिक र वित्तीय साक्षरताका बारेमा परामर्श दिएपछि सुधार हुँदै गएको महशुस उहाँले गर्नुभएको छ । “जब मनो–सामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी ज्ञान पाएँ तब दैनिकी फेरिदै जान थाल्यो, अहिले सहज हुँदै गएको छ” ती महिलाले भन्नुभयो, “अहिले घर परिवारमा खुसी छाएको छ ।”
वित्तीय साक्षरताले सानो सानो भएपनि वचत गर्ने तरिका सिक्न पाएकाले मासिक पाँच हजार वचत गर्न थाल्नुभएको छ । “मनो–सामाजिक परामर्श तथा वित्तीय साक्षरताले जिन्दगीको मोड लिएको छ” उहाँले भन्नुभयो, “अहिले दैनिक हिसाबकिताब कापीमा टिपेर राख्ने गरेकाले आम्दानी खर्च स्पष्ट हुन थालेको छ ।”
श्रीमान् विदेश गएपछि घर धानेर बसेकी श्रीमतीले राम्रा लुगा लगाएर हिंड्दासमेत समाजले फरक तरिकाले हेर्ने गरेको बताउनुहुन्छ, वालिङ १३ की एक महिला । श्रीमान्ले विदेशमा सकी नसकी दुःख गरेको छ यहाँ चाहीँ ऊ लुगा फेर्दै हिंडेकी छ भनेको सुन्नुपर्दा मन दुख्थ्यो । अझ समुदायकै केही केहीले त श्रीमान्लाई भए नभएका कुरा लगाइदिने गरेकाले श्रीमान् श्रीमतीबीच झगडासमेत हुने गरेको थियो ।
“स–सानो पैसा खर्च हुने तर विवरण नराखेकै कारण हिसाबकिताब सबै देखाउन सकिएन भने झैझगडा हुन्थ्यो” उहाँले भन्नुभयो, “पैसा कमाउनेभन्दा पनि बचाउने अनि त्यसलाई लेखेर राख्ने गर्दा आम्दानी खर्च सबै स्पष्ट हुने भएकाले अहिले त्यसै गर्न थालेकी छु ।” २१ हप्तासम्म वित्तीय साक्षरतासम्बन्धी तालिम लिएपछि सहज भएको छ । परिवारबीच झैझगडा हुन छाडेको छ । वैदेशिक रोजगारीसम्बन्धी कुनै समस्याहरु भएमा कहाँ जाने, के गर्ने भन्ने ज्ञानसमेत प्राप्त भएको उहाँले बताउनुभयो ।
श्रीमान्ले विदेशमा दुःख गरेर घरमा पैसा पठाउने तर घरमा त्यसको हिसाबकिताब देखाउन नसक्दा झैझगडा हुने र परिवार नै दुर्घटनामा पर्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा छन् । परिवारमा झैझगडा हुँदा श्रीमान् श्रीमतीबीच परापाचुके हुने र त्यसको प्रत्यक्ष असर बालबालिकाहरुमा पर्ने गरेको छ । तीन वर्षको अवधिमा ५८ जनालाई मनो–सामाजिक परामर्श गरेको छ । मनो–सामाजिक परामर्शकर्ता विमला थापाले सामूहिक वा व्यक्तिगतरुपमा समस्याहरु बुझी सोही अनुसारको परामर्शलाई निरन्तरता दिँदै आउनुभएको छ ।
डिप्रेसन, पिर चिन्ता, खान मन नलाग्ने, रुन मन लाग्ने, एकोहोरिने, निद्रा नलाग्ने जस्ता लक्षण देखिएका परिवार तथा व्यक्तिहरुलाई घर–घरमै पुगेर मनो–सामाजिक परामर्श प्रदान गरेसँगै अहिले दैनिकी फेरिंदै गएको छ । “वैदेशिक रोजगारीका कारण परिवार तथा परिवारका सदस्यमा देखिएको समस्याको पहिचान गरी परामर्श दिने गरिएको छ” उहाँले भन्नुभयो, “अहिले उहाँहरुमा व्यवहार परिवर्तन हुँदै गएको छ, समस्याको समाधान हुँदै जाँदा परिवारमा त्यसको सकारात्मक सन्देश जाने गरेको छ ।”
विशेषगरी २५ देखि ५० वर्ष उमेर समूहका महिला, १४ देखि १८ वर्षका बालबालिकामा बढी असर परेको देखिएको छ । वैदेशिक रोजगारीका लागि गएको श्रीमान्ले घर पैसा पठाउने तर त्यसको व्यवस्थापन गर्न नजान्दा परिवारमा झैझगडा हुने गरेको छ । श्रीमान् श्रीमतीबीच झैझगडा हुँदा त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको छ । बालबालिकाहरु विद्यालय जान नमान्ने, धेरै डराउने, तर्सनेजस्ता असरहरु देखिने गरेको छ । महिला तथा बालबालिकालाई छुट्टाछुट्टै खालको मनो–सामाजिक परामर्श दिने गरेको उहाँले बताउनुभयो ।
प्रायःजसो वैदेशिक रोजगारी र त्यसबाट उत्पन्न भएका समस्याहरुका कारणले परिवारका सदस्यहरु पिर, चिन्ता, डिप्रेसनमा जाने गरेको देखिएको छ । समाजमा लाञ्छना, भेदभाव, परिवार ब्यवस्थापन नहुनु, लैङ्गिक हिंसा, घरेलु हिंसा लगायतका समस्याहरु छन् । “घरायसी झैझगडाका कारण बालबालिकामा त्यसको प्रत्यक्ष असर परेको छ” उहाँले भन्नुभयो, “जसका कारण बालबालिकाको मनोबल कमजोर हुने, खान मन नगर्ने, एक्लोपन भएको महशुस गर्ने, डराउने, समय समयमा तर्सने जस्ता व्यवहार देखाउने गरेका छन् ।”
व्यक्तिगत वा सामूहिक मनो–सामाजिक परामर्शपश्चात अहिले दैनिकी फेरिंदै गएको छ । मनो–सामाजिक परामर्शको सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता एवं मनो–सामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ । नगरभित्रका विभिन्न वडामा १२ वटा समूह बनाई सामूहिकरुपमा र आवश्यकता हेरी व्यक्तिगतरुपमा समेत मनो–सामाजिक परामर्श प्रदान गरिएको उहाँ बताउनुहुन्छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई भिसा अवधिभर काम गर्ने सिलसिलामा मृत्यु भएको, अङ्गभङ्ग भएको, ठगिएको, बेपत्ता भएको, बिरामी भएको लगायतका घटनाहरुमा उजुरी गरेको खण्डमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता र ठगी, बेपत्ताहरुको  खोजी तथा उद्दारको कार्यका लागि आप्रवासी स्रोत उपकेन्द्रले पहल गर्दै आएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वालिङ नगरपालिकाले सञ्चालन गरेको छ । उपकेन्द्रमार्फत गत आर्थिक वर्षमा चार हजार ७५२ जनालाई सूचना तथा परामर्श दिएको सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताउनुभयो । यसमा तीन हजार ४९२ पुरुष र एकहजार २६० जना महिला रहेका छन् । ४० वटा विभिन्न घटना तथा मुद्दाहरु परेकामा २६ वटाको समाधान भएको र १४ वटा बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी रहेका मुद्दाहरुको छिट्टै समाधानका लागि पहल भएको कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएको व्यक्तिको घर परिवारमा कुनै घातक रोग (मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमरलगायत) लाग्दा पनि परिवारलाई आर्थिक उपचार सहायता प्राप्त हुने गरेको उहाँले बताउनुभयो । आप्रवासी स्रोत उपकेन्द्र वालिङबाट स्याङ्जाका वालिङ, भीरकोट, चापाकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित दक्षिण पर्वत र पाल्पाको रामपुरको केही भेगका मानिसले सेवा लिने गरेका छन् । उपकेन्द्रमार्फत रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएको व्यक्तिको शवलाई नेपाल ल्याइपु¥याउनका लागि पहलसहित आवश्यक समन्वय गर्दै आएको छ ।
वैदेशिक रोजगारमा रहेका कामदारका परिवार तथा फर्केका कामदारको सञ्जाल निर्माण गर्ने, कार्यक्रम साझेदारहरुबीच समन्वय गर्ने, संयन्त्र निर्माण र समुदायसँगको सहकार्यमा कामदारको समस्या समाधानका लागि सहजीकरण प्रणालीको विकास गर्न विभिन्न कार्यहरु उपकेन्द्रमार्फत हुँदै आएको छ । सेवालाई दिगोरुपमा सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक नीति, कार्यविधि, योजना तर्जुमा तथा कार्यान्वयनका लागि आवश्यक सहयोग पु¥याउने रहेको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ मा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा गएका ठाउँका सीमान्तकृत समुदाय तथा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरी समुदाय अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति तथा तिनका परिवारलाई सूचना प्रदान गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई रिटर्नी स्वयंसेवकको रुपमा परिचालन गर्न सकिने व्यवस्था समेत रहेको छ । वालिङ नगरपालिकाका १४ वटै वडालाई समेट्ने गरी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको रिटर्नी सञ्जाल गठन गरिएको छ । जीतबहादुर नेपाली संयोजक रहने गरी १५ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
वैदेशिक रोजगारीमा गएकाहरुको अवस्थाका बारेमा जानकारी लिने र कुनै समस्या आइपरेमा उद्दारका लागि सहयोग गर्ने सञ्जालका संयोजक नेपालीले बताउनुभयो । कस्तो कम्पनीमा जाने, कसरी जाने समस्या परिहालेमा कहाँ सम्पर्क गर्ने, श्रम स्वीकृति लिएर मात्रै जानुपर्ने लगायतका विषयमा परामर्श दिंदै आएको उहाँले बताउनुभयो । टोलटोलमा पुगेर पनि समयसमयमा वैदेशिक रोजगारीमा गएकाको परिवारलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श सञ्जालले दिने गरेको छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker