क्व्होलासोथार, पर्यटन र पसगाउँको संस्कृति

के.बि. मसाल

पर्यटनको क्षेत्रमा पूर्वाधारको विकास र गाउँघरमा होमस्टेको सुबिधाले गर्दा नेपालीहरुमा पनि घुम्ने संस्कृतिको बिकास भएको छ । घुम्ने सस्कृतिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको खोज–अनुसन्धान गर्न पर्यटकहरुको ठूलो योगदान भएको छ । पर्यटनको माध्यमले पुस्तकमा नलेखिएका ग्रामीण दुरदराजमा लुकेर रहेका बिषयहरुको खोज अनुसन्धान भएको छ। पर्यटन भनेको घुम्नु र मनोरञ्जन लिनुमात्र होइन । खोज अनुसन्धानबाट पर्यटकले सस्कृति, भूगोल, इतिहास र अन्य बिविध बिषयको ज्ञान हासिल गर्न सक्दछन् । एउटा भनाइ छ सुनेको भन्दा देखेको कुरा सत्य हुन्छ । आफ्नै आखाँले देखेर पाइने ज्ञान र शिक्षा लिनको लागि घुम्न पर्दछ ।

लमजुङको क्व्होलासोथार गाउँपालिकामा बाग्लुङपानी, मालिङ, उत्तरकन्या, भुजुङ, सिङदी, पसगाउँ, भोजे, घाम्राङ र गिलुङ समेत ९ वाडमा बिभाजन भएको छ । पर्यटनको लागि यी सबै गाउँहरु प्राकृतिक सुन्दरताले पर्यटकहरु लोभिन्छन । क्व्होलासोथारमा हिमाली श्रृंखलाको आकर्षण, आरोहणको एडभेन्चर्स मात्र नभएर प्राकृतिक सौन्दर्यका दृष्टिकोणले पनि पर्यटनका लागि क्व्होलासोथार भित्रका गाउँहरुमा रमणीय छन । तर ऐतिहासिक र पुरातात्विक सम्पदाका क्व्होलासोथार भित्रका धेरै गाउँ ठाउ विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्नको लागि पुरातत्व बिभागको खोज अनुसन्धान भएको छैन ।

केही वर्ष यता क्व्होलासोथारका गाउँहरुलाई मोटरमार्गले जोडेपछि दुर्गम ठाउँ पनि सुगम जस्तो भएको छ । क्व्होलासोथारका दुर दराजका गाउँमा पनि खोज अनुसन्धान गर्नका लागि पर्यटकहरु पुग्न थालेका छन । गुरुङ र घले जातीको बाहुल्यता भएको क्व्होलासोथारका गाउँहरु पर्यटनको बिकासमा लागेका छन । गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले क्व्होलासोथरका सबै गाउँहरु पर्यटनका लागि रमणिय छन ।

क्व्होलासोथर गुरुङ भाषाको शब्द हो । यसको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको आदिम थलो । इतिहास खोज्ने हो भने अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणी काखमा रहेको क्व्होलासोथरमा करीब १२ सय वर्ष अघि शिकार खेल्ने क्रममा गुरुङ समुदाय आएको मानिन्छ । क्व्होलासोँथरको घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरु भेटिदैन । तर पनि क्व्होलासोथरको घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ । वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए । कालान्तरमा उनका सन्तानहरु क्होंल, ख्होल क्होंल र पोंचोंको कोइम्लीनासाका राजा भए । घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन भने अन्तिम राजा क्याल्पोेरुजाक्ले थिए ।

गुरुङ भाषामा घलेगाउँलाई कोइम्ली, घलेलाई ल्के, राजालाई म्रु र राज्यलाई ख्याल्सा भनिन्छ । घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमा सहित घलेपार्क बनाइएको छ । घले राजाले त्यो बेला आफ्नो राज्यको नाम लमचुँ र राजसभाको नाम नालछोज नामकरण गरेका थिए भने मन्त्रीलाई ख्याल भन्ने पद दिएका थिए। घले राजाले त्योबेला राज्य सन्चालन गर्न राज्यलाई पाचँ क्षेत्रमा बिभाजन गरेका थिए। भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा यी सबै गाउँहरुलाई १० थर नाम राखिएको थियो। घलेगाउँ राजधानी र १० थर गाउँको नालछोँज हुने स्थान कपुर गाउँ थियो । हाल नालछोँज हुने ठाउ कोक्यु बजारको नामबाट परिचित छ। घले राजाले स्थापना गरेको नालछोंजको उद्देश्य समानताको आधारमा आधारित थियो। नालछोंजमा विशेष गरेर जग्गा जमिन, खोरिया, भीर, पाखा, खोला, नाला, वन, जंगल, बाटो, घाटो, चौतारी, ठाँटी, पौवा, खर्क, गौचरन, साँध, सीमाना, थिति बन्देज, रीतिरिवाज, चाडपर्व, संस्कृति, संस्कार आदिको बारेमा छलफल गरेर थिति बाँध्ने गरिन्थो ।

स्याङजाको सिरुबारीबाट सुरु भएको होमस्टे २०५६ सालबाट क्व्होलासोथारको घलेगाउँमा होमस्टे सुरु भएको होरु। घलेगाउँले होमस्टे सुरु गरेपछि लमजुङमा होमस्टेको लहर चल्न थाल्यो । क्व्होलासोथारको प्राय सबै गाउँमा पर्यटकहरुका लागि होमस्टेको सुबिधा छ। तर प्रचार प्रशारको कमिले गर्दा घले गाउँमा भन्दा अन्य गाउँमा पर्यटकहरु कमै पुग्ने गर्दछन । क्व्होलासोथारका धेरै गाउँ ठाउहरुको नाम पनि गुरुङ भाषामा रहेको छ । पैकों नासा अर्थात पसगाउँ। क्व्होलासोथार गाउँपालिका वडा ६ मा पर्दछ । पसगाउँ अन्नपूर्ण हिम श्रृंखलाको लमजुङ हिमालको काखमा पर्दछ । पसगाउँ पर्यटनका लागि अत्यन्तै सुन्दर गाउँ हो। पसगाउँमा पुग्ने पर्यटकहरुले गुरुङ संस्कृति, प्राकृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक आदि अध्यन गर्न सक्दछन । आजभोली प्रकृतिमा रम्न र गुरुङ सस्कृतिमा अध्यन गर्न खोज्ने पर्यटकहरु पसगाउँमा पुग्दछन । पर्यटकहरु पसगाउँको मनमोहक प्राकृतिक छटा, वनजंगल, पाखा पखेरा, खोला नाला, चराचुरुङ्गी, जंगली जनवार र गुरुङ संस्कार संस्कृतिमा सिंगारिएको रहनसहन र होमस्टेको आतिथ्यमा रमाउँछन । पसगाउँको शिरमा क्होंमे्रडाडा रहेको छ । जहाँबाट पर्यटकहरुले अन्नपूर्ण हिमश्रृंखला आँखैमा ठोक्किन आएको अनुभव गर्दछन ।

पसगाउँ समुद्री सतहदेखि १ हजार ६३० मिटरको उचाइमा पर्दछ । पसगाउँको क्होंमे्रडाडा प्रकृतिक भ्युटावर हो भन्दा पनि हुन्छ । पर्यटकहरुले पसगाउँ देखि नागवेली भएर बग्ने रुदी खोला, करापुटार, भोर्लेटार, पोल्याङटार, रम्घाटार र कास्कीको मादी गाउँपालिकाको धेरै गाउँ ठाउहरु अवलोकन गर्न सक्दछन । पसगाउँमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्होम्रेडाँडा, खुमेराडाँडा, क्यूबीडाँडा, लहेदेडाँडा, पलेंडाँडालागयतका ठाउँ छन । अर्को तर्फ सिल्दु पूजा, छेदुवा पूजा, क्होम्रे देवी पूजा, भवानी पूजा लगायत परम्परागत प्राकृतिक पूजास्थलहरु समेत रहेका छन। प्राकृतिक शिव लिंग, शँख बज्ने ढुंगालगायत ऐतिहासिक वस्तुहरु समेतले पसगाउँमा पर्यटकहरुलाई आकर्षण गर्दछ ।

पसगाउँमा परम्परागत रहनसहन ढुङ्गा र टिनका छाना भएका घर मात्र होइन कतै घुमाउने घर पनि छन । गाउँको बीचमा इतिहास बोकेको ठाँटी छ । पर्यटकले पसगाउँमा पुराना घरहरुको फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन। पसगाउँमा पर्यटकहरु भित्राउन २०६० देखि महोत्सव गर्दै आएका छन। क्होम्रेडाँडालाई पर्यटकीय स्थल बनाउन गाउँपालिका र भूपू सैनिकहरु लागेका छन । पसगाउँमा सञ्चालित होमस्टेले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पु¥याएको छ। होमस्टेले गाउँमा लोप हुने अवस्थामा पुगेका कला र संस्कृतिको संरक्षण हुन थालेको छ । पसगाउँको सति घाँटु अन्य गाउँको भन्दा मौलिक मानिन्छ । पसगाउँको मौलिक संस्कृति कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटुजस्ता लोपोन्मुख नृत्यहरुको संरक्षण भएको छ ।

पसगाउँलाई गुरुङ भाषामा पैगो नासा भनिन्छ । गाउँमा पुग्ने पर्यटकहरुले पसगाउँको इतिहास जान्न खोज्दछन । क्व्होलासोथारमा घले राजा विस्थापित भएपछि कोही सिक्लेस, कोही घनपोखरा र कोही इलमपोखरी बसाई सरेको इतिहास छ। त्यो बेलामा सिक्लेसको नोल्गी पुगेको पसगाउँको म्हिगिलामाको पुर्खाहरु तप्रो, मजे नजिकैको लुजे र नजिकको नोडामा फर्केका थिए। त्यो डाँडामा म्रुघिं राजाको दरवार अर्थात तप्रो समेत रहेको थियो । जुन ठाउँहरुको भग्नावशेष अझै पनि पर्यटकहरुले देख्न सक्दछन। त्यसको दक्षिणी भेकबाट निस्के पानीको मुल रुदी खोलाको पानीको प्रमुख स्रोत हो। म्रुघि अर्थात राजाको दरवारको नजिकबाट बग्ने भएकोले यो खोला म्रुघि खोला भन्दाभन्दै रुदि खोला भएको जनश्रुती रहेको छ । अर्को तर्फ काठबाट निमार्ण भएको टाँडलाई गुरुङ भाषामा पोंगु भन्छन। पसगाउँ ३५० बर्ष अगाडीदेखि वस्ति बसेका गाउँ हो । सुरुमा बस्ति बस्दा गाउँलेहरुले खोरिया फाडेर बस्ति बसालेका थिए । त्यो बेला जगंली जनवारलाई धपाउन काठको मचन अर्थात टाड बनाएर बस्ने ठाउँ हुनाले पाँगु भनिएको हो । पछि बोल्दै जादा पाँगु भन्ने शब्दबाट पैगो हुन गएको जनश्रुती छ ।

गाउँको बीचमा रहेको पाँगु नै अहिलेको ठाँटी हो । पसगाउँको इतिहास ठाँटीसंग जोडिएको छ। पहिले पसगाउँ ठाँटी ग्राम पञ्चायत थियो । पसगाउँ डाँडा माथि थपक्क बसेको र टाढाबाट हेर्दा तलदेखि माथि डाँडाको फेदसम्म सलक्क देखिने भएकोले यसलाई पसगाउँ भनिएको हो भन्ने तर्क पनि छ । गुरुङको शास्त्र अनुसार पैगु चुब पसगाउँमा बस्ती बसालेको मान्दछन। शिकारी कुकुर हिलो लतपतिएर आएपछि नजिकै अहिलेको पुरानो पानीको पधेरो फेला परेको थियो । यो पानी पनि लगै भन्ने व्यक्तिले शुरुमा पत्ता लगाएको हुनाले यस्को नाम लगै क्यूमरु रहन गएको हो। गुरुङहरु पँधेरालाई क्युमरु भन्छन। पसगाउँमा एउटा ऐतिहासिक ढुङ्गा छ । गाउँबाट कतै टाढा जाँदा यो ढुंगालाई घुमेर पूmल चढाएर जाने गर्छन । जुन कारणले आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहेको छ । पसगाउँमा नास प्रिव गर्दा अर्थात गाउँ वार्ने प्रचलन छ। गाउबार्दा जोत्ने खन्ने, गोडने, ढिकी जाँतो गर्न, वन जंगलमा होहल्ला गर्न, सुसेल्न र जथाभावि फोहोर मैला गर्न हुदैन भन्ने मान्यता छ ।

ठाँटी पसगाउँको मौलिक परिचय हो । पसगाउँको सभा समारोह सबै ठाँटीमा गरिन्छ । गाउँमा हरेक वर्ष भदौ अन्तिम साता भदौ सभा अर्थात भाद्र सभाको आयोजना हुन्छ। यो बेलामा धेरै पर्यटकहरु पसगाउँमा पुग्दछन। सरकारको कानुन हुँदाहुँदै पसगाउँका गाउँलेले आफ्नै कानुन र नियम बनाएको देख्दा पर्यटकहरु रुचि पुर्वक भदौरे सभाको बारेमा जान्न खोज्दछन । पसगाउँको रीतिथिति व्यवस्थापन समितिले गाउँमा सामाजिक,आर्थिक तथा साँस्कृतिक मुल्य मान्यतालाई एकरुपता ल्याउन र बाहिरको हस्तक्षेप रोक्न हरेक वर्ष भदौ सभा गर्दै आएको छ। सभाले समाजमा चोरीडकैती गर्नेलाई जरिवाना गर्ने गरिन्छ ।

गाउँलेले वर्षभरी आफू र आफ्नो परिवारले नीतिनियम तथा ऐन कानुन उल्लंघन नगरेको, कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको र नराम्रो काम नगरेको भनी खुकुरी र पाती राखिएको तामाको ताउलो छोएर कसम खान्छन । सभामा वर्षभरी छिन्न नसकेका गाउँका मुद्दाहरु समेत छिन्ने काम हुन्छ । कानुन गाउँभित्र मात्र होइन बाहिर का मानिस गाउँभित्र पस्नासाथ समेत लागू हुने गर्दछ । पसगाउँमा भदौरे सभाले परम्परागत मुल्य, मान्यता, संस्कार र चालचलनलाई नेपाल सरकारले निर्माण गरेका नीति नियम तथा कानुनसंग नबाझिने गरी कानुन निर्माण गर्दछन । सभाले श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण, गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ लगायतको मुल्य समेत निर्धारण गर्दछ ।

अहिले पदमार्गमा रमाउन खोज्ने पर्यटकहरुलाई पोखरादेखि मनाङ जाने पदमार्ग रोयल गोर्खा ट्रेलको मुख्य प्रस्थानबिन्दु पनि पसगाउँमा पर्दछ । पदमार्ग गुरुङ जातीका पुर्खाहरुले प्रयोग गरेको नुन लिन मनाङ जान, भेडाबाख्रा र गाईभैंसी चरनका लागि लेकबेंशी गर्ने बाटोलाई अहिले पर्यटनका लागि पदमार्ग निर्माण भएको छ । पदमार्गले कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, लमजुङको क्व्होलासोथार र मस्र्याङदी गाउँपालिका हुदै मनाङको तिमाङ लेकमा जोडिन्छ ।

कतिपय पदमार्गमा रमाउने पर्यटकहरु कास्कीको ताङतिङदेखि–करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलोलेक–थुर्जु–दूधपोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै मनाङ जान रुचाउछन । पसगाउँमा पर्यटकहरुलाई खानाबस्नको लागि कुनै समस्या हुदैन । गाउँमा पर्यटकहरुका लागि भनेर होमस्टे सन्चालन छ । होमस्टेमा पर्यटकहरुलाई इच्छा अनुसार अर्गानिक उत्पादन कोदाको ढिँडो, लोकल कुखुरा, गुन्द्रुक र भट्टको अचार, सिस्नुको खोले, आलु, च्याउ, टुसा, कुरिलो, वनतरुल, दूध, दही पर्यटकहरुलाई सत्कारका रुपमा खुवाउने गरिन्छ ।

पसगाउँ जादा पर्यटकहरुले गाउँमै उत्पादन भएको अलैंची र चियाँ पनि कोशिलीको रुपमा ल्याउन सक्दछन । त्यसैगरी भेडा वाख्राको उनबाट तयार गरिएको राडी, कम्मल, बख्खु र अल्लोबाट तयार भएका थैलो, बोरो, भांग्रा पनि खरिद गर्न सक्दछन । पसगाउँमा दार प्रजातिको काठबाट तयार भएको ठेका र रक्सी राख्न प्रयोग गरिने टुवा र रक्सी खाँदा प्रयोग गरिने पुची पनि पाइन्छ ।

पसगाउँ कसरी पुग्ने ?

पसगाउँ जानको लागि फरक–फरक बाटो छ । मोटर मार्गबाट तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ। अर्को तर्फ कास्कीको बेगनास तालबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि सिधै कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ ।

पसगाउँ पोखराबाट ४७ किलोमिटरको दुरीमा पर्छ । बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, भुजुङ सम्म मोटरमा र त्यस पछि पदयात्रा गर्दै पनि पसगाउँ पुग्न सकिन्छ । अर्को बाटो बाग्लुङपानीबाट मालिङ, घाम्राङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker