दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौँ : दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरु ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ ।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याउनुभएको हो । चलचित्रमा भिन्न हरिबहादुरसँग दर्शक परिचित हुने अभिनेता आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, “हरिबहादुरका रुपमा शृङ्खला र मञ्चमा प्रस्तुत भएको छु । यसपटक चलचित्रमा त्यही पात्रलाई ल्याउँदा फरक गरेको छु । यसपटक हरिबहादुरले हँसाउनेसँगै रुवाउँछ पनि । सामाजिक विकृतिलाई उक्त पात्रले व्यङ्ग्य गरेको छ । यसमा पारिवारिकसँगै देशको अवस्थालाई पनि चित्रण गरेका छौँ । ती सब घटनाक्रम हरिबहादुर पात्रमार्फत देखाएका छौँ ।”

उक्त चलचित्रको पटकथा स्वयम् अभिनेता आचार्यले लेख्नुभएको हो । निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित सो चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्माता सन्तोष सेनले निर्देशन गर्नुभएको चलचित्र ‘बलिदान’मा अभिनेता समीर भट्टको अभिनय छ । भट्टले अभिनय गर्नुभएको यो दोस्रो चलचित्र हो । दक्षिण भारतीय चलचित्रझैँ तयार गरिएको यो चलचित्रको कथावस्तु विशेषत द्वन्द्व प्रधान रहेको जनाइएको छ । कथावस्तुभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको उक्त चलचित्रमा ऋचा शर्मा, अर्पण थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्ला वर्षहरूमा चाडपर्वमा नेपाली चलचित्र दर्शकको रोजाइमा पर्दै आएका छन् । खासगरी पारिवारिक र सामाजिक विषय केन्द्रित चलचित्रमा दर्शकको बाक्लो उपस्थिति देखिन्छ । सोही कारण यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुने क्रम बढेको चलचित्र निर्माता तथा नेपाल चलचित्र सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले बताउनुभयो ।

“कथावस्तु राम्रो नहुने हो भने बिदामा पनि चलचित्रको व्यापार कमजोर नै भएको पाइन्छ । तर, दर्शकले चलचित्र राम्रो छ भने प्रचार गर्ने गरी मन परेमा त्यसको व्यापार सामान्य समयभन्दा बिदा भनौँ वा चाडपर्वमा धेरै हुन्छ ”, उहाँले भन्नुभयो ।

उहाँले नेपालमा रहेको ‘मल्टीप्लेक्स’ बाहेकका चलचित्र भवनले शो सङ्ख्या सुरुआती समयमा धान्न कठिनाई देखिए पनि विस्तारै दर्शकको रोजाइअनुसार शो बाँडफाँट हुने बताउनुभयो ।

गत वर्ष दसैँमा प्रदर्शन भएका तीन चलचित्रले ४० करोडको हाराहारीमा व्यापार गरेपछि यो दसैँमा पनि चलचित्रकर्मी हौसिएका छन् ।  रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker