तनहुँमा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

दमौली : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।
सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।
आचार्यले भन्नुभयो, “जिल्लाको कूल क्षेत्रफल एक लाख ५४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन छ । एकाउन्न हजार ५१० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तर सबै ठाउँमा सिँचाइ सुविधा पुग्न सकिरहेको छैन ।”
कार्यालयले गत आव सिँचाइतर्फ चार वटा इन्टेक, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार गरेको आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारमार्फत नदी नियन्त्रणतर्फ ४०० मिटर र प्रदेश सरकारमार्फत १९० मिटर तटबन्धन गरिएको छ । जसकारण १३ हेक्टर जग्गा उकासमा सहयोग पुगेको बताउँदै उहाँले एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरिएको जानकारी दिनुभयो ।
सो वर्ष प्रदेश सरकारमार्फत नदी नियन्त्रणका लागि रु चार करोड ३२ लाख १२ हजार, पहिरो संरक्षणका लागि रु ३३ लाख ८२ हजार, सिँचाइ आयोजना निर्माणका लागि रु आठ करोड ९९ लाख ९१ हजार, आपत्कालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि रु ३२ लाख २८ हजार बजेट खर्च भएको छ ।
कार्यालयले विभिन्न आयोजनामार्फत रोजगारी सिर्जनामा समेत सहयोग पुर्‍याएको छ । कार्यालय प्रमुख आचार्यका अनुसार घिरिङ गाउँपालिका–३ स्थित फदुवा छबिसे सिँचाइ आयोजनामा २५, घिरिङ गाउँपालिका–१ स्थित गडीझौरीटार सिँचाइ आयोजनामा ४०, म्याग्दे गाउँपालिका–७ स्थित रानीटारी सिँचाइ आयोजनामा १५, ऋषिङ गाउँपालिका–४ स्थित मनादी खोला भिरकोट सिँचाइ आयोजनामा २५ र व्यास नगरपालिका–६ स्थित मदीखोला ठूलोकुलो मर्मत कार्यमा २० जनाले रोजगारी पाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker