२३ लाख ८० हजार किसान सूचीकृत

काठमाडौँ : किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ ।

किसानलाई सूचीकृत गरी उहाँहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जिव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ ।

विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ । “विसं २०७८ को जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले पनि उहाँहरूलाई समेट्ने योजना बनाएको हो । कार्यक्रम सम्पन्न हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्छ”, उहाँले भन्नुभयो ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो । किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानहरूलाई आग्रह गर्नुभयो । किसानको पहिचान नभएसम्म उहाँहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker