भिमाद नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार समृद्धिको आधार

भिमाद : नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन, सेवा प्रवाह र विकास निर्माणका अधिकांश जिम्मेवारी स्थानीय तहले नै वहन गर्नुपर्ने व्यवस्था छ। यही सन्दर्भमा स्थानीय तहले सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रमले आगामी वर्षको विकासको दिशा, प्राथमिकता र सोचलाई प्रतिबिम्बित गर्दछ ।
भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले ‘समृद्ध भिमादको आधारः आर्थिक, सामाजिक विकास र दिगो पूर्वाधार’ भन्ने मूल सोचलाई आत्मसात् गरेको छ । नगर प्रमुख दधिराज सुवेदीले नगरसभाको २२औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, सुशासन, सामाजिक विकास तथा रोजगार सिर्जनालाई विकासका प्रमुख आधारका रूपमा अघि सारेको छ ।
नीति तथा कार्यक्रममा नगरपालिकाले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नराखी आर्थिक उत्पादन, मानव विकास र सामाजिक समावेशीकरणसँग जोड्ने प्रयास गरेको छ । प्राथमिकताका क्षेत्रहरूमा दिगो तथा गुणस्तरीय पूर्वाधार, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, खानेपानी, पर्यटन, वातावरण संरक्षण, वित्तीय सुशासन र रोजगारीलाई स्पष्ट रूपमा समेट्न खोजिएको नगरप्रमुख सुवेदीले जानकारी गराए ।

कृषिः आर्थिक समृद्धिको मेरुदण्ड

भिमादको अर्थतन्त्रको आधार कृषि नै हो । नगरपालिकाले पनि यस यथार्थलाई आत्मसात् गर्दै कृषि क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको देखिन्छ । कृषि आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई जोड दिँदै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने रणनीति लिइएको छ । æस्थानीय उत्पादन हाट बजारमा सम्मानÆ अभियान सञ्चालन गरी कृषकले उत्पादन गरेको वस्तुलाई स्थानीय बजारमै खपत गराउने योजना अघि सारिएको छ ।
नीति तथा कार्यक्रममा सुन्तला, एभोकाडो, ड्रागन फ्रुट, कागती, कफी, अदुवा, बेसार, अकबरे खुर्सानी तथा लसुनजस्ता उच्च मूल्यका बालीको पकेट क्षेत्र विकास गर्ने उल्लेख छ ।
यसले नगरपालिकाले परम्परागत खेतीबाट व्यावसायिक तथा नगदे बालीतर्फ कृषकलाई आकर्षित गर्न खोजेको संकेत गर्छ। पछिल्लो समय गाउँमा श्रमशक्ति अभाव, उत्पादन लागत वृद्धि र बजारको अनिश्चितताका कारण कृषक निरुत्साहित भइरहेका बेला यस्तो नीति सकारात्मक देखिन्छ ।
कृषिमा माटो परीक्षण, उन्नत बीउ, कृषि उपकरण, हाते ट्याक्टर पुनःप्रयोग, मौरीपालन, रैथाने बाली संरक्षण तथा जैविक खेती प्रवद्र्धनका कार्यक्रमले उत्पादन वृद्धि मात्र होइन, गुणस्तरीय उत्पादनलाई पनि जोड दिएको देखिन्छ ।

पशुपालन : आत्मनिर्भरताको अभियान

नगरपालिकाले पशुपालनलाई कृषिको सहायक क्षेत्र नभई आयआर्जनको प्रमुख आधारका रूपमा हेरेको छ । दूध, मासु र अण्डामा आत्मनिर्भर बन्ने लक्ष्यसहित उन्नत जातका पशुपालन, कृत्रिम गर्भाधान, नमुना फार्म, भैँसी प्रवद्र्धन तथा डेरी उद्योगलाई निरन्तरता दिने कार्यक्रम राखिएको छ ।
विशेषगरी डेरीसहितको साइलेज उद्योगलाई निरन्तरता दिने नीति महत्वपूर्ण छ । यसले पशुपालनलाई बजारसँग जोड्ने र कृषकको आय स्थिर बनाउन सहयोग पुग्न सक्छ । पशु बीमा, बाँझोपन निवारण शिविर तथा रेबिज नियन्त्रण कार्यक्रमले पशु स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको देखिन्छ ।

शिक्षाः गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको लक्ष्य

कुनै पनि समाजको दीर्घकालीन विकास शिक्षा बिना सम्भव हुँदैन । भिमाद नगरपालिकाले शिक्षा क्षेत्रलाई अत्यन्त महत्वका साथ अगाडि बढाएको देखिन्छ। नीति तथा कार्यक्रममा समावेशी, गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षाको सुनिश्चिततामा जोड दिइएको छ । विपन्न, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सामुदायिक विद्यालयलाई बालमैत्री विद्यालयका रूपमा विकास गर्ने, स्मार्ट कक्षा सञ्चालन गर्ने, डिजिटल सिकाइ सामग्री उपलब्ध गराउने तथा सूचना प्रविधिमा आधारित शिक्षण प्रणाली विकास गर्ने योजना निकै महत्वाकांक्षी देखिन्छ ।
स्थानीय पाठ्यक्रमलाई पनि नगरपालिकाले विशेष महत्व दिएको छ । æमेरो भिमादÆ स्थानीय पाठ्यक्रमका लागि पाठ्यपुस्तक निर्माण गर्ने कार्यक्रमले स्थानीय इतिहास, संस्कृति, कृषि, पर्यटन तथा पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने प्रयास गरेको छ ।
विद्यालयको गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने, शिक्षकको मूल्याङ्कन विद्यार्थीको सिकाइ उपलब्धिसँग जोड्ने तथा विद्यालय स्तरीकरण कार्यक्रम सञ्चालन गर्ने नीति स्थानीय तहमा शिक्षामा उत्तरदायित्व बढाउने प्रयासका रूपमा लिन सकिन्छ ।

स्वास्थ्य : अस्पतालदेखि मानसिक स्वास्थ्यसम्म

स्वास्थ्य क्षेत्र भिमाद नगरपालिकाको अर्को प्रमुख प्राथमिकता हो । नगरपालिकाले निर्माणाधीन १५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । स्थानीय तहमा अस्पताल सञ्चालन हुनु भनेको नागरिकले सामान्य उपचारका लागि जिल्ला वा प्रदेश केन्द्र धाउनुपर्ने बाध्यता कम हुनु हो । यसले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार ल्याउन सक्छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक स्वास्थ्य समस्यामा रहेका नागरिकलाई लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । ग्रामीण अल्ट्रासाउन्ड सेवा, निःशुल्क एम्बुलेन्स सेवा, बर्थिङ सेन्टर सुदृढीकरण, किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था तथा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
विशेष रूपमा मानसिक स्वास्थ्यलाई नीति तथा कार्यक्रममा स्थान दिइनु उल्लेखनीय पक्ष हो। वैदेशिक रोजगारी, सामाजिक परिवर्तन र जीवनशैलीका कारण बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न नगरपालिकाले मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाएको छ ।

आयुर्वेद र स्वस्थ जीवनशैली

पछिल्लो समय नसर्ने रोग बढिरहेका बेला नगरपालिकाले आयुर्वेद, योग, ध्यान र स्वस्थ जीवनशैलीलाई प्राथमिकतामा राखेको छ । नागरिक आरोग्य क्लिनिक विस्तार, टोल–टोलमा आरोग्य अभियान, तनाव व्यवस्थापन तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिने नीति सकारात्मक देखिन्छ । यसले उपचारभन्दा रोकथाममा आधारित स्वास्थ्य प्रणाली विकास गर्ने सोचलाई प्रतिबिम्बित गर्छ ।

खानेपानी : आधारभूत आवश्यकताको सुनिश्चितता

खानेपानी नागरिकको आधारभूत अधिकार हो। भिमाद नगरपालिकाले æएक घर एक धाराÆ अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ । खानेपानी आयोजना बैंक निर्माण, स्रोत संरक्षण, पानीको गुणस्तर परीक्षण तथा विद्यालय र सार्वजनिक स्थानमा शुद्ध खानेपानीको व्यवस्था गर्ने कार्यक्रमले दीर्घकालीन समाधान खोजेको देखिन्छ ।

पर्यटन क्षेत्रबाट सम्भावनालाई अवसरमा बदल्ने प्रयास

भिमाद क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। नगरपालिकाले पर्यटन गुरुयोजनालाई कार्यान्वयन गर्दै ऐतिहासिक तथा प्राकृतिक पदमार्गहरूको पहिचान, नक्साङ्कन र पूर्वाधार विकास गर्ने नीति लिएको छ। यदि पर्यटनलाई कृषि, संस्कृति र स्थानीय उत्पादनसँग जोड्न सकियो भने यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा ठूलो योगदान पु¥याउन सक्छ ।

रोजगार र उद्यमशीलता

भिमादले वैदेशिक रोजगारीमा निर्भरता कम गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम, उद्यम विकास तथा विदेशबाट फर्किएका युवालाई उद्यम स्थापना गर्न सहजीकरण गर्ने योजना समावेश गरिएको छ। त्यसैगरी लगानी सम्मेलन आयोजना गर्ने तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न सार्वजनिक–निजी साझेदारी ऐन लागू गर्ने घोषणा गरिएको छ ।

सामाजिक समावेशीकरणः सबैलाई समेट्ने प्रयास

नीति तथा कार्यक्रममा महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायलाई लक्षित कार्यक्रम समावेश गरिएको छ । बालमैत्री वडा, बालश्रममुक्त वडा, बाल संरक्षण प्रणाली, लैङ्गिक समानता, नेतृत्व विकास तथा सामाजिक समावेशीकरण परीक्षण जस्ता कार्यक्रमले समावेशी विकासको अवधारणालाई बल दिएका छन्।

सुशासन र डिजिटल प्रशासन

नगरपालिकाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रणालीलाई प्राथमिकता दिएको छ । एकीकृत हाजिरी प्रणाली, डिजिटल अभिलेखीकरण, कर व्यवस्थापन तथा पेपरलेस स्वास्थ्य सेवा जस्ता कार्यक्रमले आधुनिक स्थानीय प्रशासनको संकेत गर्छ ।

पूर्वाधार विकासः विकासको आधार

नगरपालिकाले दिगो तथा गुणस्तरीय भौतिक पूर्वाधारलाई विकासको पहिलो प्राथमिकता मानेको छ । सडक, पुल, खानेपानी, सिंचाइ, सार्वजनिक भवन तथा सेवा केन्द्रहरूको विस्तारलाई निरन्तरता दिने नीति लिइएको छ । विकासका अन्य सबै क्षेत्रको सफलता पूर्वाधारसँग प्रत्यक्ष जोडिने भएकाले यो प्राथमिकता स्वाभाविक पनि देखिन्छ ।

कार्यान्वयन नै सफलता मापनको आधार

भिमादको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, रोजगार र पूर्वाधार विकासलाई सन्तुलित रूपमा समेट्ने प्रयास गरिएको देखिन्छ । विशेषगरी कृषि व्यवसायीकरण, नगर अस्पताल सञ्चालन, डिजिटल शिक्षा, मानसिक स्वास्थ्य, आयुर्वेद सेवा र पर्यटन प्रवर्द्धनका कार्यक्रम भविष्यमुखी छन् ।
तर नीति र कार्यक्रम जति राम्रो भए पनि त्यसको सफलता कार्यान्वयनमा निर्भर रहन्छ । विगतमा वित्तीय हस्तान्तरणमा आएको समस्या, सीमित स्रोत–साधन र बढ्दो जनअपेक्षा स्थानीय तहका चुनौती हुन् । नगरपालिकाले स्वयं चालु आर्थिक वर्षमा वित्तीय हस्तान्तरणको समस्या रहेको स्वीकार गरेको छ ।
त्यसैले आगामी वर्ष भिमाद नगरपालिकाका लागि केवल योजना घोषणा गर्ने वर्ष होइन, ती योजनालाई परिणाममा रूपान्तरण गर्ने परीक्षा पनि हुनेछ । यदि प्रस्तुत नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने भिमादले आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय फड्को मार्न सक्ने सम्भावना देखिन्छ । यही कारणले यो नीति तथा कार्यक्रमलाई समृद्ध भिमाद निर्माणको मार्गचित्रका रूपमा लिन सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker