चैते धानमा तनहुँको जोड : ८८६.५६ मेट्रिक टन उत्पादन, बीउदेखि सिँचाइ र यान्त्रिकीकरणसम्म सहयोग

तनहुँ : वर्षे धानमा निर्भर तनहुँको कृषि प्रणालीमा चैते धानलाई समेत उत्पादनको महत्वपूर्ण आधार बनाउने प्रयास थालिएको छ । गत आर्थिक वर्ष कृषि विकास कार्यालय तनहुँले चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि र खेतीमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले सञ्चालन गरेको प्रवर्द्धन कार्यक्रमबाट जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ ।

कार्यालयका अनुसार उक्त क्षेत्रफलबाट करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको छ । एउटै खेतबाट वर्षमा थप उत्पादन लिन सकिने सम्भावनालाई उपयोग गर्दै कार्यालयले सिँचाइ सुविधा भएका तथा चैते धानका लागि उपयुक्त क्षेत्र पहिचान गरी खेती विस्तारमा जोड दिएको हो ।

चैते धान प्रवर्द्धन कार्यक्रमका लागि गत आर्थिक वर्ष रु ९५ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये रु ८७ लाख ९७ हजार खर्च भएको कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको प्राथमिकता खेती विस्तारसँगै किसानलाई उत्पादन सामग्री, उन्नत बीउ, कृषि यन्त्र र सिँचाइ पूर्वाधारमा सहयोग पु¥याउने रहेको छ ।

चैते धान खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले १३ वटा कृषक समूह तथा कृषि सहकारीमार्फत विभिन्न सामग्री तथा यन्त्र उपकरणमा अनुदान उपलब्ध गराएको छ । कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको थियो ।

धान उत्पादनमा श्रम तथा लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरणलाई समेत कार्यक्रमसँग जोडिएको छ । किसानलाई दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीनवटा डिजिटल तराजु, १३ वटा कम्बाइन मिल, छवटा स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

रोपाइँदेखि कटानी र प्रशोधनसम्मका काममा यन्त्रको प्रयोग बढाउन सके उत्पादन लागत घट्नुका साथै श्रमिकको अभावका कारण खेतीमा देखिने समस्या पनि कम गर्न सकिने कार्यालयको अपेक्षा छ । प्रमुख अधिकारीका अनुसार किसानको आवश्यकता र खेतीको चरणअनुसार उपयोग हुने उपकरण उपलब्ध गराइएको हो ।

चैते धान खेती विस्तारका लागि भने सिँचाइ सबैभन्दा महत्वपूर्ण पूर्वाधारमध्ये एक बनेको छ । वर्षायाममा हुने धान खेतीको तुलनामा चैते धानका लागि नियमित सिँचाइ आवश्यक पर्ने भएकाले कार्यालयले उत्पादन सामग्रीसँगै सिँचाइ पूर्वाधार निर्माणमा पनि लगानी गरेको हो ।

कार्यक्रमअन्तर्गत दुई हजार तीन मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ । उक्त कुलो निर्माणपछि करिब १२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको कार्यालय प्रमुख अधिकारीले बताए। सिँचाइको पहुँच बढेपछि चैते धान खेती गर्न चाहने किसानका लागि थप क्षेत्र उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट जिल्लाका ५७६ जना किसान लाभान्वित भएका छन् । लाभान्वितमध्ये ३०१ जना महिला र २७५ जना पुरुष रहेका छन् । यसले चैते धान प्रवद्र्धन कार्यक्रम खेती क्षेत्र विस्तारमा मात्र सीमित नभई स्थानीय किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने प्रयासका रूपमा अघि बढेको देखाउँछ ।

कृषि विकास कार्यालयले चैते धानलाई वर्षे धानको प्रतिस्थापनका रूपमा मात्र हेरेको छैन । एउटै खेतबाट वर्षमा थप उत्पादन लिन सकिने सम्भावनालाई उपयोग गर्ने माध्यमका रूपमा पनि यसलाई अघि बढाइएको छ । सिँचाइ सुविधा भएका र खेतीका लागि उपयुक्त क्षेत्रमा चैते धान लगाउन सके किसानको कुल उत्पादन तथा आम्दानी बढाउन सकिने कार्यालयको विश्वास छ ।

तनहुँमा धान मुख्य खाद्यान्न बालीमध्ये एक भए पनि खेतीमा श्रम अभाव, उत्पादन लागत, सिँचाइको समस्या र आधुनिक प्रविधिको सीमित प्रयोगजस्ता चुनौती छन् । यस्तो अवस्थामा चैते धान खेतीसँगै कृषि यान्त्रीकरण र सिँचाइ पूर्वाधारलाई जोडेर अघि बढाइएको कार्यक्रमले उत्पादन प्रणालीलाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ ।

कार्यालयले आगामी दिनमा चैते धान खेतीका लागि सम्भावना भएका थप क्षेत्र पहिचान गरी कार्यक्रम विस्तार गर्ने जनाएको छ । खेती विस्तारसँगै उन्नत बीउको प्रयोग, कृषि यन्त्रको पहुँच र सिँचाइ सुविधा बढाएर उत्पादकत्व वृद्धि गर्ने लक्ष्य कार्यालयको छ ।

चैते धानको क्षेत्रफल मात्र विस्तार गरेर पुग्दैन । उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र किसानले उत्पादनको उचित मूल्य पाउने अवस्था निर्माण गर्न सके मात्र यसको दीर्घकालीन प्रभाव देखिनेछ । त्यसका लागि कृषि विकास कार्यालयले उत्पादनदेखि बजारीकरणसम्मका पक्षलाई क्रमशः जोड्दै लैजानुपर्ने आवश्यकता देखिन्छ ।

हालको कार्यक्रमबाट तीन हजार ८०५ रोपनीमा खेती र ८८६.५६ मेट्रिक टन उत्पादनको आधार तयार भएको छ । आगामी वर्षमा क्षेत्रफल र उत्पादकत्व दुवै बढाउन सके चैते धानले तनहुँको समग्र धान उत्पादनमा थप योगदान पु¥याउन सक्ने देखिन्छ । यसबाट जिल्लाको खाद्यान्न उत्पादन बढाउनुका साथै किसानको आयआर्जनमा समेत प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker