सम्पादकीय – फूल खेती : उज्यालो पर्वसंगै आर्थिक उपार्जनको समेत सम्भावना

तिहार नेपाली समाजको सबैभन्दा उज्यालो र रमाइलो पर्व हो । उज्यालो र फूलको प्रतीकका रूपमा मनाइने यो पर्व केवल धार्मिक वा सांस्कृतिक चाड होइन । यो सामाजिक सद्भाव, स्नेह र सौन्दर्यको प्रतीक पनि हो । काग, कुकुर, गाई र गोरुको पूजा हुँदै पाँच दिनसम्म चल्ने तिहारले प्रकृति, जनावर र मानवबीचको सन्तुलनको सन्देश दिन्छ। यही सन्देशलाई अझ अर्थपूर्ण बनाउन फूलको भूमिका अतुलनीय छ । सयपत्री र मखमलीका मालाले मात्र घर–आँगन झिलिमिली बनाउँदैनन्, ती कृषकका खेत र परिवारमा पनि आयको उज्यालो ल्याउन सक्छन् ।
विगतमा तिहारको समयमा भारतबाट आयातित फूलले नेपाली बजार नै ढाक्ने गरेको थियो। सीमापारका फूलले नेपाली खेतको रङ हराइरहेको जस्तो अनुभूति गराउँथ्यो। तर पछिल्ला वर्षमा परिस्थिति बदलिँदै छ । सरकारले भारतीय फूलमालामा अस्थायी प्रतिबन्ध लगाएको निर्णयले नेपाली फूल उत्पादनलाई नयाँ अवसर दिएको छ । यस निर्णयले तनहुँलगायत देशका विभिन्न जिल्लामा कृषकहरूलाई फूलखेतीतर्फ आकर्षित गरेको छ । स्थानीय पालिकाहरूले अनुदान, प्राविधिक सहयोग र बजार प्रवद्र्धनका कार्यक्रम सुरु गरेपछि फूलखेती अब केवल शौक होइन, आम्दानीको स्रोत बन्न थालेको छ ।

तनहुँका आँबुखैरेनी, बन्दीपुर, म्याग्दे र शुक्लागण्डकीजस्ता पालिकाहरूले फूलखेतीलाई प्राथमिकतामा राखेका छन्। आँबुखैरेनी गाउँपालिकाले सयपत्री र मखमली फूल खेतीलाई व्यवसायिक ढंगले अगाडि बढाएको छ । आमा समूह र युवा कृषकहरूले सामूहिक रूपमा उत्पादन सुरु गरेका छन्। स्थानीयस्तरमै ‘फूल हब’ निर्माण गर्ने योजनाले पालिकाहरूलाई दीर्घकालीन आत्मनिर्भरता तर्फ उन्मुख गराएको छ । यस्तै, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पनि फूलखेतीले गति लिएको छ । केही वर्षअघिसम्म सहर–बजारमा पुग्ने फूल भारत वा तराईबाट आउँथ्यो, अहिले ती फूलहरू तनहुँकै माटोमा फुलेर बजारसम्म पुग्न थालेका छन् । शुक्लागण्डकी नगरपालिकाका केही युवाले व्यवसायिक रूपमा फूलखेती गर्दै नारायणगढ र काठमाडौँसम्म निर्यात गर्न थालेका छन् । कृषकहरूको आत्मविश्वास बढ्नुमा पालिकाको १०० प्रतिशत अनुदानमा बिरुवा वितरण र प्राविधिक सल्लाहको ठूलो योगदान छ । छोटो अवधिमा, थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले फूलखेतीले गाउँमा नयाँ आर्थिक सम्भावना जगाइरहेको छ । महिलाहरू, आमा समूह र युवाहरू यो पेसातर्फ आकर्षित छन्। यसले लैङ्गिक सशक्तिकरण, आत्मनिर्भरता र स्थानीय रोजगारीको सन्देश दिएको छ। विशेषगरी महिलाहरू घरायसी जिम्मेवारीसँगै व्यावसायिक उद्यममा जोडिन थालेका छन्, जसले ग्रामीण अर्थतन्त्रमा नयाँ जीवनशक्ति भरेको छ ।

तर, चुनौतीहरू पनि कम छैनन् । भारतको तुलनामा नेपालमा उत्पादन लागत अझै उच्च छ। बीउ, मल, प्राविधिक जनशक्ति र भण्डारण सुविधाको अभावले उत्पादन महँगो पर्छ। बजार व्यवस्थापन र वितरण प्रणाली अझै व्यवस्थित छैन। तिहारको जस्तो छोटो अवधिमा फूलको माग अत्यधिक हुने भएकाले ढुवानी, भण्डारण र मूल्य निर्धारणमा स्पष्ट नीति आवश्यक छ। धेरैजसो किसानले उत्पादन त गर्छन्, तर बजारसम्म सहज पहुँच नपाउँदा मुनाफा बिचौलियाको हातमा पुग्छ । यही कारण अब सरकार र स्थानीय तहले फूलखेतीलाई केवल तिहारमा सीमित चाडपर्व व्यवसाय होइन, वार्षिक आयस्रोतको रूपमा रूपान्तरण गर्नुपर्छ। उत्पादन, संकलन, प्रशोधन र वितरणसम्मको सम्पूर्ण श्रृंखला व्यवस्थापन गरेर फूल उद्योगलाई दिगो रूपमा विस्तार गर्न सकिन्छ । जलवायु र भौगोलिक दृष्टिले नेपालको मध्यम पहाडी क्षेत्र फूलखेतीका लागि अत्यन्त उपयुक्त छ । यदि नीतिगत रूपमा प्रवर्द्धन गरियो भने नेपाल फूल आयात गर्ने होइन, निर्यात गर्ने देश बन्न सक्छ ।
फूल आयातमै प्रत्येक वर्ष करोडौँ रुपैयाँ भारत जान्छ । त्यो रकम देशमै रहन सकेको खण्डमा हजारौं कृषक परिवारको जीविकोपार्जन सहज हुन्थ्यो । अहिले पालिकाहरूले सुरु गरेका साना कार्यक्रमहरू उत्साहजनक छन्, तर ती दीर्घकालीन हुनुपर्छ । पालिकाले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरेर फूल बजार केन्द्र स्थापना गर्न सक्छन्। फूलखेती गर्ने कृषकका लागि चिस्यान भण्डारण गृह, बीउ संकलन केन्द्र र बिक्री काउण्टर सञ्चालन गर्न सकेमा उत्पादन र बजारबीचको दूरी घट्छ । त्यस्तै, कृषि तालिम केन्द्रहरूले फूलखेतीमा प्राविधिक दक्षता विकास गर्न विशेष तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ। किसानले फूलको सही प्रजाति छनोट, रोपाइँदेखि फुलाउने समय व्यवस्थापन, मल–सिंचाइ र रोगनियन्त्रणको ज्ञान पाए भने उत्पादन लागत घट्न सक्छ। यसका साथै, निजी क्षेत्रलाई पनि फूल व्यवसायमा लगानी गर्न प्रोत्साहन दिइनु जरुरी छ ।

तिहारले हामीलाई उज्यालो र आशाको सन्देश दिन्छ। यही उज्यालो अब फूल आत्मनिर्भरता र ग्रामीण समृद्धितर्फ विस्तार हुनुपर्छ। जब हामी आफ्नै खेतमा फुलेका सयपत्री र मखमलीले घर सजाउँछौं, त्यो केवल सौन्दर्य होइन, आत्मनिर्भर अर्थतन्त्रको संकेत हो। विदेशबाट फूल किन्नु र नेपाली कृषकको माटोमा उब्जेको फूललाई बेवास्ता गर्नु हाम्रो आर्थिक कमजोरी हो।
अब आवश्यक छ– नीति, योजना र व्यवहारको समन्वय। सरकारले तिहारजस्तो पर्वलाई अवसरका रूपमा प्रयोग गर्दै फूलखेतीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । स्थानीय तहले अनुदान, तालिम र बजार प्रबर्द्धनलाई निरन्तरता दिनुपर्छ । विद्यालय, मन्दिर र सरकारी कार्यक्रमहरूमा स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको माटोमा फुलेको सयपत्री केवल गन्ध र रङ होइन– त्यो आत्मनिर्भरता, श्रमको सम्मान र आशाको प्रतीक हो। जब नेपालीहरूले आफ्नै माटोमा फुलेका फूलको माला लगाएर दाजुभाइ र दिदीबहिनीबीचको स्नेह बाँड्छन्, त्यो क्षण साँच्चिकै उज्यालो र गर्वको हुनेछ । त्यसैले, यो तिहारमा उज्यालो मात्र होइन, फूल आत्मनिर्भरताको उज्यालो पनि फैलाऔँ ।











