सम्पादकीय – फूल खेती : उज्यालो पर्वसंगै आर्थिक उपार्जनको समेत सम्भावना

तिहार नेपाली समाजको सबैभन्दा उज्यालो र रमाइलो पर्व हो । उज्यालो र फूलको प्रतीकका रूपमा मनाइने यो पर्व केवल धार्मिक वा सांस्कृतिक चाड होइन । यो सामाजिक सद्भाव, स्नेह र सौन्दर्यको प्रतीक पनि हो । काग, कुकुर, गाई र गोरुको पूजा हुँदै पाँच दिनसम्म चल्ने तिहारले प्रकृति, जनावर र मानवबीचको सन्तुलनको सन्देश दिन्छ। यही सन्देशलाई अझ अर्थपूर्ण बनाउन फूलको भूमिका अतुलनीय छ । सयपत्री र मखमलीका मालाले मात्र घर–आँगन झिलिमिली बनाउँदैनन्, ती कृषकका खेत र परिवारमा पनि आयको उज्यालो ल्याउन सक्छन् ।

विगतमा तिहारको समयमा भारतबाट आयातित फूलले नेपाली बजार नै ढाक्ने गरेको थियो। सीमापारका फूलले नेपाली खेतको रङ हराइरहेको जस्तो अनुभूति गराउँथ्यो। तर पछिल्ला वर्षमा परिस्थिति बदलिँदै छ । सरकारले भारतीय फूलमालामा अस्थायी प्रतिबन्ध लगाएको निर्णयले नेपाली फूल उत्पादनलाई नयाँ अवसर दिएको छ । यस निर्णयले तनहुँलगायत देशका विभिन्न जिल्लामा कृषकहरूलाई फूलखेतीतर्फ आकर्षित गरेको छ । स्थानीय पालिकाहरूले अनुदान, प्राविधिक सहयोग र बजार प्रवद्र्धनका कार्यक्रम सुरु गरेपछि फूलखेती अब केवल शौक होइन, आम्दानीको स्रोत बन्न थालेको छ ।

तनहुँका आँबुखैरेनी, बन्दीपुर, म्याग्दे र शुक्लागण्डकीजस्ता पालिकाहरूले फूलखेतीलाई प्राथमिकतामा राखेका छन्। आँबुखैरेनी गाउँपालिकाले सयपत्री र मखमली फूल खेतीलाई व्यवसायिक ढंगले अगाडि बढाएको छ । आमा समूह र युवा कृषकहरूले सामूहिक रूपमा उत्पादन सुरु गरेका छन्। स्थानीयस्तरमै ‘फूल हब’ निर्माण गर्ने योजनाले पालिकाहरूलाई दीर्घकालीन आत्मनिर्भरता तर्फ उन्मुख गराएको छ । यस्तै, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पनि फूलखेतीले गति लिएको छ । केही वर्षअघिसम्म सहर–बजारमा पुग्ने फूल भारत वा तराईबाट आउँथ्यो, अहिले ती फूलहरू तनहुँकै माटोमा फुलेर बजारसम्म पुग्न थालेका छन् । शुक्लागण्डकी नगरपालिकाका केही युवाले व्यवसायिक रूपमा फूलखेती गर्दै नारायणगढ र काठमाडौँसम्म निर्यात गर्न थालेका छन् । कृषकहरूको आत्मविश्वास बढ्नुमा पालिकाको १०० प्रतिशत अनुदानमा बिरुवा वितरण र प्राविधिक सल्लाहको ठूलो योगदान छ । छोटो अवधिमा, थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले फूलखेतीले गाउँमा नयाँ आर्थिक सम्भावना जगाइरहेको छ । महिलाहरू, आमा समूह र युवाहरू यो पेसातर्फ आकर्षित छन्। यसले लैङ्गिक सशक्तिकरण, आत्मनिर्भरता र स्थानीय रोजगारीको सन्देश दिएको छ। विशेषगरी महिलाहरू घरायसी जिम्मेवारीसँगै व्यावसायिक उद्यममा जोडिन थालेका छन्, जसले ग्रामीण अर्थतन्त्रमा नयाँ जीवनशक्ति भरेको छ ।

तर, चुनौतीहरू पनि कम छैनन् । भारतको तुलनामा नेपालमा उत्पादन लागत अझै उच्च छ। बीउ, मल, प्राविधिक जनशक्ति र भण्डारण सुविधाको अभावले उत्पादन महँगो पर्छ। बजार व्यवस्थापन र वितरण प्रणाली अझै व्यवस्थित छैन। तिहारको जस्तो छोटो अवधिमा फूलको माग अत्यधिक हुने भएकाले ढुवानी, भण्डारण र मूल्य निर्धारणमा स्पष्ट नीति आवश्यक छ। धेरैजसो किसानले उत्पादन त गर्छन्, तर बजारसम्म सहज पहुँच नपाउँदा मुनाफा बिचौलियाको हातमा पुग्छ । यही कारण अब सरकार र स्थानीय तहले फूलखेतीलाई केवल तिहारमा सीमित चाडपर्व व्यवसाय होइन, वार्षिक आयस्रोतको रूपमा रूपान्तरण गर्नुपर्छ। उत्पादन, संकलन, प्रशोधन र वितरणसम्मको सम्पूर्ण श्रृंखला व्यवस्थापन गरेर फूल उद्योगलाई दिगो रूपमा विस्तार गर्न सकिन्छ । जलवायु र भौगोलिक दृष्टिले नेपालको मध्यम पहाडी क्षेत्र फूलखेतीका लागि अत्यन्त उपयुक्त छ । यदि नीतिगत रूपमा प्रवर्द्धन गरियो भने नेपाल फूल आयात गर्ने होइन, निर्यात गर्ने देश बन्न सक्छ ।

फूल आयातमै प्रत्येक वर्ष करोडौँ रुपैयाँ भारत जान्छ । त्यो रकम देशमै रहन सकेको खण्डमा हजारौं कृषक परिवारको जीविकोपार्जन सहज हुन्थ्यो । अहिले पालिकाहरूले सुरु गरेका साना कार्यक्रमहरू उत्साहजनक छन्, तर ती दीर्घकालीन हुनुपर्छ । पालिकाले सहकारी र निजी क्षेत्रसँग सहकार्य गरेर फूल बजार केन्द्र स्थापना गर्न सक्छन्। फूलखेती गर्ने कृषकका लागि चिस्यान भण्डारण गृह, बीउ संकलन केन्द्र र बिक्री काउण्टर सञ्चालन गर्न सकेमा उत्पादन र बजारबीचको दूरी घट्छ । त्यस्तै, कृषि तालिम केन्द्रहरूले फूलखेतीमा प्राविधिक दक्षता विकास गर्न विशेष तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ। किसानले फूलको सही प्रजाति छनोट, रोपाइँदेखि फुलाउने समय व्यवस्थापन, मल–सिंचाइ र रोगनियन्त्रणको ज्ञान पाए भने उत्पादन लागत घट्न सक्छ। यसका साथै, निजी क्षेत्रलाई पनि फूल व्यवसायमा लगानी गर्न प्रोत्साहन दिइनु जरुरी छ ।


तिहारले हामीलाई उज्यालो र आशाको सन्देश दिन्छ। यही उज्यालो अब फूल आत्मनिर्भरता र ग्रामीण समृद्धितर्फ विस्तार हुनुपर्छ। जब हामी आफ्नै खेतमा फुलेका सयपत्री र मखमलीले घर सजाउँछौं, त्यो केवल सौन्दर्य होइन, आत्मनिर्भर अर्थतन्त्रको संकेत हो। विदेशबाट फूल किन्नु र नेपाली कृषकको माटोमा उब्जेको फूललाई बेवास्ता गर्नु हाम्रो आर्थिक कमजोरी हो।

अब आवश्यक छ– नीति, योजना र व्यवहारको समन्वय। सरकारले तिहारजस्तो पर्वलाई अवसरका रूपमा प्रयोग गर्दै फूलखेतीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । स्थानीय तहले अनुदान, तालिम र बजार प्रबर्द्धनलाई निरन्तरता दिनुपर्छ । विद्यालय, मन्दिर र सरकारी कार्यक्रमहरूमा स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको माटोमा फुलेको सयपत्री केवल गन्ध र रङ होइन– त्यो आत्मनिर्भरता, श्रमको सम्मान र आशाको प्रतीक हो। जब नेपालीहरूले आफ्नै माटोमा फुलेका फूलको माला लगाएर दाजुभाइ र दिदीबहिनीबीचको स्नेह बाँड्छन्, त्यो क्षण साँच्चिकै उज्यालो र गर्वको हुनेछ । त्यसैले, यो तिहारमा उज्यालो मात्र होइन, फूल आत्मनिर्भरताको उज्यालो पनि फैलाऔँ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker