पार्टी एकता केका लागि ?
सुरेशकुमार पाण्डे

अहिले दशवटा पार्टीहरूले एकता गर्दै गर्दा, विगतमा भएका पार्टी एकता र ती पार्टीहरूबीच भएका विभाजन र फुटहरू आखिर केका लागि थिए होला ? यो प्रश्न अहिले पनि जनतामाझ अनुत्तरीत बनेको छ । हालको यो दश पार्टीहरूको एकताले क्षणिक रूपमा चुनावी फाइदा त अवश्य दिलाउन सक्छ, तर जनताले गरेको अपेक्षा भने पूरा हुनेछैन । देश र जनताको समस्या समाधानतर्फ ध्यान दिई सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण आजको आवश्यकता बनेको छ ।
कतिपय कम्युनिष्टहरू ओली, प्रचण्ड र माधव नेपाललाई छाडेर नयाँ पार्टी एकताको प्रयासमा छन्। तर प्रश्न उठ्छ– देशका जनताले के चाहन्छन् ? यसको उत्तर कसैसँग छैन ।
के नेपाली जनताले नेताहरूले जे निर्देशन गर्छन् त्यही मान्नुपर्ने हो?
हिजो “नौलो जनवाद”का नाममा जनयुद्ध सञ्चालन गरियो, जसमा १७ हजार होनहार नेपालीले बलिदान दिए। बुर्जुवा संरचना ध्वस्त पार्ने नाममा हजारौँ युवाको भविष्यसँग खेलवाड गरियो, राष्ट्रको सम्पत्ति नष्ट गरियो। तर “नौलो जनवाद”को परिणाम के आयो ? ती नेताहरूले कम्युनिष्टको दोसाला ओढेर नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी धारबाट पतन गराउने भूमिका निभाए ।
हिजो मदन भण्डारीको “जनताको बहुदलीय जनवाद” लाई संशोधनवाद भन्दै सराप्नेहरूले, सत्ताका लागि पछि त्यही सिद्धान्तमा विलय भए । अहिले उनीहरू फेरि माओवादीलाई तिलाञ्जली दिँदै समाजवादको वकालत गर्दैछन्– यो पनि चरम अवसरवाद हो। यदि “समाजवाद” भन्ने मात्रले समाजवादी बन्न सकिने हो भने देश आजसम्म समाजवादी भइसकेको हुन्थ्यो ।
वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनपछि देशमा पहिलो चुनावको तयारी हुँदै थियो। त्यो बेला जनताले आन्दोलन केका लागि गरेका थिए भन्ने बिर्सेर, नेताहरू भागबन्डामा रमाए। प्रतिगामी खतरा देख्दा देख्दै पनि उनीहरू सत्ताको लागि मात्रै चुनावमा केन्द्रित भए । त्यही बेला, २०४७ सालमा, नेपाल कम्युनिष्ट पार्टी (माले) र नेकपा (माक्र्सवादी) मिलेर एमाले बने। पार्टी एकता गलत होइन, तर कुन नियतले एकता भएको हो भन्ने कुरा मूल्याङ्कन हुनुपर्छ ।
वि.सं. २०४८ मा कांग्रेस ठूलो पार्टीको रूपमा उदायो। २०५१ मा मध्यावधि निर्वाचन भयो र पहिलो पटक कम्युनिष्ट सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा देखाप¥यो। मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो। तर २०४७ मा एकता भएको पार्टीभित्र महाकाली सन्धि विवादले दरार ल्यायो। बामदेव गौतमले महाकाली सन्धिलाई राष्ट्रघात भन्दै २०५४ साल फागुन २१ गते अलगिए ।
परिणामस्वरूप, २०५६ सालको आम निर्वाचनमा एमाले दोस्रो दलमा झ¥यो। त्यसपछि २०६९ साल मंसिर ७ गते उपाध्यक्ष अशोक राईले पनि पार्टी विभाजन गरे। पार्टीले गलत कार्यदिशा लिँदा विभाजन अनिवार्य बन्छ र शक्ति क्षीण हुन्छ ।
त्यसै गरी, २०७८ साल भदौ २ गते वरिष्ठ नेता माधवकुमार नेपाल अलग भए। उनीहरूले केपी ओलीमा देखिएको स्वेच्छाचारिता र कार्यशैलीगत मतभेदको विरोध गर्दै अलग्गिए। विगतमा ओलीको अहंकारका कारण देश प्रतिगामी र विदेशी प्रभावमा परेको कुरा जनताले देखिसकेका छन् । २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो। “मदन–आश्रित स्मृति दिवस” को अवसर पारेर भएको त्यो एकताले “नेपाल कम्युनिष्ट पार्टी (नेकपा)” निर्माण ग¥यो। इतिहासमै पहिलोपटक एउटै पार्टीमा दुई अध्यक्षको व्यवस्था भयो– यही व्यवहारले फुटको संकेत पहिले नै दिएको थियो ।
एकता पछि भएको निर्वाचनमा पार्टीले दुईतिहाइ मत प्राप्त ग¥यो, र नेपाल एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट शक्ति बन्न पुग्यो। तर त्यो उपलब्धि उनीहरूलाई पचेन्– दुई वर्ष, नौ महिना र २० दिनपछि पार्टी टुक्रियो। माधव नेपाल फेरि छुट्टै पार्टी बनाए ।
जसले समाजवाद र नौलो जनवादका कुरा गर्छन्, उनीहरू चाहेको भए संसद्मार्फत पनि जनताको पक्षमा ठूला परिवर्तन ल्याउन सक्थे। संघीयता र अन्य नीति सुधार गर्न सक्थे। तर दुईतिहाइको सरकार हुँदाहुँदै पनि उनीहरू आपसमा लडे र आफ्नै सरकार ढालेर देशलाई अस्थिरतामा फ्याँके। यसबाट स्पष्ट हुन्छ– ती एकता सत्ताका लागि मात्र भएका थिए। व्यक्तिगत स्वार्थ, गुटगत लाभ र आफ्ना निकटहरूलाई सन्तुष्ट पार्नकै लागि देशलाई नर्क बनाइयो। सैद्धान्तिक दृष्टिले पनि, एमालेसँगको एकता अवधिमा “जनताको बहुदलीय जनवाद” मान्ने र “माओवाद”लाई परिमार्जन गर्ने सम्झौता लेखिएको थियो ।
आज देश र जनताको हितका लागि साँचो राष्ट्रिय राजनीतिक पार्टीको आवश्यकता छ। राष्ट्रियता धरापमा परेको छ, युवा विदेशका गल्लीमा श्रम बेच्दै भौँतारिरहेका छन्। देशमा दर्जनौँ पार्टी, हजारौँ नेता र लाखौँ कार्यकर्ता छन्, तर समाज र राजनीति विभाजित छ।
अब प्रश्न उठ्छ– हाम्रो देशको राजनीतिक आन्दोलनले वास्तवमा कसको प्रतिनिधित्व गरिरहेको छ ?
धेरै पार्टीहरूको चरित्र दोधारमा छ–उनीहरूकै कारण जनता भ्रमित छन्। आफूलाई विश्व कम्युनिष्ट आन्दोलनका नेता बताउनेहरूको चरित्र आम जनताले बुझ्न सक्ने अवस्था छैन। कम्युनिष्ट पार्टी विश्वकै एक मात्र विश्वासिलो राजनीतिक शक्ति हुनुपथ्र्यो, किनभने यसको लक्ष्य समानतामूलक समाज निर्माण हो– श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो ।
तर आजको पुँजिवादी समाजले उत्पादनका स्रोतलाई पूँजीकृत गरिदिएको छ । उत्पादनका औजार मजदूरको हातमा छैनन्, त्यसैले मजदूरहरू पूँजिपतिको दयामा निर्भर छन् । मजदूर र मालिकबीचको यो असमानतालाई अन्त्य गर्ने एक मात्र वैचारिक शक्ति भनेकै कम्युनिष्ट विचारधारा हो– जसको रूपरेखा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा तयार पारेका थिए। तर भनिन्छ– “तरवार गलत हातमा प¥यो भने सच्चा मानिसको सिर कलम हुन्छ र सही हातमा प¥यो भने गलतको सिर काटिन्छ ।” त्यो उक्ति आज पनि लागू हुन्छ ।
कम्युनिष्ट आन्दोलन कुनै बाह्य शत्रुले होइन, आफ्नै पार्टीभित्र पसेका अवसरवादीहरूले कमजोर बनाएका हुन्। विगतका गल्तीहरू सच्चाएर अब एक सशक्त, सच्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण देशको अनिवार्य आवश्यकता बनेको छ– चुनावी फाइदाका लागि होइन, विश्व कम्युनिष्ट आन्दोलनको रक्षा र जनताको मुक्ति लागि । आज देशलाई सच्चा कम्युनिष्टहरूको आवश्यकता छ ।










