व्यास नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन

दमौली : तनहुँको व्यास नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले नगर क्षेत्रमा आउने सार्वजनिक गुनासोको सुनुवाइ तथा व्यवस्थापनका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय गुनासो व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विभिन्न १० बुँदे निर्णय गरेको जनाइएको छ । बैठकले आर्थिक वर्ष २०८२/८३ का निर्माण सम्पन्न र निर्माणाधीन योजनाको भुक्तानीका लागि तोकिएको शीर्षकमा बजेट अभाव भए अन्य आय शीर्षकबाट ‘पछि शोध भर्ने’ गरी भुक्तानी गर्ने र आगामी नगरसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको छ ।
चालु आवका टेन्डर आवश्यक योजनाहरूलाई मंसिर ४ गतेभित्र टेन्डर प्रक्रियामा ल्याउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको बैठकले चालु वर्षका अनुमानित आयहरूको मूल्यांकन गरी आवश्यक परे आय अनुमानलाई यथार्थपरक रूपमा संशोधन गर्न सम्बन्धित समितिलाई जिम्मा दिएको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णयका आधारमा चालु आवका योजनाहरू संशोधन गरी आगामी नगरसभामा प्रस्तुत गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिएको बैठकले व्यास नगर आर्थिक कार्यविधि विधेयकसहित विभिन्न विधेयक तथा संशोधन प्रस्तावहरू आगामी नगरसभामा पेश गर्न विधेयक समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै, बीपी वनवाटिका खेलमैदानको कभर्डहल जिल्ला समन्वय समिति र गण्डकी प्रदेश खेलकुद समितिसँग समन्वय गरी जिल्ला खेलकुद समिति मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ ।
मंसिर १८ गते भिमादमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरस्कृत व्यास नगरका विद्यालयहरूलाई नगरपालिकाले बधाई तथा पुरस्कार प्रदान गरेको नगरपालिकाले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति तनहुँले आयोजना गर्ने महोत्सवका लागि निर्माणाधीन खेलमैदान क्षति नहुने व्यवस्था गर्न, महोत्सव आम्दानीको केही हिस्सा युवाको खेलकुद विकासमा छुट्याउन, यस खेलमैदानमा अन्तिम पटक मात्र महोत्सव गर्न दिने र आगामी वर्षदेखि वैकल्पिक स्थान खोजेर मात्र महोत्सव आयोजना गर्न निर्देश गर्दै अनुमति प्रदान गरिएको जनाइएको छ ।










