नेपाली कांग्रेस स्वतन्त्र अभियान तनहुँ (जोशी समूह)को जिल्ला भेला, उम्मेदवार चयन

दमौली : नेपाली कांग्रेस स्वतन्त्र अभियान तनहुँ (जोशी समूह)को आइतबार दमौलीमा जिल्ला भेला गरिएको छ । जिल्ला संयोजक हरिशरण पण्डित अध्यक्षतामा आयोजित भेलामा नेपाली कांग्रेसका नेता सुकुमलाल गुरुङ प्रमुख अतिथि रहेका थिए ।
भेलामा नेपाली कांग्रेसकी नेत्री तथा संविधान सभा सदस्य उर्मिला थापा, कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम अधिकारी, नेताहरू घनश्याम घिमिरे, परशुराम गिरी, ऋषिराम पोखरेल, दीपकराज जोशी, भानु नगरपालिका–१ का वडा अध्यक्ष विमलराज जोशी, नरेन्द्र थापा, केशरबहादुर गुरुङ, क्या रेशमबहादुर गुरुङ, प्रताप सिंह अधिकारी लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
भेलामा वक्ताहरूले समसामयिक राष्ट्रिय राजनीति, नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्र पारेको प्रभाव, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनका रणनीतिबारे विस्तृत छलफल गरेका थि ए। उनीहरूले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अपेक्षालाई आत्मसात गर्दै स्वतन्त्र अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलका क्रममा स्वतन्त्र अभियान जोशी समूहबाट उम्मेदवार छनोट, नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूसँग सम्भावित निर्वाचन सहकार्य र त्यसका आधारबारे गहन बहस भएको थियो। सहभागीहरूले स्थानीय आवश्यकता, जनभावना र संगठनात्मक क्षमतालाई प्राथमिकतामा राखेर उम्मेदवार तय गर्नुपर्ने धारणा राखेका थिए ।
भेलाले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिससमेत गरेको छ । सिफारिसअनुसार क्षेत्र नम्बर १ बाट सुकुमलाल गुरुङ र दीपकराज जोशी तथा क्षेत्र नम्बर २ बाट हरिशरण पण्डित र नरेन्द्र थापा मगरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
त्यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सहकार्यका विषयमा छलफल र संवाद अघि बढाउन हरिशरण पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । समितिमा सुकुमलाल गुरुङ, उर्मिला थापा, दीपकराज जोशी, ऋषिराम पोखरेल, नरेन्द्र थापा र प्रताप सिंह अधिकारी सदस्य रहेका छन् ।
भेलामा सहभागी नेताहरूले स्वतन्त्र अभियान जोशी समूहलाई थप संगठित र प्रभावकारी बनाउँदै पार्टीभित्र सकारात्मक दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, जनस्तरसम्म पुग्ने कार्यक्रम सञ्चालन गर्दै संगठन विस्तारमा जोड दिने निर्णयसमेत भेलाले गरेको छ ।









