बेलायती युवाद्वारा तनहुँको दमौलीस्थित समताका विद्यार्थीलाई सहयोग

दमौली : नेपाल भ्रमणमा रहेका एक बेलायती युवाले तनहुँको एक विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन् । इङ्गल्याण्ड निवासी ली ख्ये ओङले व्यास नगरपालिका–७ नरङ्गामा सञ्चालित व्यास नगर समता आवासीय विद्यालयका अभिभावकविहीन बालबालिकालाई सहयोग गरेका हुन् ।
उनले आइतबार विद्यालयमै पुगेर विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका हुन् । उक्त विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाको पठनपाठन तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले ती सहयोग सामग्री प्रदान गरेको उनले बताए ।
उनले बीस हजार रुपैयाँ मूल्य बराबरका सामग्री सहयोग गरेका छन्, जसमा कापी, क्यारम बोर्ड, ब्याडमिन्टन, चेस, लुडो, टेबल टेनिस लगायतका सामग्री छन् ।
पत्रकार प्रदीप काफ्लेको पहलमा आएका ओङले सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै अनाथ बालबालिका रहेको विद्यालयमा आएर उनीहरूलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
उक्त अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले बालबालिकाको शैक्षिक तथा खेलकुद स्तरलाई मजबुत बनाउन उक्त सामग्रीहरू सहयोगी सिद्ध हुने बताए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरू, प्रधानाध्यापक लगायत सबैको उपस्थिति थियो ।










