हर्षपुर गाउँको घर घरमा खानेपानीका धारा जडान
विकास खनाल/म्याग्दे

गाउँमा सबैको घर घरको धारामा पानी आउँदा ९० बर्षीया लुसि श्रेष्ठको मुहारमा हर्षको सिमै रहेन । उनी हर्षित मात्रै होइन दङ्ग पनि परेकी छन् । जीवनभरि घण्टौं हिंडेर दुःख कस्टका साथ टाढा टाढाका कुवामा पुगि डोकामा गाग्री हालेर पानी ल्याउन परेको तितो सत्य उनले झलझली सम्भिmइन् ।
‘डाँडामा पानिको असाध्यै दुःख थियो, यहि पानिको असुविधाले क्यौं मानिसले गाउँ छोडेर बेसी झरे’, उनले भनिन्, ‘अहिले म ९० बर्षकी भएँ बावै ! यो उमेरमा घरको आँगनमै पानीको धारा खसेको देख्दा अचम्म लागेको छ ।’
‘म त आज हो कि भोली हो को उमेरमा छु, मैले यो सुविधा धेरै लिन पाम्ला नपाम्ला तर अब छोरा नातिलाई सजिलो हुने भयो’, श्रेष्ठले खुसि हुँदै भनिन् । ९० वर्षीया श्रेष्ठ मात्रै होइन अहिले सिङ्गो हर्षपुर बासिमा खुसी छाएको छ । गाउँमा केही समय अगाडि मात्रै होमस्टे पनि सञ्चालनमा ल्यायौं तर त्यहाँ पनि पानीकै असुविधाले हामीलाई गार्हो भैरहेको थियो, अब पानी आएपछि त होमस्टे चलाउन पनि सजिलो भएको स्थानीय जनज्योति युवा क्लवका अध्यक्ष डिबि थापाले बताए ।
सरकारको एक घर एक धारा अभियान आज हर्षपुर होमिस्टेमा सम्पन्न भएको र प्रत्येक धारामा स्वच्छ पिउने पानी झार्न सफल भएका छौ। यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई हामी धन्यवाद दिन चाहन्छौं । हर्षपुरका ४३ घरमा खानेपानीको धारा खसेको छ भर्ला टुम खानेपानी संस्थाका अध्यक्ष भेष बहादुर रानाले बताए ।
लामो समयको प्रयास र मेहेनतले गाउँमा पानी ल्याउन सफल भएको भन्दै अध्यक्ष रानाले भने यसमा गाउँपालिकाको महत्वपूर्ण भूमिका रहेको छ । खानेपानी आएपछि अहिले गाउँमा घर, गोठ, शौचालय, तरकारी खेती सबै तिर सजिलो भएको अध्यक्ष रानाले बताए । उनले भने, ‘घरघरमा खानेपानीको धारा आएपछि सरसफाईमा पनि सहज भएको छ ।’










