पाँचौँ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता बढ्दो

दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौँ शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता दिनानुदिन बढ्दै गएको छ। बिहीबार चैते दशैँ परेकाले महोत्सवस्थलमा दर्शकहरूको उल्लेख्य भीड लागेको आयोजकले जनाएको छ।
आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका मूल संयोजक समुन्द्रराम श्रेष्ठका अनुसार पर्वको अवसरमा परिवारसहित आउने दर्शकको संख्या बढ्दा महोत्सव स्थल चहलपहलपूर्ण बनेको छ।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा सञ्चालन भइरहेको महोत्सवमा बिहीबार कलाकार कुमार पुन, अस्मिता अधिकारी, शुभद्रा श्रेष्ठ, दीपेन्द्र केसी र मञ्जु विकलगायतका प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए।
शुक्रबार चर्चित गायिका समिक्षा अधिकारीसहित शिला आले, सलिना नेपाल, गायक बालचन्द्र बराल, शंकर सुनार तथा हास्य कलाकार सुरज भिरखोइरेको प्रस्तुती रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले जानकारी दिए।
“आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि र पर्यटन प्रवर्द्धन तथा कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म चल्नेछ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको पदयात्रा लगायतका कार्यक्रम समावेश गरिएको प्रचार–प्रसार उपसमिति संयोजक बालकृष्ण विकले बताए।
त्यसैगरी पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि महोत्सवको आकर्षणका रूपमा रहेका छन्। यसपटक टिकटक तथा रिल्स प्रतियोगिता समेत थप गरिएको छ। पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबार बिहानदेखि सुरु हुने जनाइएको छ।
महिला उद्यमी विकास समिति र विभिन्न वडा व्यवस्थापन समितिको सह–आयोजनामा भइरहेको महोत्सवमा घरेलु तथा साना उद्योग, कृषि उत्पादन, व्यवसायिक स्टल, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र र स्वास्थ्य शिविरसहित कुल १ सय ७५ वटा स्टल रहेका छन्।










