सम्पादकीय : होमस्टे सर्किट – ग्रामीण पर्यटनको समग्र रूपान्तरणको आधार

नेपालको पर्यटन विकासको चर्चा गर्दा हिमाल, पहाड र तराईका प्राकृतिक दृश्यहरू प्रायः अग्रपङ्क्तिमा आउँछन्। तर पछिल्ला वर्षहरूमा पर्यटनको स्वरूप बदलिँदै गएको छ। पर्यटक अब केवल दृश्यावलोकनमा सीमित छैनन्- उनीहरू स्थानीय जीवनशैली, संस्कृति, खानपान र समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्न चाहन्छन्। यही सन्दर्भमा ‘होमस्टे’ अर्थात् घरबास प्रणाली नेपालको ग्रामीण पर्यटनको मुटुका रूपमा स्थापित हुँदै गएको छ । होमस्टे केवल बसोबासको व्यवस्था मात्र होइन, यो स्थानीय समुदायको जीवनशैलीसँग प्रत्यक्ष जोडिने अनुभव हो। पर्यटकले स्थानीय परिवारसँगै बस्दै उनीहरूको दैनिक जीवन, परम्परा, संस्कृति र खानपानलाई नजिकबाट अनुभव गर्ने अवसर पाउँछन्। यसले पर्यटनलाई केवल आर्थिक गतिविधि मात्र नभई सांस्कृतिक आदानप्रदानको माध्यम पनि बनाएको छ ।
यसै अवधारणालाई थप व्यवस्थित, योजनाबद्ध र दीर्घकालीन बनाउने प्रयासस्वरूप तनहुँमा ‘होमस्टे सर्किट’ को विकास गरिएको छ। बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका को संयुक्त पहलमा अघि बढाइएको बन्दीपुर–केशवटार होमस्टे सर्किट नेपालको ग्रामीण पर्यटनमा एउटा नयाँ अध्यायको रूपमा उदाएको छ । करीब ५० किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटले २० वटा गाउँहरूलाई एकीकृत गर्दै पर्यटनको नयाँ सम्भावना उजागर गरेको छ। यसभित्र १३ वटा सामुदायिक होमस्टे मात्र होइन, अन्य सात गाउँहरू पनि समेटिएका छन्। यसको अर्थ पर्यटन अब एक ठाउँमा सीमित नभई बहुआयामिक र समावेशी रूपमा विस्तार हुँदैछ । यस सर्किटको विशेषता भनेकै यसको विविधता हो। यहाँ पर्यटकले धवलागिरी, अन्नपूर्ण, मनास्लु र लाङ्टाङ हिमश्रृंखलाका मनोरम दृश्य अवलोकन गर्न सक्छन्। साथै पहाडी तरेली, फाँट र वेसीहरूको सौन्दर्यले यात्रालाई अझ रमणीय बनाउँछ। तर यसभन्दा पनि महत्वपूर्ण पक्ष भनेको स्थानीय जीवनशैलीमा प्रत्यक्ष सहभागिता हो ।
पर्यटकले यहाँ केवल हेर्ने मात्र होइन, गर्ने अवसर पनि पाउँछन्– जस्तै परम्परागत खेती प्रणालीमा सहभागी हुने, मौसमी फलफूल टिप्ने, स्थानीय चाडपर्वमा रमाउने, र विभिन्न जातीय समुदायहरूको संस्कृति अनुभव गर्ने । गुरुङ, मगर, नेवार, क्षेत्री र ब्राह्मण समुदायले सञ्चालन गरेका होमस्टेहरूले ‘एक गाउँ, एक फरक अनुभव’को अवधारणालाई सार्थक बनाएका छन् । यसले पर्यटनलाई केवल मनोरञ्जनको माध्यमबाट माथि उठाएर सिकाइ, अनुभव र संवेदनाको माध्यममा रूपान्तरण गरेको छ। अझ, माउन्टेन बाइकिङ, पदयात्रा, ऐतिहासिक स्थलहरूको अध्ययन जस्ता गतिविधिहरूले यस सर्किटलाई बहुआयामिक बनाएको छ । तर यति मात्र पर्याप्त छैन। यस्तो महत्वपूर्ण परियोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न योजनाबद्ध कार्यान्वयन अपरिहार्य हुन्छ। तीन चरणमा विभाजन गरिएको सर्किट विकास योजना सकारात्मक देखिन्छ। पहिलो चरणमा जनचेतना, नक्शाङ्कन र सूचना संकलन, दोस्रो चरणमा पूर्वाधार विकास र मानव स्रोत सुदृढीकरण र तेस्रो चरणमा बजारीकरण तथा गतिविधि सञ्चालन– यी सबै पक्षहरू सन्तुलित रूपमा अघि बढ्न आवश्यक छ ।
विशेष गरी पूर्वाधार विकासमा ध्यान दिनु अत्यन्त जरुरी छ । सडक पहुँच, सञ्चार सुविधा, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थामा सुधार नगरी पर्यटनको दीर्घकालीन विकास सम्भव हुँदैन । त्यस्तै, स्थानीय जनशक्तिलाई तालिम र क्षमता विकासमार्फत दक्ष बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ । बजारीकरण अर्को चुनौतीपूर्ण पक्ष हो । यस्ता सर्किटहरू राष्ट्रिय सीमाभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारसम्म पुग्नुपर्छ। डिजिटल प्रविधिको प्रयोग, प्रभावकारी प्रचारप्रसार र सहकार्यमार्फत यसलाई विश्व पर्यटन नक्सामा स्थापित गर्न सकिन्छ । यसका साथै, पर्यटन विकाससँगै स्थानीय संस्कृति र वातावरण संरक्षणको विषय पनि उत्तिकै संवेदनशील छ। अत्यधिक व्यावसायीकरणले मौलिकता गुम्ने खतरा हुन्छ। त्यसैले ‘सस्टेनेबल टुरिज्म’ अर्थात् दिगो पर्यटनको अवधारणालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।
बन्दीपुर–केशवटार होमस्टे सर्किटले नेपालमा ग्रामीण पर्यटनको सम्भावनालाई नयाँ उचाइमा पु¥याउने क्षमता राख्दछ। यदि यसलाई सही ढंगले कार्यान्वयन गर्न सकियो भने यसले स्थानीय अर्थतन्त्र सुदृढ गर्नुका साथै रोजगारी सिर्जना, संस्कृति संरक्षण र पर्यटन विविधीकरणमा महत्वपूर्ण योगदान पु¥याउनेछ । अन्ततः, होमस्टे सर्किट केवल पर्यटन परियोजना मात्र होइन, यो ग्रामीण नेपालको समग्र विकासको मार्गचित्र हो। स्थानीय समुदायको सक्रिय सहभागिता, सरकारी निकायको प्रभावकारी समन्वय र निजी क्षेत्रको सहकार्यबाट मात्र यसको पूर्ण सफलता सम्भव छ । यही दिशामा दृढतापूर्वक अघि बढ्न सके, नेपालको ग्रामीण पर्यटनले नयाँ पहिचान बनाउने निश्चित छ ।










