म्याग्दे गाउँपालिकाले जलवायुमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले जलवायुमैत्री कृषि प्रणालीलाई अवलम्बन गरी अगाडि बढ्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बढ्दै गरेको जलवायु परिवर्तको असरलाई अनुकूलन गर्नका लागि जलवायुमैत्री कृषि प्रणालीलाई विशेष प्राथमिकता दिने नीति ल्याएको छ ।
‘एक वडा एक उत्पादन’ भन्ने अवधारणाका साथ वडागत रूपमा सम्भाव्यता अध्यायन गरी व्यावसायिक उत्पादनमा जोड दिने नीति लिएको गाउँपालिकाले जलवायुमैत्री कृषि प्रणालीलाई विशेष प्राथमिकता गरी अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
कृषि क्षेत्रको डिजीटाइजेसनको लागि किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिई सम्पूर्ण वडाको किसानहरूको तथ्याङ्क अद्यावधिक गरी किसान परिचय पत्र वितरण साथै किसान वर्गीकरण गर्ने नीति गाउँपालिकाले बनाएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठुला किसान र उद्यमी किसान वर्गीकरण भएपछि वर्गलक्षित अनुदान कार्यक्रम संचालन गर्नेछौं ।’
शीत गृहको निर्माण कार्य सम्पन्न गरी अन्य जिल्लामा भण्डारणका निम्ति लगिने कृषि उपजलाई आपनै पालिकामा भण्डारण गर्ने व्यवस्था मिलाउने गरी अगाडि बढेको गाउँपालिकाले हालसम्म व्यवसायिक रूपमा कृषि कर्ममा लागेका किसानहरूको लगत संकलन गरी उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउने भएको छ ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्न ‘अर्गानिक नमुना गाउँ’ कार्यक्रमको सुरुवात गरी रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पर्यटकीय स्थल तथा होमस्टेहरूमा रैथाने बालीका परिकारहरूको प्रयोग गरी व्यवसायिक सम्भावना सुदृढ गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
यस्तै, बीउमा आत्मनिर्भरताको लागि कृषक समूह तथा सहकारी मार्फत अन्नबाली तथा आलु बालीका मूल बीउ उपलब्ध गर्राई बीज वृद्धि कार्यक्रमलाई सुचारु गर्ने भएको छ । पालिका भित्र रहेका व्यवसायिक कृषकले उत्पादन गरेको उपजलाई बजारीकरणका लागि कृषि सहकारी मार्फ हाट बजार, संकलन केन्द्र स्थापना गरी किसानको उत्पादनलाई ठुला बजार तथा सहरी क्षेत्रसम्म पुर्याउने, उपयोगमा नआएका तथा बाझो जमिनमा कृषि खेती प्रवर्द्धन गर्दै सीपमा आधारित दिगो कृषि विकास गर्न र्’पर्म संस्कृति’लाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि कृषि क्षेत्रमा व्यवसायिकरण, यन्त्रिकरण एवं आधुनिकीकरणमा जोड दिने, कृषक पाठशाला मार्फत सहभागितामुलक जातीय छनोट, प्रजनन विधिबाट वर्तमान अवस्थामा रहेको स्थानीय बीउ उत्पादन प्रणालीको अध्ययन गरी बिउको गुणस्तर र उपलब्धतामा सुधार ल्याउने, मौरी पकेट क्षेत्र स्थापना गर्ने, विभिन्न बालीहरूमा देखिने रोग, किराको उचित अध्ययन गर्नको लागि कृषि प्रयोगशालाको स्थापना गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
यस्तै, ‘खेत बारीमा प्राविधिक उत्पाधन अधिक’ भन्ने नाराका साथ पालिका भित्रका कृषकहरूलाई अनुसन्धानमा आधारित नवीनतम प्रविधि सम्बन्धी स्थलगत तालिम तथा अन्य सेवा प्रदान गर्ने, माटो परीक्षण गरी खेती योग्य जमिनको अम्लियपना नियन्त्रणका लागि कृषि चुन, प्राङ्गारिक मल र गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरको सम्बोधनका लागि कृषि जैविक विविधताको अभिलेखीकरण सहित यथा स्थानमा संरक्षण गर्न सामुदायिक बीउ बैंकको स्थापना गर्ने, पालिकाभित्र रहेका बेरोजगार युवाहरूलाई कृषि पेशामा आबद्ध हुने गरी रोजगारको बाटो सिर्जना गर्ने, गुणस्तरीय बीउ, बेर्ना उत्पादन गर्न ‘एक वडा एक नर्सरी’ कार्यक्रम संचालन गरिने भएको छ ।
कृषिमा आधुनिकीकरण, व्यवसायिकरणमा जोड दिन कृषि प्राविधिक जनशक्ति थप गर्ने, ‘पढ्दै कमाउदै’ कार्यक्रम संचालन गरी सुरुवाती चरणमा कुनै एक विद्यालयमा विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न गराइ कमाउन प्रोत्साहन गरिने र आगामी वर्षरूमा यस कार्यक्रमलाई निरन्तरता दिई विस्तार गरिने भएको छ ।
कृषक समूह, सहकारी, सरकारी तथा गैर सरकारी संस्था र स्थानीय तहहरूको साझेदारीमा कृषि कार्यक्रमहरू संचालन गर्ने तथा प्रविधि हस्तान्तण गर्ने नीति अवलम्बन गरिने बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘पराम्परागत खाद्या वाली जस्तै कोदो, मकै, फापर, गहुँ, जौं जस्ता वालीको उत्पादनमा विशेष जोड दिनेछौं । फलफूल, पुष्प तथा डाले घाँस नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्दै ‘स्वच्छ सभ्य, समृद्ध म्याग्देको आधार कृषि, पर्यटन र पूर्वाधार’ भन्ने गाउँपालिकाको नारालाई साकार पार्नेछौं ।’










