इतिहास, पर्यटन र नेपाल-अंग्रेज युद्ध

के.बि. मसाल

पर्यटनका धेरै बिट हुन्छन । अहिले पर्यटकहरु इतिहास र संस्कृतिको अध्यन अनुसन्धान गर्न रुचि राख्न थालेका छन । पर्यटकहरुलाई नेपाल-अंग्रेज युद्धको नालिबेली अध्यन गर्न खोज्दछन । पर्यटनको पुर्वाधार क्रमश बिस्तार हुँदै गएपछि आजभोली इतिहासमा रुचि राख्ने धेरै पर्यटकहरु नुवाकोटगढीमा पुग्दछन । नेपाल-अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्ला नुवाकोटगढी हो । गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पाल्पा र रुपन्देहीको सिमा नुवाकोटगढी हो । नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खडग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ । बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवालगायत ऐतिहासिक र पुरातात्विक संरचना रहेका छन ।

नुवाकोटगढी ऐतिहासिक स्थल मात्र नभएर प्राकृतिक भ्युटावर पनि हो । नुवाकोटगढी हुँदै परापूर्वकाल देखिनै बुटवल, भैरहवा भएर भारतीय भूमिमा आउजाउ गर्ने मुख्य पदमार्ग पनि हो । कतिपय पर्यटकहरुले आफ्ना पूर्वज यात्रा गरेको पदमार्गको समेत स्मरण गर्न सक्दछन । बाग्लुङ, पर्वत, स्याङजा, गुल्मी र पाल्पाका मानिसहरु पाल्पाको मस्याम लेक हुँदै सिस्नेखोला, मरेक, रानीबास, बोटेगाउँ भएर कचला खोला हुँदै दोभान निस्कन्थे र दोभानबाट उकालो चढदै नुवाकोटगढी भएर जितगढी ओर्लेर बुटबल पुग्थे । सिर्द्धार्थ राजमार्ग निर्माण भएपछि अहिलेको पुस्ताहरुलाई ति कुरा कथा भएको छ । अब केही समय पछि नुवाकोटगढी पुग्नको लागि पर्यटकहरुले केवुलकार चढन पाउने छन । बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि-मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर-पूर्वपट्टकिो शिखर देउरालीलाई आधार स्टेशन बनाएर सिर्द्धार्थ केबुलकारले पर्यटनको लागि केवुलकार निर्माण गर्दैछ । केवुलकारको पूर्वाधार निर्माण गर्दा नुवाकोटगढीका सबै ऐतिहासिक गढीका सम्पदाहरु संरक्षण र पुनःनिर्माण भएका छन । केबुलकारसँगै नुवाकोटगढीमा कालभैरवको मन्दिर निर्माण, बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक संग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माण भएको छ । नुवाकोटगढी प्राकृतिक भ्युटावर हो । तर पनि पर्यटकहरुका लागि भ्युटावर निर्माण गरिएको छ । भने बालाजीको मन्दिर पनि निर्माण भएको छ ।

पर्यटन खुल्ला विश्वविद्यालय हो । ऐतिहासिक पुरातात्विक सम्पदाको खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकले नुवाकोटगढीको अध्ययन अवलोकन गर्न सक्छन् । इतिहास भनेको बितेका तथ्य घटनाहरुको यथार्थ विवरण हो । इतिहासको अध्यनबाटनै बितेका घटनाहरुको ज्ञान प्राप्त हुन्छ । प्राचिनकालमा इतिहासका रुपमा लेखिएको ग्रन्थ महाभारत हो । इतिहासको अध्यनले देशमा बितेका घटना बुझन र जान्न सकिन्छ । इतिहास स्मृतिहरुको अभिलेख पनि हो । इतिहास बिर्सनु स्मृति गुम्नु हो । नुवाकोटगढीमा इतिहासको खोज अनुसन्धान गर्ने पर्यटकहरुले नेपाल र अंग्रेज बिच भएको युद्धमा कर्णेल उजिर सिंहले आफ्ना फौजहरुलाई राख्न निर्माण गरिएको जितगढी, नुवाकोटगढी, काठेगढी, सिउराजगढी, बल्डयाङगढी, दाउन्नेगढी, माथागढी लगायतका गढीहरुको बारेमा समेत अध्यन गर्न सक्दछन । कर्णेल उजिर सिंह थापाले नुवाकोटगढीमा मोर्चाबन्दि गरेर अंग्रेज फौजलाई परास्त गरेका थिए । नुवाकोटगढीमा पुग्दा पर्यटकहरुले उत्तरतिर माछापुच्छ्रे हिमाल र दक्षिणतिर बुटवल बजारको अवलोकन गर्न पाउँदा पर्यटकहरु रोमाञ्चित हुन्छन् । नुवाकोटगढीमा तर्राईबाट अत्याधिक गर्मी वा जाडोमा शीतलहर र हुस्सु छल्न जाने पर्यटकहरुको संख्या बढी छ । आजभोली पुरातात्विक अध्ययन, वनभोज र जंगल सफारीका लागि जाने पर्यटकहरु पनि कमी हुँदैनन । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोटगढी पर्या-पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । पर्यटनका लागि बुटवल-नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक हुन्छ । नुवाकोटगढीको भ्यूटावरबाट बुटवल बजारको मनोरम दृष्यसहित भैरहवा, परासी र सिमापारी भारतसम्मका रमणीय दृष्य हेर्न सकिन्छ । बुटवलको फूलबारीदेखि नुवाकोटगढी करिव २ कि.मी को दूरीमा पर्दछ ।

नुवाकोटगढी जादा पर्यटकहरुले मणिमुकुन्द सेन उद्यान घुम्नै पर्दछ । फूलबारी पार्कको अध्यन बिना नुवाकोटगढीको ऐतिहासिक अध्यन अधुरो हुन्छ । आजभोली पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको फूलबारी पार्कमा पिकनिक, विवाह, भेटघाट र विभिन्न सघसंस्थाको साधारणसभा तथा अधिवेशनको थलो बनेको छ । बुटवल पुगेपछि समय निकालेर धेरै पर्यटकहरु फूलबारी पार्कमा पुग्ने गर्दछन । फूलबारी पार्क पछिल्ला समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । १५औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबारको अवशेष पनि फूलबारीमा पर्यटकहरुले अवलोकन गर्न सक्दछन । फूलबारी पार्क अहिले मणिमुकुन्द सेन उद्यानको नाममा सञ्चालन भएको छ । पार्कमा पुराना भग्नाबशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखानासमेत छ । ऐतिहासिक जितगढी किल्ला अंग्रेजलाई पराजित गरेको इतिहास र पाल्पाली राजा मणिमुकुन्दको नाममा बनाइएको उद्यानले इतिहासको संरक्षण मात्र होइन धेरै पर्यटकहरुको अध्यन अनुसन्धानको केन्द्र बनेको छ ।

बुटवल उपमहानगरपालिका-२, पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान पर्यटकीय स्थलमात्र नभई ऐतिहासिक र पुरातात्विक स्थलका रुपमा समेत परिचित छ । नुवाकोटगढीको काखमा बिभिन्न बोटबिरुवाको हरियाली र रंगीचंगी फूलका उद्यानले पार्कमा पुगेपछि सबै पर्यटकहरु आकर्षित हुने गर्दछन । तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेनको जन्म वि.सं १५५३ सालमा भएको थियो । उनी बि.स. १५७५ सालमा पाल्पाका राजा भएका थिए । पछि छोराहरुको सहयोगमा राज्यहरु एकीकरण गरे । उनै मुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रुपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएको इतिहास छ । जाडो याममा बुटवल बस्ने मुकुन्द सेन गर्मी याममा नुवाकोटगढीमा बस्ने गर्थे । मुकुन्द सेन विसं १६१० मा देवघाटमा तपस्यामा सिद्धि प्राप्ति गरेका मुकुन्द सेनलाई धेरैले मुनि मुकुन्द पनि भन्ने गर्दछन । यिनै मुनि मुकुन्द सेन पछि मणिमुकुन्द सेन भएका हुन । मणिमुकुन्द सेनको इतिहास स्मरणीय राख्न उद्यानभित्र मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ । कलात्मक ढंगले निर्माण गरिएको शालिकले उद्यानको आकर्षण त बढाएकै छ । अर्को तर्फ यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ ।

युद्धको पृष्ठभूमी

नेपाल-अंग्रेजको युद्ध वि.सं १८२४ देखि सुरु भएको थियो । जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौंमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरुबाट बचाउन किनलक राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आउँदै थिए । त्यही बेला अंग्रेजको फौज सिन्धुलीमा पराजित भै सकेको थियो । त्यसको ४८ वर्षपछि अंग्रेजसंग ठूलो युद्धको सुरुवात भयो । इतिहासमा जुन युद्धलाई नेपाल-कम्पनी युद्ध अर्थात नेपाल-अंग्रेज युद्ध भनिन्छ । नेपाली सेनाले त्यो बेला जिउज्यान लगाएर शक्तिशाली अंग्रेजसँग डिफेन्सिभ/ अफेन्सिभ जाइ कटक नगर्ने झिकी कटक गर्ने युद्ध लडयो । अंग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहेको थियो । तर नेपाल उपनिवेश बन्न चाहेन । नेपाल-अंग्रेज युद्धमा पूर्वमा दार्जिलिङदेखि पश्चिममा सतलजसम्म धेरै पटक लडाइँ भयो । नेपाल-अंग्रेज युद्धमा नेपालले धेरै लडाइँ जितेर पनि अन्त्यमा युद्ध भने हारेको स्वीकार गर्नु पर्‍यो । सुगौली सन्धि त्यसको जीवन्त परिणाम हो ।

नेपाल-अग्रेज युद्ध हुनुमा धेरै कारण थिए । तीमध्ये प्रमुख कारण भने ब्रिटिसले नेपाली भूमिबाट तिब्बतमा छिर्न चाहन्थ्यो । भारतमा बसी चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट-इन्डिया कम्पनीले सन् १८१३ मा एकाधिकार गुमायो । इस्ट-इन्डिया कम्पनीले चीनसँगको व्यापार र चिया व्यापारमा मात्र प्राप्त गर्‍यो । त्यस कारण कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमिको आवश्यकता पर्‍यो । त्यस्तो भूमि नेपालभित्र मात्र थियो । नेपालसँग सजिलै तिब्बतमा छिर्न भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेको थियो । त्यसैले अंग्रेजले नेपालसँग किचलो हुने विन्दुहरुको खोजी गर्न थाल्यो । त्यसमध्ये एक थियो बुटवल-स्युराज खण्ड । तिब्बत नेपालको पनि व्यापारिक थलो भएकाले नेपालले कुनै हालतमा अंग्रेजलाई तिब्बतमा जाने बाटो अर्थात अनुमति दिन चाहँदैनथ्यो । सिक्किमको नाथुला पास, खासाबाट पुगिने कुती, रसुवाबाट पुगिने केरुङ र कुमाउबाट पुगिने टिंकर, लिपुलेक आदि क्षेत्रमध्ये कुनै न कुनै नाकाबाट अंग्रेजले तिब्बत पस्न खोजी रहेको अवस्थामा ती सबै नाका नेपालको प्रत्यक्ष नियन्त्रणमा थियो ।

नेपाल एकीकरण नहुँदै पाल्पाली सेन राजाले अवधको नवाबलाई निश्चित रकम तिरेर सेनहरुले बुटवललगायतका भूभागका जमिन उपभोग गर्दै आएका थिए । पछि अवध कम्पनी सरकारको मातहत गयो । यता पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भयो । पुरानो सम्बन्ध टुंगिएपछि कम्पनी सरकार र नेपाल सरकारबीच विवाद सुरु भयो । कम्पनी सरकारले बुटवलसम्मको भू-भागमा आफ्नो अधिकार भएको दाबी गर्‍यो । नेपालले बुटवल र स्युराज वरिपरिका भूभाग पनि नेपालकै हुनुपर्ने दाबी थियो । त्यस्तै जनरल अमरसिंह थापाले कम्पनी सरकारको साम्राज्यवादविरुद्ध पन्जाब केशरी रणजितसिंहलाई तेह्र सवाल अर्थात बुदाको पत्र लेखेकाले पनि कम्पनी सरकार आगो भएको थियो । तर कम्पनी सरकारले नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धिको धारा ५ मा भएको बन्दोबस्त उल्लंघन गर्दै युद्ध घोषणा गर्‍यो । सन्धिको धारा ५ मा दुइ देशबीच सीमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तका आधारमा दुबै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ उल्लेख थियो ।

त्यसैले युद्धको लागि पूर्वको बाइस मौजा, बुटवल र स्युराजको विषयमा खिचलो उठाइ सन् १८१४ नोभेम्बर १ मा हेस्टिङका मार्क्युसले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरे । अंग्रेजले पाँच ठाउँबाट आक्रमणको तयारी गरेको थियो । त्यसमध्ये बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार कम्पनी सेना र तीन हजार हिन्दुस्तानी फौज लिएर तैनाथ भएका थिए । अंग्रेजको फौज बनारसबाट गोरखपुरमा १५ नोभेम्बर १८१४ का दिन आइपुग्यो । बुटवल र सिउराज कपिलवस्तुको जग्गा विवादले युद्धको उग्ररुप लियो । युद्धमा पाल्पाका राजा पृथ्वीपाल सेनको हत्यापछि जनरल भीमसेन थापाका पिता जनरल अमरसिंह थापालाई पाल्पाको प्रशासक बनाई पठाइयो । नबावको राज्य अंग्रेजले लिएपछि ती जग्गाको स्वामित्व अंग्रेजले लिएर नेपालीलाई कमाइ खान दिन चाहन्नथ्यो । तर कर अर्थात तिरो तिरेर खेतीपाती गर्न नेपाल सरकारले अंग्रेजलाई अनुरोध गर्‍यो । कुरो मिलेन र अंग्रेजले ती जग्गाबाट नेपालीलाई हटायो र आफ्नो सुरक्षा पोष्ट खडा गर्‍यो । त्यसपछि नेपाली फौजले ती सुरक्षा पोष्ट हटायर आफ्नो भूमी फिर्ता गरे । त्यसपछि अंग्रेज सैनिकले नेपाली चौकीहरु भत्काएर नेपालीहरुलाई पिटपाट पार्दै खेदे र बुटवल तथा सिउराजमा पूर्ण अंग्रेजले अधिकार जमाए ।

यो कुरा जनरल भीमसेन थापाले थाहा पाए । भीमसेन थापाले जसरी पनि बुटवल र सिउराजमाथि नेपालीको नियन्त्रण नछाडने आदेश अमर सिंहलाई दिए । अमर सिंह ठूलो फौजको साथमा बुटवल र सिउराज गएर अंग्रेजको चौकीमाथि आक्रमण गर्न लगाए । अप्रत्यासित हमलाबाट अंग्रेजका चौकीदारहरुको भागाभाग भयो भने १८ जनाको मृत्यु भयो । अंग्रेजले कब्जा गरेको भूमी नेपालीले पुनः कब्जामा लिए । त्यसपछि अंग्रेजले नेपालीविरुद्ध औपचारिक रुपमा युद्ध गर्ने निर्णय गर्‍यो । यो युद्धमा कर्णेल उजिरसिंह थापालाई बुटवल सेक्टर दिएर दुइ हजार सेना दिइएको थियो । कर्णेल उजिर सिंहले आफ्ना फौजहरुलाई जितगढी, नुवाकोटगढी, काठेगढी, सिउराजगढी, बल्डयाङगढी, दाउन्नेगढी, माथागढी लगायतमा खटाएका थिए । कर्णेल उजिर सिंह स्वयं ठूलो फौजसहित नुवाकोट गढीमा थिए । त्यसै गरी काजी वीरभञ्जन पाण्डेलाई जितगढी क्षेत्र तिनाउ खोलानजिक चार सय फौजसहित खटाइएको थियो र अरु कमान्डहरुलाई काठे गढीसहित अन्यत्र खटाइएको थियो । अंग्रेजको योजना अनुसार एकै पटकमा जितगढी, नुवाकोटगढी र तानसेन बजार कब्जा गर्नुपर्ने थियो । अंग्रेजहरु जितगढी क्षेत्रमा प्रवेश गर्न थाले ।

नेपाली सेनाले अंग्रेजलाई त्यो बेलासम्म केही नोक्सानी पुर्‍याएको थिएन । तर तिनाउ खोला तर्न खोज्दा नेपाली फौजले अंग्रेजमाथी आक्रमण गर्‍यो । त्यो आमुन्ने सामुन्नेको लडाइँ थिएन । धराप अर्थात एम्बुसमा पारिएको युद्धकला थियो । धेरै अंग्रेजका फौज त्यही मरे र तिनाउको नदी अंग्रेजको फौजको रगतले रक्ताम्मे भयो । नुवाकोटगढी तिर बढेका अंग्रेजका फौज पनि धेरै मारिए । तानसेन बजार कब्जा गर्न अगाडी बढेको अंग्रेजका फौजलाई पनि नेपाली सेनाले आक्रमण गरेर धेरैलाई मार्‍यो । त्यो युद्धमा नुवाकोटगढीमा ७० नेपालीको ज्यान गएको थियो । नेपालीहरुको भन्दा अंग्रेजको फौज बढी भएकाले उनीहरु युद्ध त लडिरहेका थिए । तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देखेर जनरल जोन सुलिभान उडको जोस हराइसकेको थियो । युद्ध अनिश्चित भएको देखेर उनले सहयोगी हार्डिम्यानसँग सल्लाह गरी युद्धभूमि छोडने आदेश दिए । बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हुँदै जनरल उड जनवरी ३ मा लोटन पुगे । तर पनि जितगढी हान्ने प्रयत्नमा उनी लागि नै रहे ।

त्यसको तीन महिना पछि एकैचोटि बुटवल नहानी पहिले स्युराज, तुल्सीपुर हान्ने र पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा पाल्पा फर्केको चाल पाई यही मौकामा बुटवल हान्ने सोच बनाए । तिनाउ नदीको पूर्वपट्टबिाट अंग्रेज फौज खस्यौली बजारतिर आएर तोप प्रहार गर्न थाल्यो । नेपाली फौजले प्रत्युत्तरमा तोपका गोला छोडे । तर कम्पनीको गोलाबारीमा नेपाली फौजतर्फबाट केही जवाफी कारबाही भएन । अंग्रेजको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । जब अंग्रेजको फौज तिनाउ नदी पार गर्न लागेको थियो । नेपाली फौजले जितगढीबाट गोलीको पर्रा छुटाउन थाले । अंग्रेज फौज केही मरे अरु भागाभाग भए । त्यस बखत कम्पनी सरकारसँग विकसित हतियार र नेपालीसंग आफ्नै परम्परागत हतियार मात्र थियो । तर युद्ध त हतियारले लडिँदैन विचारले लडिन्छ भन्ने मान्यता नेपालीहरुमा थियो । युद्धको समयमा पनि नेपालीसँग राष्ट्रियताको सोच थियो । त्यो सोच नै युद्धका लागि पर्याप्त थियो ।

विभिन्न कारणले नेपाल-अंग्रेज युद्धमा नेपालीले पाँच ठाउँमध्ये चारवटा युद्ध मोर्चाबाट पछाडि फर्कनु पर्‍यो । नौ हजार चार सय वर्ग किलोमिटर भूभाग गुमाउनु पर्‍यो । त्यो यथार्थलाई आत्मसात गर्नुपर्छ । तर बुटवल क्षेत्रमा नेपालले एक इन्च भूभाग पनि गुमाउनु परेन । युद्धमा पाँच सय जनाले वीरगति प्राप्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker