बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणमा प्रभावकारी काम गरेकोमा म्याग्दे गाउँपालिका सम्मानित

तनहुँ : बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणमा प्रभावकारी काम गरेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकालाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा बिहीबार आयोजित विशेष समारोहमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये बालश्रम न्यूनीकरणमा उत्कृष्ट कार्यसम्पादन गरेका १३ स्थानीय तहलाई छनोट गरी सम्मान गरेको हो । तीमध्ये म्याग्दे गाउँपालिका पनि परेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार मन्त्रालयले निर्धारण गरेका ५१ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा गाउँपालिकाले आवश्यक मापदण्ड पूरा गरेपछि सम्मानका लागि छनोट भएको हो ।
गाउँपालिकाले इँटाभट्टामा कार्यरत बालश्रमिकको उद्धार गरी विद्यालयमा भर्ना गराएको, सातवटै वडामा बालश्रमविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको तथा होटल, रेस्टुरेन्ट र अन्य व्यवसायिक प्रतिष्ठानमा नियमित अनुगमन गरी बालश्रमिक हटाउने अभियान सञ्चालन गरेको थियो । यिनै प्रयासका आधारमा गाउँपालिकाले राष्ट्रियस्तरको सम्मान प्राप्त गरेको अधिकारीले बताए ।
सम्मान ग्रहणपछि गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालश्रम अन्त्यका लागि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा समुदायको साझा प्रयासले उपलब्धि हासिल भएको बताए । बालबालिकालाई श्रममा होइन, शिक्षामा जोड्ने उद्देश्यअनुरूप गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले प्राप्त सम्मानले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा मिलेको बताए ।
उनले बालमैत्री स्थानीय तह निर्माणलाई प्राथमिकतामा राख्दै म्याग्दे गाउँपालिकालाई पूर्ण रूपमा बालश्रममुक्त बनाइराख्न आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।










