निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रगति ७५.५ प्रतिशत
बाँध निर्माण तीव्र, विद्युतगृह अन्तिम चरणमा, प्रसारण लाइनको ७८ प्रतिशत काम सकियो

दमौली : राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ । आयोजनाको बाँध, विद्युतगृह तथा प्रसारण लाइन निर्माण निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ भने सामाजिक, वातावरणीय संरक्षण तथा आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमसमेत समानान्तर रूपमा सञ्चालन भइरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण तथा एसियाली विकास बैंक -एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो ।
आयोजनाअन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध तथा हेडवक्र्स (प्याकेज–१) को निर्माण प्रगति ५९ प्रतिशत पुगेको छ । निर्माण कम्पनी सोङदा–कालिका जेभीले सेती नदीलाई डाइभर्सन सुरुङमार्फत पथान्तरण गरेपछि २०८१ चैत ७ गतेदेखि मुख्य बाँधको कंक्रिटिङ सुरु गरेको थियो । हाल दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ, ड्रिलिङ तथा कंक्रिटिङको काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ ।
विद्युतगृह तथा उपकरण जडान (प्याकेज–२)को निर्माण भने अन्तिम चरणमा पुगेको छ । चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजको प्रगति ७७ प्रतिशत पुगेको छ । भूमिगत संरचनाको उत्खनन तथा विद्युतगृह, सर्ज ट्याङ्क, केवल सुरुङ र टेलरेस संरचनाको कंक्रिटिङ सम्पन्न भइसकेको छ । अहिले टर्बाइन, जेनेरेटर, मुख्य इन्लेट भल्भलगायतका इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ । २१३.३ मिटर लामो पेनस्टक पाइपमध्ये २११.३ मिटर जडान सम्पन्न भई परीक्षण तथा रङरोगनको काम भइरहेको छ ।
यस्तै, दमौली–भरतपुर २२० केभी प्रसारण लाइन (प्याकेज–३) को निर्माण प्रगति ७८ प्रतिशत पुगेको छ। भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको ३३ किलोमिटर लामो प्रसारण लाइनका लागि आवश्यक ९४ वटा टावरमध्ये ७९ वटाको जग निर्माण र ६९ वटा टावर खडा गरिसकिएको छ । चितवनतर्फ रुख छपान सम्पन्न भइसकेको छ भने तनहुँतर्फको प्रक्रिया जारी रहेको आयोजनाले जनाएको छ ।
निर्माणसँगै आयोजना प्रभावित क्षेत्रमा सामाजिक तथा वातावरणीय दायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ । व्यास नगरपालिकाको बेतेनी, झापुटार, होक्सेटार र बेलवासका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका लागि ग्याविन संरचना निर्माण तथा आपत्कालीन सूचना प्रणालीका लागि साइरन जडानका कामलाई तीव्रता दिइएको छ ।
जैविक विविधता संरक्षणका लागि आयोजना क्षेत्रमा मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको छ भने मादी नदी क्षेत्रमा ‘नो नेट लस’ सिद्धान्तअनुसार ‘मादी अफसेट योजना’ परिमार्जन गर्ने सहमति भएको छ । आयोजना प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत हालसम्म ९६ वटा सामुदायिक विकास आयोजना सम्पन्न भइसकेका छन्। ट्रस पुल, झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति, विद्यालय भवन निर्माणलगायत सात वटा आयोजना कार्यान्वयनको चरणमा छन् ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम अन्तर्गत ऋषिङ गाउँपालिका–८ पल्ट्याङका मगर समुदायका महिलालाई बेमौसमी तरकारी खेती, वित्तीय साक्षरता, कृषि सामग्री तथा हाते ट्र्याक्टर वितरण गरिएको छ। साथै, मध्यवर्ती क्षेत्रभित्रको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रियालाई पारदर्शी बनाउन मुआब्जा निर्धारण समितिका पदाधिकारीलाई सुरक्षण नीति सम्बन्धी अभिमुखीकरणसमेत सञ्चालन गरिएको छ ।
यसैबीच, तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ भने प्रभावित क्षेत्रको स्थलगत अध्ययन, तथ्याङ्क संकलन तथा अन्वेषण सुरुङ पोर्टल निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको निर्माण प्रगतिसँगै निर्धारित समयभित्र उत्पादन सुरु गर्ने लक्ष्यतर्फ काम अघि बढिरहेको छ । आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप १४० मेगावाट विद्युत् थपिनेछ, जसले देशको ऊर्जा सुरक्षा सुदृढ गर्नुका साथै औद्योगिक विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।










