तनहुँको शुक्लागण्डकीमा रैथाने खाना महोत्सव गरिने

दुलेगौंडा : तनहुँमा दुई दिने आदिवासी जनजाति रैथाने खाना महोत्सव हुने भएको छ । रैथाने परिकारको पाककला र स्वाद नवपुस्तालाई हस्तानतरण गर्नलाई खाना महोत्सव हुने भएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा चैत २ र ३ गते महोत्सव हुनेछ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा महोत्सव गरिनेछ ।
महोत्सवमा शुक्लागण्डकीमा बसोबास गरिरहेका आदिवासी जनजाती समुदायका मौलिक घर निर्माण गरेर तीनै घरमा परम्परागत तवरले पकाएर रैथाने खानाको स्वाद चखाइने महासंघका अध्यक्ष कूलकुमार कुमालले बताए ।
साँस्कृतिक झाँकी र गीत, नृत्यसमेत प्रस्तुत गरिने उनको भनाइ छ । भाषा, संस्कार, संस्कृति संरक्षणमा अन्तरक्रिया हुने कुमालले जानकारी दिए । महोत्सवले रैथाने खाना संरक्षणमा चेतना बढाउने विश्वास गरिएको छ। ‘रैथाने खानाको माग बढ्दा निर्वाहमुखी कृषिबाट व्यवसायीकतर्फ उन्मुख हुन सघाउने अपेक्षा छ’, कुमालले भने ।
महोत्सवका सल्लाहाकार खिमबहादुर कुमालले आदिवासी जनजाति समुदायले खाने खानाको परिकार स्वावस्थ्यका हिसाबले पनि उयुक्त भएको बताए । ‘ती खानालाई प्रर्दशन र प्रचार गरेर व्यवसायिककरण गर्न सकिन्छ कि भनेर लागेका छौं’, उनले भने ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव बिमल जिसी आदिवासी जनजातिका खानाका परिकारसँगै चालचलन, रीतिरिवाज, संस्कृति सबै समुदायमा पु¥याउनुपर्ने बताए । ‘कुन समुदायले कस्ता खाना खान्थे । जन्मदेखि मृत्युसम्मका संस्कारहरु प्रत्यक्ष रुपमा देखाउने कोशिषमा छौं’, उनले भने ।
मगर, गुरुङ, नेवार, कुमाल, भुजेल र तामाङ समुदायका खानाका परिकार एकैथलोमा चखाइने महोत्सवकि प्रवक्त बिर्सना श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार, महोत्सवमा बटुक, बारा, सेलरोटी, चटामारी, गिठ्ठा, भ्याकुर, चटामरी, फुरौला, योमरीदेखि लोकल रक्सी, माछा, मासुका परिकार प्रर्दशनसँगै खानपानको व्यवस्था मिलाइको छ।
शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा हुने महोत्सवको सहआयोजकमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकी नगरपालिका, मगर, गुरुङ, नेवार, कुमाल, भुजेल, तामाङ र थकाली समाजका नगर समिति रहेका छन्।










