तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दिने मूर्तिकार श्रेष्ठको घोषणा
भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न संघ र प्रदेशको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा पृथ्वीनारायण श्रेष्ठले गैरदलीय स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । व्यास नगरपालिका-३ का श्रेष्ठले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी मंसिर ४ गते हुने निर्वाचनका लागि संघीय सांसदको स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
देशको राजनीतिक पूरै अवसरवादको कब्जामा रहेको भन्दै राजनीतिमा व्याप्त अवसरवादका विरुद्ध र राष्ट्रघात, वैदेशिक हस्तक्षेप, परनिर्भरता, भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध, प्रतिपक्षविहिन संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्न गैरदलीय स्वतन्त्र उम्मेदवारको रुपमा जनताका बीचमा जाने घोषणा गरेको उनले बताए ।
श्रेष्ठले २०४४ सालदेखि दलीय राजनीतिसंग नजिक भई राजनीतिक पार्टीमा आवद्ध रहेर विभिन्न आन्दोलहरुमा सहभागी भएको बताए । ‘कुनै ठूलो पदीय राजनीति नगरेपनि म सधै राजनीतिसंग नजिक छु’, उनले भने, ‘मलाई पहिलेपनि राजनीतिबाट पैसा कमाउनु थिएन र अहिले पनि छैन । राजनीतिबाट समाजसेवा गर्ने मेरो उद्देश्य हो ।’
‘आन्दोलन भयो, दलहरु सत्तामा पुगे र स्वरुपमा र व्यवहारमा फरक गरे’, उनले भने, ‘अहिलेको चिन्ताको विषय भनेकै राष्ट्रियता र जनजीवन धरापमा छ । दलहरुको कचकच रडाको र खिचातानीमा हाम्रो समय बितेको छ । ३२ वर्षको उपलब्धी के त ? त्यसैले धरापमा रहेको देश, राजनीति, समाज र विकासलाई सुन्दर र सवल बनाउने भूमिका निर्वाह गर्ने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिने निर्णय गरेको हुँ ।’
मूर्तिकार समेत रहेका श्रेष्ठले आफु सुन्दरताको पुजारी रहेको र कुरुपता मन नपराउने बताए । ‘मैले कलाकरिताद्वारा देश सिंगार्छु भनेर मात्रै के गर्नु कुरुप राजनीति र विकासले देश, समाजै कुरुप बनाएपछि’, उनले भने, ‘मेरो देशलाई सुन्दर बनाउन, यहाँको राजनीति र विकासलाई सुन्दर बनाई समाजलाई सुन्दर बनाउनका लागि मेरो उम्मेदवारी हो ।’
युवाहरु नै देशका कर्णधार रहेको औल्यादै श्रेष्ठले भने, ‘विकृति विसंगतिका विरुद्ध कोही योग्य व्यक्ति मैदनमा आउँछन् भने उनीहरुलाई सघाउनुपर्छ । यहाँ कोही आएनन् भने आफै मैदानमा उत्रिने आँट गर्नुपर्छ । पेशाका करण काठमाडौंमा बसेपनि अब मेरो सुन्दर समाज निर्माणका लागि जिल्लामै बसेर राजनीति गर्नेछु ।’
पृथ्वीनारायण नेकपा (एकीकृत समाजवादी) का नेता शंकरनारायण श्रेष्ठका भाई हुन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ शंकरनारायणको नाम पनि पार्टीले केन्द्रमा पठाएको छ ।










