तनहुँमा डेंगु संक्रमण बढ्दो : ६९ जनामा सक्रमण पुष्टि

दमौली : तनहुँमो डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । बढ्दो गर्मी र पानी परेसँगै तनहुँमा डेंगु संक्रमित देखिन थालेका हुन् । वैशाख महिनादेखि आइतबारसम्म तनहुँका ६९ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो सात दिनभित्र जिल्लाका छ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म सात वटा स्थानीय तह र २२ वटा वडामा संक्रमित रहेको कार्यालयका सूचना अधिकारी सुदीप कंडेलले जानकारी दिए । उनका अनुसार वैशाखमा १७, जेठमा २५ र असारमा २७ जनामा डेंगु संक्रमण भएको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शुक्लागण्डकी नगरपालिकामा ३३, बन्दीपुर गाउँपालिकामा १६, आँबुखैरेनी गाउँपालिकामा ६, म्याग्दे गाउँपालिकामा ६, व्यास नगरपालिकामा ३, भिमाद नगरपालिकामा २, भानु नगरपालिकामा २ जनामा संक्रमण भएको छ । ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने डेंगु संक्रमित छैनन् ।










