बन्दीपुरमा स्वास्थ्य शिविर : हाडजोर्नी तथा नशा रोगमा १२३, मेडिसिनमा ८० जनाले निःशुल्क सेवा लिए

बन्दीपुर : बन्दीपुर अस्पतालमा सुरु गरिएको विशेषज्ञ स्वास्थ्य सेवाको पहिलो दिन २०३ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका छन् । शनिबार सञ्चालन गरिएको विशेषज्ञ सेवाअन्तर्गत हाडजोर्नी तथा नशा रोगतर्फ १२३ जना र इन्टर्नल मेडिसिनतर्फ ८० जनाले सेवा लिएका हुन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श निःशुल्क रूपमा पाएका छन् ।
अस्पतालका अनुसार पहिलो दिन सेवाग्राहीको सहभागिता उल्लेख्य रहेको थियो। विशेषज्ञ सेवा लिन आएका सेवाग्राहीबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई आधार बनाएर आगामी दिनमा सेवा थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाइने अस्पतालले जनाएको छ ।
यस्तै, अस्पतालका प्रमुख डा. अनिल गिरीले विशेषज्ञ सेवा सञ्चालनका लागि सहयोग गर्ने सम्बन्धित सबैप्रति आभार व्यक्त गरेका छन् । पहिलो दिनको सेवा सञ्चालनका क्रममा देखिएका व्यावहारिक पक्ष तथा सेवाग्राहीबाट प्राप्त रचनात्मक सुझावलाई समेटेर आगामी सेवामा आवश्यक सुधार गरिने उनले बताए ।
यसैबीच, बन्दीपुर अस्पतालमा अर्को शनिबार असोज २४ गते स्त्री तथा प्रसूति रोग र बालरोग विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ । अस्पतालले सम्बन्धित सेवाग्राहीलाई सेवा सञ्चालन हुने मितिबारे अग्रिम जानकारी गराएको प्रमुख डा. गिरीले जानकारी गराए ।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध हुन थालेपछि बन्दीपुर तथा आसपासका नागरिकलाई सामान्य स्वास्थ्य परीक्षणका लागि मात्र नभई विशेषज्ञ परामर्शका लागि समेत टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । अस्पतालले विशेषज्ञ सेवा नियमित र प्रभावकारी बनाउन सेवाग्राहीको सुझावलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ ।










