तनहुँ र नवलपुर जोड्ने कालीगण्डकीको पुल खुलाउन दुईतर्फबाट काम तीव्र
अवरुद्ध पुलको डेढगाउँतर्फ एप्रोच निर्माण सुरु, घिरिङतर्फ दुई दिनभित्र काम थालिने

तनहुँ : गत हप्ता कालीगण्डकी नदीको कटानका कारण अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका–४ मन्दार र नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढगाउँ जोड्ने मोटरेबल पुल सञ्चालनमा ल्याउन दुवैतर्फबाट एप्रोच सडक निर्माण अघि बढाइएको छ । पुलको डेढगाउँतर्फको एप्रोच रोड निर्माण कार्य आइतबारदेखि सुरु भएको छ भने घिरिङतर्फको एप्रोच निर्माण पनि दुई दिनभित्र थाल्ने तयारी गरिएको घिरिङ गाउँपालिकाका अध्यक्ष होम थापाले जानकारी गराए ।
अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको तीव्र बहाव र कटानले पुलको दुवैतर्फको पहुँच क्षेत्रमा क्षति पु¥याएपछि केही दिनदेखि पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीले एप्रोच सडक कटान गरेपछि सवारीसाधनसँगै पैदल यात्रुसमेत पुलबाट आवतजावत गर्न नसक्ने अवस्था बनेसंगै स्थानीयले श्रमदान गरी पुल खुलाउन जुटेका छन् । पुल अवरुद्ध हुँदा अहिले डेढगाउँ र मन्दारबीचको नियमित यातायात सम्पर्क टुटेको छ ।
पुल सञ्चालनमा ल्याउन बौदीकाली गाउँपालिकाले आफ्नै मेसिन तथा ट्रिपर परिचालन गरी डेढगाउँतर्फको एप्रोचमा फिलिङको काम सुरु गरेको छ। निर्माणस्थलमा एक्साभेटरसमेत परिचालन गरिएको छ । कामलाई थप तीव्रता दिन थप ट्रिपर परिचालन गरी फिलिङको काम अघि बढाउने तयारी भएको गाउँपालिकाको सचिवालयले जानकारी गराएको छ ।
डेढगाउँतर्फको एप्रोच सडक निर्माणको जिम्मेवारी बौदीकाली गाउँपालिकाले लिएको छ भने घिरिङतर्फको एप्रोच सडक सडक डिभिजन कार्यालय दमौलीले निर्माण गर्ने भएको छ । स्थलगत निरीक्षणका क्रममा सडक डिभिजन कार्यालय दमौलीका प्रमुखले घिरिङतर्फको एप्रोच निर्माण कार्य दुई दिनभित्र सुरु गर्ने गरी कार्यालयबाट आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।

क्षतिग्रस्त क्षेत्रको अवस्थाबारे बौदीकाली गाउँपालिका, सडक डिभिजन कार्यालय भरतपुर र सडक डिभिजन कार्यालय दमौलीका प्राविधिक तथा जनप्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षणसमेत गरेको थियो। टोलीले नदी कटानबाट भएको क्षति, तत्काल आवश्यक पर्ने संरचना, प्राविधिक व्यवस्थापन तथा पुललाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउने उपायबारे स्थलगत अध्ययन गरेको हो ।
कालीगण्डकीमा पानीको बहाव बढेसँगै पुलको दुवैतर्फको एप्रोच क्षेत्रमा कटान भएपछि सडक संरचना कमजोर बनेको थियो । त्यसपछि दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै आवागमन रोकिएको थियो । अहिले क्षतिग्रस्त भागमा आवश्यक भराइ तथा संरचना निर्माण गरी पहुँच मार्गलाई पुनः सञ्चालनयोग्य बनाउने काम अघि बढाइएको छ ।
पुल अवरुद्ध भएपछि डेढगाउँ र मन्दार क्षेत्रका स्थानीयवासीको दैनिक जनजीवन प्रभावित भएको छ । दुई जिल्लाका बस्तीलाई छोटो दूरीमा जोड्ने यो पुल स्थानीयको दैनिक आवतजावतसँगै व्यापारिक गतिविधि र कृषि उपजको ओसारपसारका लागि महत्वपूर्ण मानिन्छ । पुल बन्द हुँदा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
विशेषगरी स्थानीय उत्पादन बजारसम्म पु¥याउने किसान, दैनिक कामका लागि आवतजावत गर्ने मजदुर, विद्यार्थी तथा उपचारका लागि एक ठाउँबाट अर्को ठाउँ पुग्नुपर्ने नागरिक प्रभावित भएका छन् । पुल लामो समय बन्द रहे वैकल्पिक तथा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अवस्था आउने भएकाले निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने स्थानीयको अपेक्षा छ ।

सम्बन्धित निकायले भने पुललाई यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण सामग्री, मेसिन तथा जनशक्ति परिचालनलाई प्राथमिकता दिएको जनाएको छ । स्थानीय तह र सडक डिभिजन कार्यालयले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढाएपछि पुल सञ्चालनमा आउने आशा बढेको छ ।
तर तत्काल एप्रोच सडक बनाएर आवागमन सञ्चालन गर्नु मात्रै पर्याप्त नहुने देखिएको छ । कालीगण्डकीको बहाव र कटानको जोखिम कायम रहेकाले निर्माणाधीन पहुँच मार्गलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । नदीले वर्षेनी संरचनामा क्षति पु¥याउने अवस्था दोहोरिन नदिन आवश्यक तटबन्ध, संरक्षण संरचना तथा प्राविधिक अध्ययनसहितको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् ।
डेढगाउँतर्फ निर्माण सुरु भइसकेको र घिरिङतर्फ पनि छिट्टै काम थालिने भएपछि अवरुद्ध डेढगाउँ–मन्दार यातायात सम्पर्क पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । दुवैतर्फको एप्रोच सडक निर्माणलाई तीव्रता दिई सुरक्षित रूपमा पुल सञ्चालनमा ल्याउन सके दुई जिल्लाका स्थानीयवासीलाई आवागमन सहज हुनुका साथै व्यापार तथा कृषि उपजको ओसारपसारसमेत नियमित हुने देखिएको छ ।

अबिरल वर्षाका कारण क्षतिग्रस्त कालिगण्डकी नदीमाथिको मोटरेवल पुलको डेढगाउँतर्फको एप्रोच रोड निर्माण कार्यमा आइतबार साविक डेढगाउँ गाविस वडा नं. ६ का स्थानीयवासीहरूले श्रमदान गरेका छन् । यस्तै, आज सोमबार साविक वडा नं. ५ गुरौटार तथा दिउँसो साविक वडा नं. ९ -हालको खहरे टोल) र साविक वडा नं. ८ -हालको सिँहटारी टोल) का स्थानीयवासीहरूलले एप्रोच रोड निर्माण कार्यमा श्रमदान गर्ने बताइएको छ ।










