व्यवसायिक कीट विकास केन्द्रको सेवा–टेवा कार्यक्रम : बुलिङटारमा मौरी पालनको घुम्ती तालिम

बन्दीपुर : नवलपुरको बुलिङटार गाउँपालिका–२ रामकोटमा मौरीपालनसम्बन्धी दुई दिने स्थलगत घुम्ती तालिम तथा सेवा–टेवा कार्यक्रम गरिएको छ । व्यवसायिक कीट विकास केन्द्र, बन्दीपुर तनहुँ मौरीपालनको प्रविधि, घार व्यवस्थापन, मौरीको स्वास्थ्य तथा व्यावसायिक उत्पादनका विषयमा कृषकलाई व्यवहारिक जानकारी उपलब्ध गराउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।
गाउँमै पुगेर सञ्चालन गरिएको तालिममा स्थानीय कृषकलाई मौरीपालनका लागि आवश्यक प्राविधिक ज्ञान तथा व्यवस्थापनका उपायबारे जानकारी दिइएको थियो ।
मौरीपालनका लागि रामकोट क्षेत्रमा अनुकूल वातावरण र पर्याप्त सम्भावना रहेकाले स्थानीयस्तरमा यसको व्यावसायिक विस्तार गर्न सकिने आयोजकको भनाइ छ । मौरीपालनबाट मह उत्पादनसँगै कृषि बालीको परागसेचनमा समेत सहयोग पुग्ने भएकाले यसलाई कृषि उत्पादनसँग जोडेर आयआर्जनको माध्यम बनाउन सकिने बताइएको छ ।
तालिमका क्रममा मौरीपालन सुरु गर्दा आवश्यक पर्ने प्रविधि, घारको व्यवस्थापन, मौरीको संरक्षण तथा उत्पादन बढाउने उपायका विषयमा कृषकलाई स्थलगत जानकारी प्रदान गरिएको थियो । मौरीपालनमा सामान्य व्यवस्थापनको कमजोरीका कारण उत्पादनमा असर पर्न सक्ने भएकाले प्राविधिक ज्ञान र नियमित निगरानी आवश्यक हुनेमा समेत जोड दिइएको थियो ।
स्थानीय कृषकलाई गाउँमै प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार मौरीपालनसम्बन्धी ज्ञान तथा प्रविधि कृषकको पहुँचसम्म पु¥याउँदा नयाँ कृषकलाई व्यवसाय सुरु गर्न र भइरहेका मौरीपालकलाई उत्पादन तथा व्यवस्थापन सुधार गर्न सहयोग पुग्नेछ ।
रामकोटमा मौरीपालनको सम्भावना रहे पनि त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न प्राविधिक ज्ञान, गुणस्तरीय मौरी तथा घारको उपलब्धता, रोग तथा शत्रुजीव नियन्त्रण र उत्पादित महको बजार व्यवस्थापन महत्वपूर्ण पक्षका रूपमा रहेका छन् । कृषकलाई यस्ता विषयमा निरन्तर प्राविधिक सहयोग आवश्यक पर्ने बताइएको छ ।
कार्यक्रम रामकोटसम्म पु¥याउन समन्वय गर्ने कृषि विकास कार्यालय, नवलपुर, बुलिङटार गाउँपालिका कृषि विकास शाखा तथा रामकोट कृषक समूहलाई व्यवसायिक कीट विकास केन्द्रले धन्यवाद व्यक्त गरेको छ ।
स्थानीय कृषकको सहभागितामा सञ्चालन गरिएको तालिमले रामकोट क्षेत्रमा मौरीपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ। स्थानीय स्रोत, सीप र बजारको सम्भावनालाई जोड्न सके मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि अतिरिक्त आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।










