दशैँ
दिपेन्द्र रेग्मी

प्रीय बडा दशैँ
तिमी यसरी आँउनु
तिमी आँउदा
साच्चिकै ठुलो दशैँ जस्तै गरि आउनु ।
साँनो छँदा, ठूलो दशैँमा
बा ले किनिदिने
नयाँ लुगा जस्तै
नयाँ भएर आउनु ।
बा ले किनीदिने नयाँ लुगाबाट
आउने मगमग मीठो वास्ना जस्तै
जीन्दगीका हरेर पलमा
मगमग वासना लिएर आउनु ।
बाल्यकालका हरेक सालको
ठूलो दशैंमा-
नयाँ कपडा लाउन पाँइन्थ्यो
राती जब सिङ्गै घर निद्रामा
घरघर घुर्न थाल्थ्यो- तब म
सुटुक्क उठेर बिस्तारै
नयाँ कपडा निकाल्थें
सुमसुम्याउथें,सुंघ्थें अनि पट्याएर राख्थें ।
सुटुक्क
वडा दशैँ तिमी आँउदा
बाले दशैंमा ल्याईदिने नयाँ लुगा जस्तै
मगमग वास्ना लिएर आउनु ।
कहिलेकाही जव बा सग
लुगा किन्ने पैसा हुदैनथ्यो
तर पनि म नया लुगाको प्रतिक्षामा हुन्थे
रामसिङ्गको रुखमा चढेर होस
वा खनियाको वोटमा
बा बजारवाट फर्किने बाटो कुरेर बस्थेँ
प्रीय वडा दशैँतिमि आउदा
बाले बजारवाट कपडा नल्याउदा
चप्पलको आकार नमिल्दा
जसरी निरश र खल्लो रहन्थ्यो
त्यसैगरी खल्लो नवनाउने
दुखी नबनाउने गरी आउनु
खुसि ल्याउनु, उमङ्ग ल्याउने गरी आउनु ।
प्रीय दशैँ
तिमी आँउदा
जीवनको पहिलो प्रेम जस्तै
नयाँ भएर आउनु ।
ती प्रेमिल दिनहरुमा
शरीर कक्षा कोठामा हुन्थ्यो
आँखा झ्यालबाट बाहिर
तिमिलाई खोज्न हिंड्थे
मन तिम्रा परेलीमा अल्झिएर हराउथ्यो
यसरी टुक्राटुक्रा भएर छरिएको मन
तिमी टुप्लुक्क देखिएपछी
फेरि एउटै भएर जोडिन्थें
तिमी आँउदा ऊनी आए जसरी आउनु
म लाई म सँग जोड्ने गरि आँउनु ।
म तिमिलाई पर्खिरहेको हुनेछु
यसरी पर्खिरहेको हुनेछु
जसरी पर्खिन्छन
आँखा नखोलेका चराका बचेरा
आमा र चारो
जसरी पर्खिन्छिन आमा
लाहुरे छोराको बाटो
जसरी नयाँ साल आँउदा आँगनमा
पुरानो काठे सन्दुक भित्र
राख्छु पुरानो साललाई
पट्याएर सपक्क जतनसित
जसरी पट्याएर राख्छौ तिमी
मेरा पुराना चिट्ठीहरु
जसरी लुकाएर राख्छु म
हाम्रा गुलिया यादहरु
प्रीय बडा दशै !
तिमी आँउदा
झोलाभरी खुसी लिएर आउनु
सन्तानको खुशीका लागि
घामको उज्यालो लिएर आउनु
दुखियाका उराठिला ओठहरुका लागि
लाली गुराँससित लाली
अलिकति पैंचो लिएर आउनु ल ।
स्याङ्जा ।










