नेपालको आधुनिक उच्च शिक्षाका शिल्पकार : प्रा.डा. सुरेशराज शर्माको सम्झनामा
महाप्रसाद हड्खले

करिब ५ वर्ष अगाडि हुनुपर्छ म र मेरो श्रीमती चन्द्रावती दमौलीबाट सबेरै काठमाडौँ–धुलिखेल–सिन्धुली हुँदै बर्दिबाससम्मको पाँच दिने यात्रामा बिदा मनाउन व्यास नगरपालिका–१ स्थित आफ्नो निवासबाट सार्वजनिक यातायातबाट निस्किएका थियौं । त्यस साँझ हामी धुलिखेलको एउटा सामान्य होटलमा बास बस्यौँ । धुलिखेलको प्रसिद्ध एक हजार सिढी उक्लिएर टाकुरामा रहेको काली मन्दिरबाट दृश्यावलोकन गर्ने निर्णय गरेर हामी बिहानै होटलबाट हिँड्यौं । हामी टाकुरामा पुगेपछि मन्दिरमा पूजा गर्दै हुनुहुन्थ्यो एकजना वृद्ध महिला । साथमा उभिएर पर्खिरहनुभएको थियो एकजना पातलो अग्लो ज्यानको वृद्ध पुरुष । हाम्रो जोडीले त्यहाँ फोटो खिच्न चाहयौं । हात अगाडि बढाएर ती अपरिचित वृद्ध पुरुषले हाम्रो फोटो खिचीदिन चाहेको बताउनुभयो। मैले उहाँको अनुहारमा हेरेर चिने ।
उहाँ काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा हुनुहुन्थ्यो। हाम्रो परिचय भयो । उहाँले हामीलाई त्यस डाँडोबाट देखिने सबै दृश्यहरू चिनाउनुभयो । हामी सँगसँगै ओरालोमा झर्यौ । कहिले हाम्रो र कहिले म्याडमहरूको जोडी अघिपछि गर्दै । हामीले बाटोमा उच्च शिक्षा, तनहुँ जिल्ला, परिवार र राजनीतिका कुरा गर्यौ । डा. शर्माको तनहुँको बसाइ र अध्ययनको अनुभव पनि रोचक रहेछन । जब हामी ओरालोको अन्तिम खुड्किलोमा पुग्यौं उहाँको घर आइपुग्यौ ।
उहाँले हामीलाई चिया नखाई जान दिनुभएन । हामीले उहाँको घरको पाहुन कक्षमा चिया र बिहानको खाजा खायौँ । उहाँले आफू स्वयंले लेखेको एउटा पुस्तक हामीलाई उपहार दिनुभयो । हामीले एउटा सामूहिक तस्बिर खिच्यौँ र त्यहाँबाट निस्क्यौँ । त्यसपछि काठमाडौँको कार्यक्रम र भेलामा आकलझुकल मेरो उहाँसँग मेरो भेट हुनेगर्थौ । उहाँले मलाई केयुबाट एमफिल र पिएचडि अध्ययन गर्न प्रेरित गरिरहनुहुन्थ्यो ।
एउटा भेटमा उहाँले मलाई हजार सिंढिमा खिचेको त्यो पुरानो तस्बिर मोबाइलबाट देखाउनु भएको थियो । मालाइ चेलो सम्झेर होला शैक्षिक प्रशासक भएर गर्नहुने र नहुने धेरै विषयमा सुझाव पनि दिनुभएको छ । मैले त्यो पालना गर्दै आएको छु । एउटा अध्ययन भ्रमणमा भारतको न्यु दिल्ली जाँदा राजदूतावासको एउटा कार्यक्रममा उहाँसँग भेट भएको थियो । त्यस भेटमामा उहाँले मलाई जवाहरलाल विश्वविद्यालयका दक्षिण एसिया मामलाका विशेषज्ञ एक भारतीय प्राध्यापकसँग भेट गराइदिनुभएको थियो। तिनै प्राध्यापकको सहयोग त्यसपछि हाम्रो क्याम्पसको एउटा टोली जवाहरलाल विश्वविद्यालयको अध्ययन भ्रमणमा नयाँ दिल्ली गएको थियो । डा. शर्माको जस्तो सादगी पूर्ण, सहयोगी र हितैषि व्यवहार त हामी हाम्रो नेपालमका विश्वविद्यालयहरूका पूर्व उपकुलपतिहरूबाट दुर्लभै अपेक्षा गर्न सक्छौँ ।
हालै उहाँको निधनको खवरले स्तव्ध बनायो । नेपालले हालै उच्च शिक्षाका एक अनुभवी पथप्रदर्शक, दूरदर्शी शिक्षाविद् र विश्वविद्यालय निर्माता गुमायो भन्ने लाग्यो छ । मलाइ त लाग्छ प्रा.डा. सुरेशराज शर्माको असामयीक निधन केवल एक व्यक्तिको अवसान मात्र होइन, नेपाली उच्च तथा प्राविधिक शिक्षाको एउटा उज्यालो युगको अन्त्य पनि हो । उहाँको पार्थिव शरीर अब हामीबीच छैन, तर उहाँले रोप्नुभएको ज्ञानको बिरुवा, निर्माण गर्नुभएको संस्थागत संस्कार र हजारौँ विद्यार्थीको जीवनमा बाल्नुभएको चेतनाको दीप युगान्त बलिरहने छ ।
उहाँले गौरवका साथ भन्नुहुन्थ्यो म सिन्धुलीको खुर्कोटमा सातसालको क्रान्ति भन्दा १ दशक अगाडि जन्मेको प्रारम्भिक शिक्षा घरमै संस्कृत पढेर आर्जन गरेको पुरानो मान्छे हुँ तर भविष्यको पुस्ताको आवश्यकताको पूर्वानुधान लगाउन सक्छु। साधारण पारिवारिक वातावरणबाट उठेर उहाँले ज्ञानको कठिन बाटो रोज्नुभएको थियो । वि.सं. २००८ मा कर्नाटक विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गर्नुभएका उहाँले पछि बेलायतको युनिभर्सिटी अफ साउथ बैंक, लण्डनबाट रसायनशास्त्रमा विद्यावारिधि गर्नुभयो । विदेशबाट उच्च शिक्षा हासिल गरेपछि उहाँ स्वदेश फर्किनुभयो– आफ्नो ज्ञानलाई व्यक्तिगत उपलब्धिमा सीमित नराखी देशको शैक्षिक रूपान्तरणमा समर्पित गर्नुभयो ।
वि.सं. २०२३ देखि कीर्तिपुरमा अध्यापन सुरु गर्नुभएका शर्माले त्रिचन्द्र कलेजमा सात वर्ष अध्यापन गर्नुभयो । उहाँका विद्यार्थीमध्ये एक नेपाली कांग्रेसका नेता तथा नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय अध्यक्ष भीमसेनदास प्रधानले डा. शर्मा जत्तिको सरल व्यक्ति विरलै भेटिन्छन भन्नु भएको छ ।
विदेशबाट फर्किएपछि शर्माले राष्ट्रिय शिक्षा समितिमा सदस्य–सचिवका रूपमा एक दशकभन्दा बढी समय योगदान दिनुभयो । शिक्षा नीति, विज्ञान–प्रविधि र उच्च शिक्षाको विकासबारे उहाँको गहिरो अध्ययन थियो । त्यस स्पष्ट दृष्टिले राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण प्रभाव पारेको थियो । उहाँ पदमा बसेर मात्र काम गर्ने प्रशासक हुनुहुन्थेन । उहाँ संस्थाको भविष्य देख्ने, त्यसलाई आकार दिने र दीर्घकालसम्म टिक्ने आधार निर्माण गर्ने शिल्पी हुनुहुन्थ्यो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उहाँ त्यसका प्रथम कार्यकारी निर्देशक भएकोमा र उहाँको नेतृत्वमा प्राविधिक शिक्षा राजधानी र केही सहरमा मात्र सीमित नभइ कर्णालीको जुम्ला, दोलखाको जिरी र धनकुटाजस्ता दुर्गम तथा विकट क्षेत्रसम्म प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न सेकेको सगौरव व्याक्त गर्नु भएको थियो । भौगोलिक कठिनाइलाई उहाँले बहाना होइन, अझ बढी काम गर्नुपर्ने चुनौतीका रूपमा लिनुभयो । नेपालको प्राविधिक शिक्षाको संस्थागत जग बसाल्ने काममा उहाँको योगदान अतुलनीय रह्यो ।
उहाँको सबैभन्दा ठूलो संस्थागत कृति काठमाडौं विश्वविद्यालय हो। वि.सं. २०४८ मा विश्वविद्यालय स्थापनाको यात्रामा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । धुलिखेललाई केन्द्र बनाएर वि.सं. २०५० देखि पठनपाठन सुरु भएको काठमाडौं विश्वविद्यालय आज नेपालको उच्च शिक्षाको गौरवशाली परिचय बनेको छ । उहाँ लगातार छ कार्यकाल, जम्मा २१ वर्ष, सन् १९९१ देखि २०१२ सम्म विश्वविद्यालयको उपकुलपति रहनुभयो । यो अवधि केवल पदमा निरन्तरता होइन, एउटा विश्वविद्यालयलाई शून्यबाट उठाएर अन्तर्राष्ट्रियस्तरको संस्थामा रूपान्तरण गर्ने तपस्याको इतिहास हो ।
उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक कम्प्युटर इन्जिनियरिङ, इन्जिनियरिङ, फार्मेसी र वातावरणीय विज्ञानजस्ता नवीन विषयको पठनपाठन सुरु भयो । विज्ञान, प्रविधि, व्यवस्थापन, स्वास्थ्य र इन्जिनियरिङका क्षेत्रमा काठमाडौं विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान बनायो । शर्माले विश्वविद्यालयलाई तत्कालीन उपलब्धिको आधारमा होइन, भविष्यका सम्भावनाको आधारमा हेर्नुभयो। उहाँको दृष्टिमा विश्वविद्यालय केवल भवन, पाठ्यक्रम र परीक्षा प्रणालीको नाम थिएन; त्यो स्वतन्त्र चिन्तन, अनुसन्धान, नवप्रवर्तन र राष्ट्र निर्माणको केन्द्र थियो ।
शिक्षाविद केदारभक्त माथेमा, डा. भगावन कोइराला, डा. बावुराम उप्रेतीका लागि डा. शर्मालाई केवल अग्रज शिक्षाविद होइन, लामो समयदेखि विचार र कर्ममा जोडिएको आत्मीय सहयात्री सरल मानिस, तर असाधारण विद्वान, उच्च शिक्षाको भविष्यबारे लामो संवाद गर्न रुचाउने, कहिल्यै उत्तेजित नहुने र शान्त व्याक्तित्व भनेर सम्झन्छन । समकालिन विद्धानहरुले डा. शर्मालाई दूरदर्शी नेतृत्वकर्ता, विश्वविद्यालय र शिक्षाको भविष्य द्रष्टा र काठमाडौं विश्वविद्यालयको भविष्य, स्वायत्तता र संस्थागत सबलीकरणमा सदा चिन्तित व्याक्ति भनेका छन । धेरैलाई उहाँको सरल, स्पष्ट र सहयोगी भूमिका स्मरण योग्यछन । उहाँका सहकर्मीहरूको साझा निष्कर्ष छ– शर्मालाई ठूलो बन्ने मोह थिएन, तर उहाँको सोच असाधारण रूपमा ठूलो थियो । उहाँ सरल हुनुहुन्थ्यो, तर सामान्य होइनÙ विनम्र हुनुहुन्थ्यो, तर दृष्टिविहीन होइन ।
राजनीतिक दलका नेताहरु र प्रशासक गायतले उहाँको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली प्राविधिक तथा उच्च शिक्षामा उहाँले पु¥याउनुभएको योगदान स्मरण गरेका छन । शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने उहाँको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उहाँको अन्त्येष्टि हुनु राज्यले उहाँको योगदानलाई दिएको सम्मानको प्रतीक हो। प्रतिनिधिसभाको बैठकमा सीटीईभीटी र काठमाडौं विश्वविद्यालयमार्फत नेपालको उच्च तथा प्राविधिक शिक्षामा पु¥याउनुभएको योगदान स्मरण गर्दै उहाँलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्न र राष्ट्रिय सम्मान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउन सभामुखमार्फत माग गरिएको छ। उहाँको ऐतिहासिक योगदानप्रति उच्च सम्मान व्यक्त गर्ने यो माग उहाँले निर्माण गर्नुभएको शैक्षिक विरासतको सार्वजनिक स्वीकारोक्ति पनि हो ।
अब प्रश्न उठ्छ– नेपाली युवाले, उच्च शिक्षा नीति निर्माणमा संलग्न व्यक्तिहरूले, राजनीतिज्ञ र शिक्षा योजनाकारहरूले शर्मालाई कसरी सम्झने? उहाँलाई सम्झनु भनेको केवल शोकसभा आयोजना गर्नु वा स्मृतिग्रन्थ प्रकाशित गर्नु होइन । उहाँको विचारलाई नीतिमा रूपान्तरण गर्नु हो । विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपबाट मुक्त, शैक्षिक गुणस्तरमा आधारित र आफ्नै बोर्ड तथा ट्रस्टी प्रणालीबाट सञ्चालित हुनुपर्छ भन्ने उहाँको दृष्टि आज पनि उत्तिकै सान्दर्भिक छ ।
उहाँ वास्तवमा तत्कालीन लोकप्रियताभन्दा दीर्घकालीन संस्थागत विकासमा विश्वास गर्नुहुन्थ्यो । युवाहरूले उहाँबाट सिक्नुपर्ने पहिलो पाठ यही हो– शिक्षा क्षेत्रमा छोटो बाटो हुँदैन । गुणस्तर र पहुँचबीच सन्तुलन कायम गर्नुपर्छ । उच्च शिक्षा समाजका आवश्यकतासँग जोडिनुपर्छ । प्राविधिक शिक्षा दुर्गम गाउँसम्म पुग्नुपर्छ, तर विस्तारको नाममा गुणस्तर घट्नु हुँदैन । राजनीतिक प्रभावभन्दा शैक्षिक योग्यता, संस्थागत इमानदारी र सार्वजनिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ ।
राष्ट्रले उहाँलाई साँचो श्रद्धाञ्जली दिन चाहन्छ भने काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त बनाउने कानुनी र संस्थागत प्रक्रिया शीघ्र पूरा गर्नुपर्छ । बोर्ड अफ ट्रस्टी मोडलमा लैजान आवश्यक विधेयकको मस्यौदा तयार भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयनमा लैजानु नै उहाँको अधुरो सपना पूरा गर्ने पहिलो कदम हुनेछ । प्राविधिक तथा उच्च शिक्षामा गुणस्तर कायम गर्नु, संस्थाहरूलाई राजनीतिक हस्तक्षेपबाट जोगाउनु, दीर्घकालीन योजना र अनुसन्धानमा लगानी गर्नु तथा सरलता, इमानदारी र दूरदृष्टिको संस्कारलाई शैक्षिक नेतृत्वमा स्थापित गर्नु नै वास्तविक श्रद्धाञ्जली हो ।
प्रा.डा. सुरेशराज शर्मा अब एउटा नाम मात्र होइन, एउटा शैक्षिक संस्कार हुनुहुन्छ । उहाँले बनाएका संस्था, हुर्काएको शैक्षिक संस्कृति र प्रेरित गरेका विद्यार्थीहरू उहाँका जीवित स्मारक हुन् । उहाँको शरीर माटोमा विलीन भएको छ, तर उहाँको दृष्टि काठमाडौं विश्वविद्यालयका कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयमा बोलिरहनेछ। उहाँको सपना हजारौँ विद्यार्थीको आँखामा उज्यालो बनेर बाँचिरहनेछ ।
कहिलेकाहीँ मानिसहरू विदा हुन्छन्, तर उनीहरूले बनाएका बाटाहरू बाँकी रहन्छन् । सुरेशराज शर्मा त्यस्तै बाटो बनाउने यात्री हुनुहुन्थ्यो । उहाँले देखाएको शैक्षिक बाटोमा हिँडिरहँदा हामीले उहाँलाई सम्झिरहनेछौँ– एक सरल मानिसका रूपमा, एक असाधारण विद्वान्का रूपमा, र नेपालको शिक्षा इतिहासमा उज्यालो अक्षरले लेखिएको दूरदर्शी राष्ट्रनिर्माताका रूपमा ।
सहप्राध्यापक : आदिकवि भानुभक्त क्याम्पस, व्यास–१, तनहुँ










