बाग्लुङ, पर्यटन र गलकोट दरवार
के.बि. मसाल

मानव प्रकृतिप्रेमी हो । प्रकृतिमा भएका हिमाल पहाड र यस भित्रका ऐतिहासिक सम्पदामा पर्यटकहरु पुग्न चाहन्छन । पछिल्लो समय नेपालीहरुमा घुम्ने संस्कृति ह्वात्तै बढेको छ । विशेष गरी युवाहरुमा घुम्ने क्रेज बढदो छ । फुर्सदको समयमा सपरिवार पनि घुम्न निस्कने प्रचलन बढिरहेको छ । नयाँ ठाउँमा घुम्न जाँदा नयाँ अनुभूति पर्यटकहरुले पाउँछन । तर घुम्न जाने ठाउँको छनोट भने घुम्न निस्कनु भन्दा पहिले नै गर्नुपर्दछ । नेपालमा गण्डकी प्रदेशमा सबैभन्दा बढी पर्यटकहरु घुम्न जाने गर्दछन । पोखरा पर्यटनको राजधानी समेत मानिन्छ । पोखरा पुगेपछि धेरै पर्यटकहरु बाग्लुङमा पुग्दछन । बाग्लुङमा पुगेपछि पर्यटकहरु संस्कृति, इतिहास तीर्थाटन गर्ने उद्देश्य राख्दछन । बाग्लुङ जिल्लामा घुमफिर गर्न आजभोली धेरै गाउँमा कच्ची भएपनि मोटर मार्ग पुगेको छ ।
बाग्लुङमा मालढुगादेखि पश्चिम पूर्वी रुकुमको सिमाना पातिहाल्नेसम्म १२५ किलोमिटर मध्यपहाडी लोकमार्गको सडकले चिरेको छ। अर्को तर्फ कालिगण्डकी करिडोरले पनि बाग्लुङलाई यातायातको क्षेत्रमा पहुच पु¥याएको छ । लोकमार्गले बाग्लुङका दुई वटा बाहेक अन्य सबै पालिकालाई प्रत्यक्ष परोक्ष छोएको छ । पोखरादेखि बाग्लुङ जादा कालिगण्डकी नदीमा बञ्जीजम्प, स्काई साइक्लिङ, कुस्मा बलेवा जोडने यान्त्रिक पुल र बन्जी पुलको अवलोकन गर्न सकिन्छ । कुस्माको कटुवाचौपारी ज्ञादी जोडने पुल त्रिकोणात्मक शैलीमा निर्माण भएका विश्वकै अग्ला र लामा पुलहरु कुस्मा–मुडिकुवा, मुडिकुवा–कैया, कैया–बडागाँउ झोलुङे पुलहरुको अवलोकन मात्र नभएर कुस्मा बजारको गुप्तेश्वर महादेवको तीर्थाटन समेत पर्यटकहरुले गर्न सक्दछन ।
नेपाल भित्रपनि नेपाल अर्थात नेपाल जस्तै स्यानो नक्सा भएको जिल्ला हो वाग्लुङ । गण्डकी प्रदेशमा पर्ने वाग्लुङ नेपालको झोलुङेपुलको तथ्याङ्क अनुसार सबै भन्दा धेरै झोलुपुल भएको जिल्ला पनि हो । त्यसैले वाग्लुङलाई पुलै–पुलको जिल्ला भनेर पनि चिन्हे गरिन्छ। पाल्पाका राजा मुकुन्दसेनले आफ्नो छोरीलाई उपहार दिएको मूर्ती वाग्लुङ बजारको कालीकादेवी को मन्दिर, सोह्र हजार पर्वतको नामबाट पनि प्रसिद्ध, गल्कोट, विहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट जस्ता कोटका राज्य भएको क्षेत्र, वाग्लुङ बजारदेखि पश्चिममा रहेको मुस्ताङ जिल्लाको दामोदरकुण्ड, कागवेनी हुँदै बग्दै आउने कालीगण्डकीले पनि पर्यटनकालागि वाग्लुङको महत्व बढाएको छ। यो बाहेक वाग्लुङमा घुम्न जादा पर्यटकहरुका लागि ऐतिहासिक, धार्मीक, सांस्कृतिक, पर्यावरणीय, जैविक आदी दृष्टिकोणले पनि बाग्लुङ पर्यटनका लागि महत्व मानिन्छ।
बाग्लुङमा भएका सबै कोटको छुट्टा छुट्टै ऐतिहासिक पहिचान रहेको छ । तर बाग्लुङ घुम्न जाँदा घुम्ने ठाउँको योजनासहित पर्यटकहरुको प्याकेज कार्यक्रम भने हुनु पर्दछ । आजभोलि बाग्लुङमा पर्यटकहरु पुग्ने ठाउँमा गाउँपिच्छे होमस्टे सञ्चालनमा छन । पर्यटकहरुका लागि खान बस्न कुनै असुविधा हुँदैन । मात्र पर्यटकसँग घुम्ने समय र यात्रामा हुने खर्चको हिसाब किताव भने गर्नै पर्ने हुन्छ । बाग्लुङ घुम्न जाँदा इतिहासमा रुचि राख्ने पर्यटकहरुले गलकोट र घुम्टेको लेक भने पुग्नै पर्ने हुन्छ । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टेको लेक र टेउवा गाउँ । बीचमा पर्दछ गलकोट दरबार। कुनै बेला मल्ल राजाहरुले शासन गरेको गलकोट दरबार अहिले इतिहासमा रुचि राख्ने पर्यटकहरु खोज अनुसन्धान गर्न पुग्छन । वि.सं. १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको गलकोट दरबारमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढन थालेको छ ।
गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकहरुको सख्या बढदै गएको छ । हरिचौर बाग्लुङको पुरानो सदरमुकाम पनि हो । वि.सं. २०१९ मा बाग्लुङको सदरमुकाम हरिचौर बजारबाट बाग्लुङ बजार सारिएको थियो । वि.सं. १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । ऐतिहासिक गलकोट दरबार आजभोलि स्वरुप नै फेरिएको छ । टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । आजभोली दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ। बाग्लुङ घुम्न जाने पर्यटकहरु गलकोट पुगेन भने उसको यात्रा नै अधुरो मानिन्छ । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झयाल ढोका पुरानै स्वरुपमा फेरिएका छन भने रङ रोगन पछि दरबार पुरानै स्वरुपमा चिटिक्क भएको छ ।
दरबारको पुनःनिर्माणसहित दरबार वरपर अहिले पर्यटनका लागि पूर्वाधार बन्न थालेका छन । पर्यटकहरुका लागि रिसोर्ट निर्माण हुन थालेको छ । तत्कालीन मल्ल राजाले निर्माण गरेको पोखरी समेत मर्मत भएको छ । दरबार वरपर बगैँचा, पिङलगायत पर्यटकहरुका लागि मनोरञ्जन गर्ने पार्क निर्माण भएको छ । अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत गलकोट दरवार पुग्ने गरेका छन । दरबारलाई सग्रहालयका रुपमा विकास गर्न थालिएको छ । दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री संग्रहित भएका छन ।
इतिहास अनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत मल्ल राजा भएका थिए । गलकोट राज्य विशाल नेपालमा विलय भएपछि सत्ताच्यूत भएका राजा जगत मल्लले तत्कालीन नेपाल सरकारसँग अनुनय विनय गरेपछि केही जग्गा बिर्ता पाएका थिए । जगत मल्लको मृत्युपछि वि.सं १९६९ देखि यिनका छोरा भरतबम मल्लका नाममा गलकोट दरबारको सबै जमिन आएको थियो । त्यसपछि वि.सं १९९७ वैशाख ९ गते राजा भरतबमलाई थप बिर्तासहित राजाको श्रीपेच लगाउन पाउने गरी प्रशासनिक, न्यायिक एवं आर्थिक अधिकार दिइएको थियो। यिनका छोरा थीरबम २००७ सालको राणा शासनविरुद्धको क्रान्तिमा वीरगञ्जमा शहीद भएका थिए भने अर्का नाति माधवबम मल्ललाई जनयुद्धकालमा माओवादीले हत्या गरेका थिए । गलकोट दरबार परिसरमा माधवबमको हत्यापछि उनको परिवार विस्थापित भएका थिए ।
बाइसे र चौबिसे राज्यकालमा अस्तित्वमा रहेको गलकोट राज्य पर्वत राज्यको एक अंग थियो । गलकोट भुरे–टाकुरे राजाको पालामा पनि आत्मनिर्भर भएर राज्य सञ्चालन भएको पाइन्छ । गलकोटका राजाको पालामा तीनवटा तामा र एउटा फलाम खानी सञ्चालन गरी राज्यलाई आर्थिक उत्पादनमा लगाएका थिए । इतिहासकार ह्यामिलटनको भनाइ अनुसार डिम्ब नाम गरेका ती राजा गर्मीको समयमा ढोरपाटन क्षेत्रमा र जाडोको समयमा ताकममा बसी राज्य चलाउने गर्दथे । बाग्लुङ पौराणिककालदेखिनै उद्यमी ठाउँको रुपमा चिनिन्छ । नेपालका धेरै जिल्लामा आधुनिक कागज कारखाना नभएको समयमा बाग्लुङको ताराखोला, तमान र वुंवादेभानका उद्यमीहरुले जंगली लोक्ताबाट नेपाली हाते कागज उत्पादन गरी विक्रि वितरण गर्दै आएका थिए । वाग्लुङमा अर्को प्रख्यात घरेलु उद्योग भनेको राडीपाखी पनि हो । पाण्डवखानी, वुंगादोभान, निसि र रणसिंह किटेनीका उद्यमीहरुले उत्पादन गरेका राडीपाखीले पनि एउटा समयमा उल्लेखनिय प्रसिद्धि पाएको थियो । त्यसै गरी घर छाउने स्लेट ढुङगाको लागि पनि वाग्लुङको तारा, अर्गल, नरेठाटी, हरिचौर, जैदी रेश र नीसी जस्ता गाउँहरुले गाउँघरको मागलाई अहिलेसम्म पूर्ती गर्दै आएको छ।
गलकोट पुगेपछि एकैछिन पर्यटकहरु अलमल पर्दछन । गलकोट वरिपरि पहाडै पहाड बीचमा समथर भूमि, खडका थान अर्थात गोलकोत, सहश्रधारा, निलुवा, घुम्टे, गाईघाट झरना, गाजाको दह, मोतीमारेको दह, सम्परखाको दह, हरिचौर बजार उत्तर र पूर्वबाट बगेका कन्चन खोला, गौँदी र दरौँको दोभान आदि जस्ता प्राकृतिक दृष्यले पर्यटकहरुलाई गलकोट नै बसिरहुँ भने जस्तो गराउँछ । गलकोट क्षेत्रको लोक संस्कृतिले सबै पर्यटकलाई भुलाउँछ । यानीमाया, सालैजो, नानीलै, सोरठी, घाटु जस्ता लोकभाकाले पर्यटकको मन तान्छन । अर्गलको भुस पोल्ने मेला, ताराको असारे मेला, पाण्डवखानीको घाटु, मल्मको सोरठी नाच आदि गलकोटका मौलिक संस्कृति हुन । गलकोट पुगेपछि पर्यटकहरुले ऐतिहासिक महत्व अध्ययन गर्ने हो भने गलकोटको गोलो पहाडको टाकुरामा रहेको कोतघर पुग्नैपर्दछ ।
गलकोटको गोलो पहाडको टाकुरामा कोतघर अर्थात झिंगटीको दरबार निर्माण गरी बि.सं. १६३१ मा राजा जितारी मल्लले राज्य सञ्चालन गर्न थालेका थिए । त्यस पश्चात पर्वतका राजा प्रतापी नारायण र गोरखाका राजा रामशाह गलकोट पुगेर केही समय बसी धार्मिक यज्ञसमेत लगाएका थिए । कोतमा जितारी मल्लले आफ्नो साथमा ल्याएको इष्टदेवीलाई कोट दरबारको दक्षिण पूर्वी दिशामा मन्दिर बनाई पूजा आजा चलाएका थिए । मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती, भगवती र गणेशका मूर्तिहरु छन । त्यो समयमा पनि गलकोट राज्यको पर्वत राज्यसँग भाइ भारदारको सम्बन्ध थियो भने गुल्मी, अर्घाखाँची, कास्की, पाल्पा राज्यहरुसँग मैत्री सम्बन्ध गाँसिएको थियो । नेपाल एकीकरणको अभियानमा बि.सं. १८४४ जेठ महिनामा गलकोट राज्यलाई गोरखा राज्यका सेनाले आक्रमण गरी विजय प्राप्त गरेका थिए । यसरी बि.सं. १६३१ सालमा स्थापित भएको गलकोट राज्य २१३ वर्षपछि अर्थात बि.स.१८४४ सालमा नेपाल राज्यमा एकीकृत भएको थियो ।
गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न जाने पर्यटकले एकैछिन थकान मेटाउन र बालबालिकालाई रिफ्रेसमेन्ट गराउनका लागि हरिचौर बजारमा पार्क निर्माण भएको छ । टेउवा ऐतिहासिक गलकोट दरबारको शिरमा पर्दछ। टेउवामा पुग्ने पर्यटकहरुलाई घुम्टे लेकले स्वागत गरिरहेको हुन्छ । गलकोटदेखि माथिको एक हजार ९८० मिटरको उचाइमा रहेको टेउवा गाउँको डाँडामा अन्तर्राष्ट्रिय मूर्तिकारहरुले प्राकृतिक पत्थरमा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न पर्यटकहरु पुग्ने गर्दछन । विशेष गरी चाडपर्व र विदाको दिन टेउवामा पर्यटकहरुको भीड लाग्ने गर्दछ । मूर्तिकारले टेउवा डाँडामा ढुंगामा जल, जंगल, जमिन, पहाडलगायतका आकृति तयार गरेका छन । गलकोटदेखि हरिचौर हुँदै करिब एक घण्टाको यात्रामा टेउवा पुग्न सकिन्छ । तर आजभोलि टेउवाको मूर्तिकला भएको स्थानमा पुग्न मोटरमार्ग पनि निर्माण भएको छ । गलकोट दरबार र टेउवाको मूर्ति अवलोकन गरेपछि पर्यटकहरु पुग्नै पर्ने अर्को स्थान भनेको घुम्टेकोे पहाड हो । घुम्टेको लेक बाग्लुङको चर्चित पहाड हो । घुम्टेको पहाडको सौन्दर्यलाई कैद गर्दै क्यांै टेलिफिल्म निर्माण भएका छन । कतिपय कलाकारहरुले घुम्टेको लेकको भाकामा गीत बनाएका छन। घुम्टे नपुगेका मानिसहरुलाई पनि नाम सुन्दैमा जाउँँ–जाउँ गराउँछ ।
गलकोट नगरपालिकाको हरिचौर, मल्म, पाण्डवखानी, ताराखोला गाउँपालिकाको हिल र ताराको सिमानामा पर्दछ घुम्टे लेक पर्दछ । घुम्टे पहाडको धुरी समुन्द्र सतहदेखि तीन हजार १२० मिटर उचाइमा पर्दछ । घुम्टेको मनोरम भू–बनोट, हिमश्रृंखला, सूर्योदय, सूर्यास्तको अवलोकन गर्नका लागि धेरै पर्यटक पुग्ने गर्दछन । पर्यटनको लागि घुम्टे लेकको प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
घुम्टे पुग्न रिचौर, टेउवा हुँदै जाने पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । प्राकृतिक सुन्दरता, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घनाजंगल घुम्टेका सौन्दर्य हुन । घुम्टे लेकमा पर्यटनको लागि पूर्वाधार बन्दै गएपछि पर्यटकहरुको चहलपहल बढन थालेको छ । गुराँस फुल्ने समयमा घुम्टे पुग्ने पर्यटकहरुको संख्या उल्लेख्य हुने गर्दछ। घुम्टे लेकमा दर्जन प्रजातिमा गुराँस भएको अनुमान छ । बसन्त ऋतुमा फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटहरुक घुम्टे पुग्ने गरेका छन । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुंगा, दहपानी, टोडकेपानी, पैराका सोतो शालीग्राम घुम्टे पुग्ने पर्यटकहरुका लागि आकर्षण हुन। घुम्टेमा पुगेपछि पर्यटकहरुलाई आकर्षण गर्ने थुप्रै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरु छन । घुम्टे पहाडमा उत्तरतर्फ फर्किएको मामा सिद्धको मन्दिर र दक्षिणतर्फ फर्किएको भान्जा कालभैरवको मूर्तिलाई पूजा गरेमा मनोकामना पूरा हुने विश्वास पर्यटकहरुले गर्दछन । सिद्ध–भैरवप्रतिको आस्थाका कारण गलकोट क्षेत्रका गाउँलेहरुले वर्षको दुईपटक वैशाख चण्डिपूर्णिमा र बुद्ध पूर्णिमाको अघिल्लो दिन घुम्टेमा पूजाआजा गर्दछन ।
घुम्टेको डाँडाबाट पर्वत, कास्की, बागलुङ, म्याग्दी, गुल्मी, र अर्घाखाँचीका प्रायः सबै गाउँहरु अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण हिमश्रृंखला अन्तर्गतका १६ वटा हिमाल पर्यटकहरुलाई आफ्नो अगाडि उभिएझैं लाग्छ । घुम्टे वरपरका पहाडी जनजीवन पर्यटकलाई नौलो अनुभूति हुन्छ । पर्यटनको लागि बाग्लुङका सबै कोटका चुचुराहरु प्राकृतिक भ्यूटावर हुन भन्दा पनि हुन्छ । बाग्लुङका सबै कोटहरु कुनै न कुनै ऐतिहासिकतासँग जोडिएका पनि छन । अधिकांश कोटमा मठ मन्दिरहरु पनि छन । बाग्लुङ जिल्लाको अधिकाशं भू–भाग पूर्वी भागमा ढल्केको छ । पूर्वी भेगको सिमाना पवित्र कालीगण्डकीले दिएको छ । म्याग्दी, पर्वत र वाग्लुङको विचमा कालीगण्डकी वहने हुदा वातावरणिय हिसावले पनि पर्यटनको लागि वाग्लुङ राम्रो ठाउ मानिन्छ । पर्यटकहरुको लागि वाग्लुङका धेरै भूगोलबाट धौरागिरी, माच्छापुञ्छे जस्ता हिमाल देखिए पनि वाग्लुङमा भने हिमाल छैन । तर पनि हिमाली हावापानी, हिमाली भेगमा पाइने वन्यजन्तुको बारेमा अध्ययन गर्न र दृष्यावलोकन गर्नलाई भने ढोरपाटन छ ।
कसरी पुग्ने ?
पोखरादेखि बाग्लुङ ७२ कि.मी र बाग्लुङ बजारदेखि गलकोट ४५ किलोमिटरको दूरीमा पर्दछ । गलकोट जानको लागि बाग्लुङ बजारदेखि मध्यपहाडी लोकमार्ग हुँदै घोडाबाँधे पुग्नु पर्दछ । घोडाबाँधेबाट तोराह, घुमखानी, नरेठाँटी, मजुवा हुँदै हरिचौर पुगिन्छ। गलकोटको यात्रामा पर्यटकहरुसँग आफ्नै बलेरो अथवा स्कार्पिओ जस्ता साना सवारी साधन अथवा मोटर साइकल भयो भने यात्राको मज्जा छुट्टै हुन्छ ।










