शाह वंशको इतिहास र लमजुङ उदिपुरको कालिका
के.बि. मसाल

इतिहास भित्रका नयाँ कुरा जान्नको लागि अध्यन र अवलोकन गर्न पर्दछ । पर्यटनमा हिमाल, ताल र प्रकृतिसंग रमाएको जस्तो इतिहासमा हुँदैन । ऐतिहासिक सम्पदाको ज्ञान हासिल गर्नको लागि स्थलगत अध्यन गर्नुपर्ने हुन्छ । इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विवेचना भएको कुरा लेखेको शास्त्रनै इतिहास हो । सबै ऐतिहासिक सम्पदाको बारेमा इतिहास लेखनमा छुटेको पनि हुन सक्दछ। इतिहास बनेका घटना र कुराहरु पछिल्लो पुस्ताहरुले सुन्दा र पढदा अचम्म हुन्छन । कतिपय कुराहरु उनिहरुका लागि अपत्यारिलो पनि हुन सक्दछ । पछिल्लो समय शाह वंशको इतिहासमा रुचि राख्ने पर्यटकहरु लमजुङमा पुग्न थालेका छन ।
पृथ्वी राजमार्गको पोखरा–काठमाण्डौ सडकमा पर्ने डुम्रेदेखि लमजुङ र मनाङ जाने सडक सुरुहुन्छ । हुन त आजभोली मध्यपहाडी लोकमार्गले पनि गोरखा र कास्की अर्थात पोखराबाट पनि लमजुङ प्रवेश गर्न सकिन्छ । तर पनि चलन चल्तिको मार्ग भनेको डुम्रे–बेसिशहरको सडक मार्ग नै हो । डुम्रेबाट ४२ किलोमिटरको यात्रामा लमजुङको सदरमुकाम बेसीशहर पुगिन्छ । लमजुङ र तनहुँ जिल्लाको सिमा पउदीढिकको बजारमा पर्दछ । पाउदीढिकको बजारदेखि सुरु हुन्छ लमजुङ । बिचमा मस्र्याङदी नदी वारीपारी रमणीय ऐतिहासिक डाँडाकाँडा, सडक किनारमा खेतीयोग्य रहर लाग्दो उर्वर भूमी भोटेवडारका बजार क्षेत्र हुँदै रामदीको डाँडामा पुगेपछि देखिन्छ लमजुङको उदिपुरको कालिका मन्दिरको थुम्को डाँडा। पहिलो पटक लमजुङको यात्रामा रहेको पर्यटक कालिका मन्दिरको थुम्को डाँडा देख्दैमा अचम्म मान्दछ । उदिपुर बजार क्षेत्रमा पुगेपछि धेरै तीर्थाटनका पर्यटकहरु कालिकाको मन्दिरमा पुग्ने गर्दछन । कालिकाको मन्दिर अर्थात थुम्को डाँडाको फेदीसम्म मोटर मार्ग पुगेको छ। मोटरबाट ओर्लेपछि मात्र पाँच मिनेटमा २२३ खुड्किला सिडी मार्गको यात्राबाट कालिका मन्दिर परिशरमा पुग्न सकिन्छ । खोज अध्यनमा रुचि भएका पर्यटकहरुका लागि कालिका मन्दिर पुग्नै पर्ने गन्तब्यमा पर्दछ ।
लमजुङको पाँच सय बर्ष पहिलेको इतिहास आधिकारिक रुपमा लेखिएको छैन भन्दा पनि हुन्छ । लेखिएका धेरै इतिहास पनि लोक कथनमा आधारित छन । इतिहास मानिएका धेरै मठ मन्दिर र सम्पदाहरुको पनि शिलालेख भेटिदैन। उदिपुरको कालिका मन्दिर नरहरि शाहको पालामा स्थापना भएको मानिन्छ । तर कालिका मन्दिरको बारेमा कुनै शिलालेख भने भेटिदैन । इतिहास लेखनमा कनकपत्र, ताम्रपत्र, शिलापत्र मुख्य प्रमाण हुन्छ । इतिहास लेखनमा शिलालेखले तथ्यकुरा पहिल्याउन मद्दत गर्दछ। शिलालेख नभेटिए पनि उदिपुरको कालिकाको उत्पत्ती बारे बिभिन्न लोककथाहरु भने छन । आदिम कालदेखि समाजमा सुनाउदै र सुन्दै आएका कतिपय लोक कथा पछि गएर त्यसैलाई इतिहास मान्ने प्रचलन पनि छ। उदिपुर कालिकाको मन्दिर भएको थुम्को अर्थात डाँडा २ हेक्टर अर्थात ३९ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरको डाडामा साल, चिलौने हर्रो, बर्रो र ओदालका रुखहरु छन । सुरुमा बर्रोको रुखको जरामुनीबाट पुजा गर्न थालिएको कालिका भगवतीलाई पछि वरिपरी ढुंगाको पर्खाल लगाएर बिच बिचमा प्वाल राखि पुजा गर्ने पनि प्रचलन थियो । त्यसपछि ढुंगाको छाना र टिनको छानाबाट पनि मन्दिर बन्यो । टिनको छानाको मन्दिर निर्माण गर्दा गुठी सस्थानबाट पनि केही रकम सहयोग भएको थियो ।
कालिकाको मन्दिरमा पुग्ने पर्यटकहरुले मन्दिरको इतिहास खोज्दछन। शाह वंशको इतिहासलाई आधार मान्ने हो भने लमजुङका राजा यशोबह्म शाहको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह वि.सं १५९८ मा राजा भएका थिए । राजा नरहरि शाहको पालामा लमजुङमा केही सुधार उन्मुख बिकासका काम भएको थियो । नरहरि शाहले बेसीशहरको राजकुलो कर्पुटार र भोर्लेटारको राजकुलो त्यसपछि भोटे ओडारको कुलो निर्माण गराएका थिए । नरहरि शाहले उदिपुरको कालिका मन्दिर मात्र होइन त्यहि समयमा चिती रामचोकमा निशान कालिका मन्दिर निर्माण गर्न लगाएका थिए। स्थापना कालमै दुबै मन्दिरको पुजाआजा चलाउन गुठीको ब्यवस्था पनि नरहरि शाहले नै गरेका थिए । अर्को तर्फ नरहरि शाहले कर्पुरेश्वर र ईशानेश्वर मन्दिरको पनि पुन निर्माण समेत गराएका थिए। नरहरि शाह धार्मीक स्वभावका थिए। नरहरिले गाउँशहरको कोटमा कचरीघर, पूजाकोठा, अखण्डदीप कोठा, दशैंघर आदि पनि निर्माण गराएका थिए । गाउँशहरको कालीकामा मन्दिरमा वडादशैं र चैतेदशैंमा पूजा गर्न राँगा, बोका, भेडाथुमे, सुँगुरको बलि दिने व्यवस्था पनि नरहरि शाहकै पालामा भएको थियो। कालिकाको मन्दिरमा पर्व पर्वमा वेद,चण्डी, दुर्गाकवच, रुद्री पाठ र पूजा आरती गर्ने व्यवस्था नरहरि शाहले गरेका हुन ।
राजा नरहरि शाहको पालामा अर्थात आजभन्दा ४८३ बर्ष पहिले स्थापना भएको कालिकाको मन्दिर अहिले गुठि सस्थानको स्वीकृती लिएर बेसिशहर नगरपालिका ११ चिती निवासी अध्यात्मिक चिन्तक समाजसेवी प्रेम बाबु बिष्टले निजी लगानीमा भक्तपुरे ईटा प्रयोग गरी कालिकाको मन्दिर, काल भैरव, होमनकुण्ड र पाटी अर्थात पौवा निर्माण भएको छ । मन्दिर परिशरमा बाग्लुङदेखि ढुंगा लगेर बिछाइएको छ । पर्यटकहरु मन्दिर परिशरमा पुग्ना साथ सबैको क्यामेरा क्लिक क्लिक हुन थाल्दछ। कोही मन्दिरको फोटो लिन्छन भने कोही भिडिओ बनाउन लाग्दछन । कालिका मन्दिर पर्यटनको लागि प्राकृतिक भ्युटावर पनि हो । मन्दिर परिशरबाट नागवेली आकारमा बग्दै आएका मस्र्याङदी र दोर्दी खोलाको दोभान त्रिवेणी अवलोकन गर्न सकिन्छ। मध्य मस्र्याङदी पावर हाउसको बाध र हिमालय हाइड्रो पावरको विद्युतगृह पनि कालिका मन्दिर पशिरबाट देख्न सकिन्छ । पर्यटकहरुले अर्को तर्फ चिती रामचोकको निशान कालिका मन्दिर र त्रिवेणीमा रहेको त्रिलोक्यश्वर महादेवको मन्दिर समेत कालिका मन्दिरबाट देख्न सकिन्छ । कालिका मन्दिर परिशरबाटनै चिती र रामचोक गाउँका धेरै भू–भाग नजिकैबाट नियाल्न सकिन्छ । अको तर्फ उदिपुर गाउँ, खत्रीचौर र बल्थुम गाउँ समेत नजिकैबाट देखिन्छ । कालिका मन्दिरमा आजभोली पिकनिङ स्पोट समेत निर्माण भएको छ । कालिका मन्दिरको फेदिमा उदिपुर निवासी शारदा प्रसाद लोहनीले जमिन खरिद गरी आफ्नै लगानीमा सत्तल अर्थात पाटी समेत निर्माण भएको छ ।
उदिपुरको कालिकाको अभिलेख पुरातत्व विभागमा भेटिदैन । तर राम शाहको पालामा उदिपुर कालिका मन्दिरमा ८० मुरी खेतको खान्गी गुठी राखेको अभिलेख भने छ। गुठी सस्थानको अभिलेख अनुसार गुठीको जमिन मध्य २० मुरी अक्षताको लागि र झाडू कुडारे सातघरले खानु भन्ने छ । गुठी जमिनमा पन्त र मिश्रको बिवाद भएपछि श्री ३ देव शमशेर जंगबहादुर राणाको शासनकाल बि.स. १९६५ मा कालिकाको बिवाद बारे मुद्दा परेको थियो । यो मुद्दा १६ बर्ष पछि श्री ३ चन्द्र शमशेरको पालामा बि.स. १९८१ मा पन्तको पक्षमा फैसला भएको थियो । अहिलेका पुजारी रामचन्द्र पन्त सातौ पुस्ताका पुजारी हुन । कालिका मन्दिरको प्रतिमा स्वरुप उदिपुरको मोटर मार्गको छेउमै फुलपाती चढाउने थान पनि छ । यसले के दर्शाउँछ भने कालिकाको महत्व परापूर्व काल देखिनै रहदै आएको मानिन्छ। कालिका मन्दिरमा बि.स. २०५७ साल देखि उदिपुर कालिका मन्दिर गुठी ब्यवस्थापन समिति चयन भएको छ । ब्यवस्थापन समितीमा सुरुमा अध्यक्ष पुरुषोतम जोशी हुँदै हर्क बहादुर बुढाथोकी, बिष्णु प्रसाद अधिकारी र अहिले चौथो कार्य समितिमा अध्यक्ष बलराम श्रेष्ठ हुनु हुन्छ।
चिती रामचोकको निशान गढी अर्थात कालिका मन्दिरको पनि छुट्टै इतिहास रहेको छ । द्रब्य शाहले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरुको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इष्र्या भयो । उनले भाइ द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन्। यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढयो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरु बनाइ पटक पटक प्रयास गर्यो तर सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । धेरै पटक दाजु भाइको बिचमा झगडा हुँदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउदै सिमा कायम गरेको इतिहास छ ।
त्यो बेला गोरखाको लिगलिगकोटदेखि लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरु चेपे तरेपछि साइलीटार हुँदै प्याराजुङ, भार्ते भएर दोर्दी खोला तरि रामचोक बेसीको बाटो हिडने गर्दथिए । आफ्नो राज्यसंग लडन द्रव्य शाहका सेनालाई टाढा बाटनै देख्न सकियोस भनेर नरहरि शाहले चिती रामचोकमा निशान कालिकागढी निर्माण गर्न लगाएका थिए । चिती ऐतिहासिक ठाउँ हो । चिती शब्द भागवत महापुराण र सप्तचण्डिमा समेत भेटिन्छ । चितीलाई चेतना भएको मानिसहरुको बसोवास गर्ने ठाउँ पनि भन्ने गरिन्छ । लमजुङका राजा रिपुमर्दन शाहले आफ्नो शासनकालमा शासन गर्न सजिलो होस भनी लमजुङलाई २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । जसमा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनि राज्यले सैनिक राख्ने ठाउँ । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ। भने जस्तै चितीलाई राजाको चिताईदारहरुलाई बसोबास गर्न खटाइएको ठाउँ भन्ने उल्लेख गरिएको छ ।
नेपालमा शक्ति पिठको इतिहास अनुसार सतीदेवीको अग पतन भएको स्थानलाई मान्ने गरिन्छ । धार्मीक शास्त्र अनुसार भगवानको स्त्री स्वरुपलाई शक्ति मानिएको हो । देवी भागवतका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा गरेर कूल १०८ वटा शक्तिपीठहरु रहेका छन । त्यस्तै, देवीगीताका अनुसार कूल ७२ वटा शक्तिपीठहरु रहेका छन । तन्त्र चूडामणिका अनुसार कूल ५२ शक्तिपीठहरु रहेका छन । देवी पूराणले भने ५१ वटा मात्रै शक्तिपीठको बारेमा चर्चा गरेको छ । त्यो ५१ मध्ये नेपालमा २ वटा शक्तिपीठहरु पर्दछन । त्यसबाहेक स्कन्द पूराणले पनि शक्तिपीठहरुको बारेमा उल्लेख गरेको छ। स्कन्द पुराणका अनुसार सतिदेवीको अंग पतन भएको ठाउँमा धेरै शक्तिपिठका मन्दिरहरु रहेका छन । उदिपुरको कालिका मन्दिर पनि शक्तिपिठ त होइन तर पनि शक्तिपीठका रुपमा पुजिन्छ । कालिका देवीको तीर्थाटन गर्दा मागेका कुरा पूरा हुने जनविश्वास छ । उदिपुरको कालिका मन्दिर सबै जातजातिहरुले शक्तिपीठका रुपमा पुजाआजा गर्ने गरिन्छ । कालिको मन्दिरमा नियमित पुजाआजा बाहेक बिजया दशमीको नवदुर्गा र चैत्र दशैको अष्ठमीको बेला पञ्चवली र अन्य तीर्थाटनका पर्यटकहरुको भिडनै हुने गर्दछ ।
शाह वंशको इतिहास
लमजुङ शाहवंशीय शासनको उदगमथलो हो । लमजुङमा १६औं शताब्दीतिर नेपाल बाइसे चौबिसे राज्यमा विभाजित हुँदा बि.सं. १५५० मा यशोब्रम्ह शाहले राज्य गर्दथिए । त्यो भन्दा पहिला वि.सं १५४० मा कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यको राजा तुर्लुङकोटमा बनाएका थिए । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारिएको थियो । अहिले पनि पुरानोकोटमा दरवारको भग्नावशेष देख्न सकिन्छ । कालु शाहलाई तत्कालीन घलेराजाका सेनाले हत्या गरिदिए पछि कुलमण्डलका कान्छा छोरा यशोब्रम्ह शाहलाई राजा बनाएका थिए । लमजुङमा यशोब्रम्ह शाहदेखि क्रमश नरहरि शाह, चूडा शाह, अचिन्द्र शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह रिपुमर्दन शाह र बीरमर्दन शाह समेत गरी वि.सं. १५५० देखि १८३९ सम्म ३०० वर्षसम्म शाह वंशले राज्य गरेको इतिहास छ । त्यो ससमयमा लमजुङ स्वतन्त्र राज्यको रुपमा थियो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह थिए । शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु र साहसी राज्यको रुपमा लमजुङलाई लिइएको पाइन्छ ।
लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै लमजुङ दरबार बनेको थियो । लमजुङ दरबारमा अहिले शाह वंशको इतिहास खोज अनुसन्धान गर्न पर्यटकहरु पुग्ने गर्दछन् । राजा यशोब्रम्ह शाहका नरहरि शाह र द्रव्य शाह २ छोरा थिए। छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाहलाई केही अधिकार दिएर यशोब्रम्ह शाहले राइनासकोटको गोठमा पठाए । द्रब्य शाह लमजुङ दरबारमै हुर्किएका हुन । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११औं पुस्ता पृथ्वीनारायण शाह हुन् ।
यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार, किल्ला, चौतारी, सिंढी र धर्मपानी निर्माण गर्न लगायको इतिहास छ । यशोब्रम्ह शाहले गाउँशहरमा गर्मीको राजधानी र बेंसीशहर जाडोको राजधानी बनाएका हुन । वि.सं. १५९८ मा उनले लमजुङमा तोप ढाल्न लगाई सैनिकलाई मजबुती गराएका थिए। कालु शाहका छोरा नरपति शाहलाई राजा यशोब्रम्हले लमजुङको उत्तरतिरका चार गाउँको अक्तियारी दिएका थिए । पछि नरहरि शाह विरुद्ध लागेकाले नरपति मारिएका थिए । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गर्दा पनि लमजुङ भने स्वतन्त्र रहेको थियो। गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि वि.सं १८३९ मा राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको हो ।










