खोलाको पानी उपभोग गर्दै आएका खाल्टेका बासिन्दाको घरघरमा धारा

- भञ्ज्याङ समाचारदाता (देवघाट)
तनहुँको देवघाट गाउँपालिका-२ खाल्टेका बासिन्दाले झेल्दै आएको खानेपानीको सहज आपुर्ति र सडक पहुँचको समस्या अब छिट्टै अन्त्य हुने भएको छ । खाल्टे खानेपानी तथा सरसफाइ उपभोक्त समितिले सञ्चालन गरेको खाल्टे खानेपानी आयोजनाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले खाल्टे बस्तीको खानेपानी र सडकको समस्या अब छिट्टै समाधान हुने बताएका छन् ।
‘खानेपानीको समस्यले गर्दा स्थानीयहरु सधैं चिन्तित भइ रहेको बेला अब भने खाल्टे बासीले चिन्ता लिनु पर्दैन’, अध्यक्ष थापाले भने, ‘अब घर घरमा खानेपानीको मिटर जडान गरी शुद्ध स्वच्छ खानेपानीको उपभोगका साथै खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेती समेत लगाउन पाउनुहुने छ ।’
‘खाल्टे, बन्चरे हुँदै देवघाट जोड्ने मोटर मार्गबाट पनि छिटै यो बस्ती जोडिने अवस्थामा पुगेको छ’, अध्यक्ष थापाले भने, ‘यही बर्ष भित्र बस्तीमा बिजुली बत्ती पनि बाल्ने गरी गाउँपालिकाले काम गरिरहेको छ ।’
अध्यक्ष थापाले देवघाटको वडा नम्बर २ खाल्टे बस्तीमा बाख्रा पालनको पकेट क्षेत्र भएकाले व्यवसायीक रुपमा बाख्रा पालन गरी गाउँमा स्वरोजगार र आम्दानीको स्रोत बनाउन स्थानीयलाई आग्रह गरेका छन् ।
यहाँका करिब एकसय घरधुरीमा खानेपानीको मिटर जडान गरिएसंगै स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । खोला खोल्सीको पानी उपभोग गर्दै आएकोमा अब घरघरमै स्वच्छ सफा पानी उपभोग गर्न पाउने अवस्था बनेको हुँदा हामीलाइै निकै खुसी लागेको स्थानीय तारामाया मल्ले बताइन् ।
यहाँका बासिन्दाले गाउँकै चित्ने खोला, तातो खोला र दरङ्गा खोलाको पानी उपभोग गर्दै आएका थिए । खानेपानी तथा सिचाइ डिभिजन कार्यालयको १ करोड ४७ लाख रुपैयाँका लागतमा खाल्टे खानेपानी आयोजना सम्पन गरी घरघरमा धारा जडान गरिएको छ ।
खाल्टे खानेपानी उपभोक्त समुहका अध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा आयोजित खानेपानी आयोजना उद्घाटन समारोहमा गाउँपालिकाका कार्यपालिका सदस्य बलकुमारी परियार, सहमति गैंडाकोटका परियोजना प्रमुख शिव सुवेदी, आदर्श माध्यमक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमाया वंसी, आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हेमराज श्रेष्ठ, साविक वैदी-४ का पुर्व वडा अध्यक्ष नर बहादुर सिङ्ग, कालीगण्डकी आमा समुहकी अध्यक्ष प्रभा श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका देवघाट गाउँपालिकाका अध्यक्ष शेर बहादुर मल्ल लगायतले खानेपानी आयोजना निर्माण सम्पन्नसंगै यहाँका बासिन्दाले सहज रुपमा स्वच्छ खानेपानी उपभोग गर्न पाउनेमा विश्वास व्यक्त गरे ।










