सेती नदी घाटका खानीमदजुरको पीडा : न कसैले देख्छ, न कसैले सुन्छ
नियमनकारी निकायले अनुगमन गरी समयानुकुल श्रमको ज्याला तोकिदिनु पर्यो : मजदुरहरु
- नारायण खड्का (दमौली)
हुँदा खाने र गरिखानेको दैनिकी छुट्टै छ । काम अनुसारको ज्याला त कमैले पाउँछन् । कतिले त त्यो पनि समयमै नपाउँदा कष्टकर दैनिकी गुजार्नुपर्ने बाध्यता यथावत नै छ । यो वर्गको समस्या समाधानका विषयमा कही कतै चर्चा त हुन्छ होला । तर, मजदुरको पीडा न कसैले देख्छ, न कसैले सुन्छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको करिब ७/८ किलोमिटर दुरीको पेरिफेरीमा सेती नदी बग्छ । यही सेती नदीसंग धेरैको वर्तमान र भविष्य जोडिएको छ । सेती नदीबाट नदीजन्य वस्तु उत्खनन् गरी केही व्यक्तिको रातारात जीवनस्तर उकासिएको पनि छ । तर, यही नदीको बगरमा खानी मजदुरका रुपमा दुइतिन पुस्ताले मजदुरी गरेपनि उनिहरुको जीवनस्तर माथि उठ्न सकेको छैन ।
शुक्लागण्डकीको दुलेगौंडा बजार नजिकै शाँखर घाट छ । यो घाटमा बिहान ५ बज्दा नबज्दै चहलपहल सुरु हुन्छ । हातमा गैची, बेल्चा, कोदालो लगायतका औजार बोकी बालबालिका, युवायुवती मात्र होइन ७० वर्ष उमेर नाघेका वृद्धवृद्धा समेत यही घाटको गिट्टीबालुवासंग हातेमालो गरी आफ्नो गुजरा चालउन व्यस्थ देखिन्छन् ।

दुइ महिने सुत्केरी समेत आफ्ना सिसुलाई डोकोमा बोकेर खानी मजदुरको रुपमा खट्टीन्छन् । गिट्टीबालुवा उत्खनन् गरी दिनमा मुस्किलले ७ सय रुपैयाँसम्म कमाउने मजदुरहरु राम्रो माल (गिट्टीबालुवा) पाउनु पनि भाग्यको खेल हो भन्छन् ।
दुइ महिनाको बच्चा काँखिमा च्यापेर सेती नदी किनारमा बालुवा (चोकर) चाल्ने सुनमाया गुरुङको पनि दैनिकी हो । सेती नदीको बगरमा बिगत १२ वर्षदेखि उनले बालुवा चाल्दै आएकी छन् । हरेक दिन विहान ५ बजेदेखि साँझ ७/८ बजेसम्म उनि श्रीमानसंगै बगरको चिसो सिरेटोमा बालुवासंग खेलछिन् ।

१६ वर्षको उमेरमा बिबाह भएको बताउने सानुमायाको उमेर अहिले ३४ पुगेको छ । उनले अहिलेसम्म ५ वटा सन्तानलाई जन्म दिएकी छन् । ‘एउटी छोरी र ३ वटा छोरा पोखरामै आफ्नो कर्म गरेर बसेका छन् । म, सानो दुइ महिनाको छोरी र श्रीमान भने शुक्लागण्डकी नगरपालिका-२ स्थित कोठा भाँडामा लिएर बसेका छौ’, उनले भनिन्, ‘यसरी बच्चालाई खोला किनारमा ल्याउदा गार्हो त हुन्छ, काम नगरी खाना पाइदैन ।

बच्चालाई चिसो लाग्छ कि भन्ने पनि डर हुन्छ तर, घरमा बच्चा हेर्ने कोही नभएपछि न्यानो कपडा लगाएर भएपनि संगै ल्याउछु।’ रातको समयमा ओतका लागि कोठामा गएपनि सुनमायाको दिनको समय भने शुक्लागण्डकी-२ साँखरघाट मै बलुवा चाल्दै बित्छ। उनी भन्छिन्, ‘बिहानै उठेर खाना बनाई टिफिनमा राखेर यही ल्याउँछौं । श्रीमान श्रीमती मिलेर बालुवा चाल्छौं । छोरीलाई न्यानो गरेर डोकोमा राख्छौं । अनि साँझ कोठामा फर्किन्छौं ।’

श्रीमान् श्रीमतीले दिनभरीको समय खोलामै बिताउदा महिनामा १०/१५ हजार रुपैयाँ जम्मा हुने सुनमायाले बताइन् । ‘हामीले निकालेको चोकर टिपर/ट्याक्टर आएर लगिदिए एक टिपको ७ सय रुपैयाँ पाउछौं’, उनले भनिन्, ‘कहिलेकाही एकै दिनमा ७ सय रुपैयाँको कमाई हुन्छ कहिले भने २/३ सय रुपैयाँ मात्र हुन्छ ।’
सुनमाया मात्र होइनन् उनीजस्तै धेरै आमाहरु स-साना बच्चा च्यापेर घाटमा बालुवा चाल्नका लागि आउँछन् । कसैले त आफ्नो दुइ/तीन पुस्ताले नै घाटमा बालुवा चालेर विताएका छन् । शुक्लागण्डकी-२ की ६८ वर्षीय धनमाया गुरुङ आफु १४ वर्षकै उमेरदेखि घाटमा आएर बालुवा चाल्न सुरु गरेको सुनाउछिन् । उनले भनिन्, ‘माइता हुँदा बाआमाले खेतिकिसानी गर्नुहुन्थ्यो । १४ वर्षको उमेरमा विवाह भयो त्यसपछि घाट छिरेको अहिलेसम्म यहि छु ।’
‘घाट खुलेको समयमा चोकर निकाल्न भनि विहानै ५ बजे आएर साँझ फर्किन्छु’, उनले भनिन्, ‘अब त बुढो पनि भई सके पहिलेको जस्तो जोस, बलका साथ काम गर्न सक्दिन, तैपनि घरमै बसिरहनु भन्दा जे जानिएको छ त्यहि काम गर्छु भनि आएकी हु ।’ ३ वटा छोरा ३ वटा छोरी जन्माएकी उनी कान्छो छोरासंग बस्दै आएकी छन् । छोराहरु गाडी चलाउने बताउँदै उनले भनिन्, ‘घरमा सबै आ-आफ्नै काममा व्यस्ता छन् । घरमा एक्लै बस्नुभन्दा पहिलेदेखि नै खाईखेलेको ठाउँ आएर सबैलाई देख्न पाउँदा खुसी लाग्छ ।’

यी महिला जस्तै रातको समयमा ओतका लागि आ-आफ्नो घर, कोठा वा टहरोमा गएपनि दिन यही घाटमा बिताउनेको संख्या सयौंको छ । कोरोना कहरका कारण करिब ९ महिनापछि घाट खुल्ला भएको छ । घाट बन्द हुँदा निकै कष्टकर दैनिकी गुजार्नुपरेको मजदुर मन बहादुर थापा बताउँछन् । उनले भने, ‘स्थानीय पालिकाले नदीजन्य वस्तु उत्खनन् तथा खरिद बिक्रीका लागि ठेक्का लगाउँछन् । घाट ठेक्का लिएका ठेकेदारले हामीले उत्खनन् गरेको गिट्टीबालुवा एक ट्याक्टरको ७ सय रुपैयाँमा खरिद गर्ने गर्छन् । हामीले उत्खनन् गरेको गिट्टीबालुवा ट्रक तथा ट्याक्टरले उठाइदिएनन् भने कति दिन बिना कमाई बस्नुपर्ने पनि हुन्छ ।’
ठेकेदारले उनिहरुसंग खरिद गरेको गिट्टीबालुवा कतिमा बिक्री वितरण गर्छन मजदुरहरुलाई थाहा छैन र उनिहरुले चासो पनि दिंदैनन्ल । करिब ५० वर्षदेखि शाँखरघाटमा बिताएका ७० वर्षीय खानीमजदुर पदम बहादुर भुजेल भन्छन् ‘हामीलाई काम गर्न दिनुपर्यो, महंगि बढ्दो छ तर, हाम्रो ज्याला कहिल्यै बढेन । यस तर्फ नगरपालिका तथा अन्य निकायले ध्यान दिनुपर्यो । अनुगमन गरिदिनु पर्यो । समयानुकुल हाम्रो दररेट तोकिदिनु पर्यो ।’

उनले भने, ‘क्रसर उद्योगको मनपरी र ठेकेदारहरुले हाम्रो समस्या नबुझिदिदा विभिन्न समस्या झेल्दै आउनुपरेको छ । हामी दिनभरी काम गर्छौ तर, हाम्रो श्रमको मूल्य हामीले तोक्न सक्दैनौं । ठेकेदारले जति दिन्छ त्यति नै हात थाप्नु पर्छ । हाम्रो श्रमको दररेट नगरपालिकाले तोकिदिए धेरै राहत हुने थियो ।’
नेपालका विभिन्न जिल्लाबाट आई तनहुँको कोत्रे, नर्सरी, हलेदी, सुरौदी, साँखर, धुनधुरे, सिमलडाँडा लगायतका घाटहरुमा काम गर्नका लागि मजदुरहरु आउने गर्दछन् । यीनै घाटमा मजदुरहरुले उत्खनन् गरेको गिट्टीबालुवा खरिद गरी क्रसर उद्योगहरु सञ्चालित छन् ।

सयौं मजदुरहरुको गुजारा यहि घाटको बालुवा चालेर चल्ने गरेको शुक्लागण्डकी-२ का स्थानीय त्रिलोचन लम्साल बताउँछन् । पछिल्ला समय क्रसर उद्योगहरुले ठुला ठुला मेशिनको प्रयोग गरी खोलाबाट बालुवा झिक्न थालेपछि रोजीरोटी गुम्ने खतरा बढेको छ, घाट खुलाउँदा तथा ठेक्का लगाउँदा स्थानीय पालिकाले व्यवस्थापन गरिदिनुपर्ने उनको भनाई छ ।
सेती नदीमा रहेको ढुङ्गा गिट्टी बालुवालाई सम्बन्धित पालिकाले सहि रुपमा व्यवस्थापन गर्न नसक्दा आन्तरिक आय पनि गुमाएका छन् । घाट खुलाउने कार्यलाई व्यवस्थापन नगरिदा मजदुरहरु शोषित पीडित बन्नुपरेको छ । उनीहरुले चालेका बालुवा कतिमा लगेर कतिमा बिक्री हुन्छ ? यसको अनुगमन तथा न्रि्रानी सम्बन्धित निकायले गरी मजदुरको श्रमको उचित मूल्य तोकिदिएमा गरिखाने वर्गलाई थप राहत मिल्ने देखिन्छ ।










