तनहुँको व्यास-७ मा महिलाहरुको निःशुल्क पाठेघर परीक्षण शिविर सञ्चालन

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिका-७ कलेस्तीमा महिलाहरुको निःशुल्क पाठेघर परीक्षण शिविर गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा सिर्जना शर्माको नेतृत्वको टोलीले ग्रामीण क्षेत्रका महिलाहरुको पाठेघर सम्बन्धी समस्याको उपचार गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरमा नर्सिङ अधिकृत राधिका रेग्मी, अस्पताल नर्सिङ निरिक्षक पुष्पा महर्जन लगायत पाँच जनाको टोली र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारीको सहभागीतामा करिब १५० जना महिलाहरुको पाठेघरको परीक्षण गरिएको व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए । शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर न्युनीकरणका लागि निःशुल्क स्वास्थ शिविर गरिएको उनले बताए ।
नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राही मध्ये सबैभन्दा बृद्व महिला सेतीमाया केसीलाई बिरामी उपचार पूर्जी दिएर शिविरको शुभारम्भ गरेका थिए । पाठेघरको मुखको क्यान्सर बारे सचेत हुँदै बेलैमा उपचार गराउन यस्ता शिविरहरूले प्रभावकारी हुने भन्दै नगरपालिकाले बिगतका बर्षरूदेखि नै पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क शिविरगर्दै आएको प्रमुख न्यौपानेले बताए ।
शिविरमा नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरू उपचार गर्न समेत लजाउने, आफ्नो समस्या भन्न पुरूष चिकित्सकसँग डराउने भएकाले महिला प्रसुति रोग विशेषज्ञको नै व्यवस्था गरिएको बताइन् ।
उक्त शिविर शुभारम्भ समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले अनुभवी तथा प्राज्ञ विशेषज्ञको टोलीको उपस्थितिमा सञ्चालन गरिने शिविरबाट स्थानीय महिलाहरुले सहज रुपमा उपचार सेवा पाउने विश्वास व्यक्त गरे । विकास भनेको शिक्षा र स्वास्थ्यको सूचक सहित यिनीहरूलाई प्रभावकारी कार्यान्वयन गर्नु भएकाले स्वास्थ्य त्यसमा पनि चुनौतिपूर्ण अवस्थामा रहेको र महिलाको पाठेघरको मुखमा हुने क्यान्सरका बारेमा शिविर सञ्चालन गर्न व्यास नगरपालिका सफल भएको उनले बताए । व्यास नगरपालिकाका-७ का वडाअध्यक्ष सतिशचन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा कलेस्ती उपत्यका, पाथ्रा, चिन्टुटार, गजौंडेलगायतका ग्रामीण क्षेत्रका सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।










