आफ्नै भवनबाट सेवा प्रवाह गर्ने अभियानमा आँबुखैरेनी

  • रासस (दमौली)

आँबुखैरेनी गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको हो । सोही बमोजिम निर्माण शुरु भएको प्रमुख प्रशासकीय भवनको काम ८० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको काम फागुन मसान्तभित्र सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो। रु तीन करोड ७७ लाखको लागतमा निर्माण शुरु भएको भवनमा रु एक लाख २५ हजार खर्च भइसकेको छ । ‘फागुन मसान्तभित्र निर्माण सकेर नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखेका छौँ’, उहाँले भन्नुभयो । गाउँपालिकाले हाल कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको छ । ‘साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ भवन बनेपछि सहज हुनेछ’, उहाँले भन्नुभयो। नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच राखिएको छ । त्यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । ‘नपुग रकम आगामी वर्ष विनियोजन गर्र्छौं, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो’, प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भन्नुभयो ।

गाउँपालिकाले विभिन्न वडा कार्यालयको भवन निर्माणलाई समेत तीव्रता दिएको छ । वडा नं १ र ५ को वडा कार्यालय भवनको निर्माण सम्पन्न भएको छ भने वडा नं ४ को निर्माणाधीन अवस्थामा छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि जग्गा यकिन गरिएको छ भने वडा नं ६ को डिपिआर तयार भएको छ। वडा नं १ को भवन रु ७४ लाख ४२ हजार ७०० को लागतमा सम्पन्न भएको छ । वडा नं ४ को भवन रु ५२ लाख ४२ हजारमा निर्माणाधीन छ । भवनको काम ७० प्रतिशत सम्पन्न भएको छ। वडा नं ५ को भवन रु ५३ लाख ५० हजारमा निर्माण सम्पन्न भएको छ । वडा नं ६ का लागि रु ७० लाख बजेट अनुमानित गरिएको छ । त्यस्तै गाउँपालिकाले रु ५४ लाखको लागतमा वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र, रु ५४ लाखकै लागतमा वडा नं २ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरेको छ भने वडा नं ४ मा रु ५० लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बोलपत्र सम्झौता गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सबै वडा कार्यालयलाई सुविधासम्पन्न भवन बनाउँदै जनतालाई सहजरुपमा सेवा दिने उद्देश्यमा गाउँपालिका रहेको जानकारी दिनुभयो । ‘निर्माण हुन बाँकी रहेका वडा कार्यालयको भवन पनि छिट्टै शुरु गर्छौ’, उहाँले भन्नुभयो ।

म्याग्देमा भवन बन्दै

तनहुँको म्याग्दे गाउँपालिकाले चालू आवमा चारवटा वडा कार्यालय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । सोही बमोजिम वडा नं ४ र ६ को शिलान्यास भएको छ भने ३ र ७ को शिलान्यास हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । वडा नं १ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नं २ को भवन भने पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले प्रमुख प्रशासकीय भवनसमेत निर्माण शुरु गरिसकेको छ । दुइ वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु १० करोड ३५ लाख ६९ हजार ८८४ को लागतमा निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार ८५८ को काम हुनेछ ।

चालू आवमा प्रोटेक्शन वर्क्स, जमीन मिलाउने, कालोपत्रबाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा बायोइन्जिनीयरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्र र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker