सम्पादकीय : नारेश्वरताल – पानीको पोखरीबाट समृद्धिको सम्भावना

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण सम्पन्न भएको नारेश्वरताल जलाशय लिफ्ट सिँचाइ योजना गण्डकी प्रदेशको जलस्रोत विकासमा एउटा नयाँ अभ्यासका रूपमा लिन सकिन्छ । सिँचाइका लागि पानी सञ्चय गर्ने उद्देश्यले निर्माण गरिएको यो जलाशयलाई सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न सकियो भने यसले कृषि उत्पादन मात्र होइन, पर्यटन, वातावरण संरक्षण र स्थानीय रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ । जलाशय निर्माणको पहिलो उद्देश्य दुम्सीचौरको करिब १५ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउनु हो । पानीको अभावका कारण खेती गर्न कठिन भइरहेको क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा पुग्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो । तर यसको सम्भावना यतिमै सीमित हुनु हुँदैन । कृषि र पर्यटनलाई जोडेर अघि बढाउन सके नारेश्वरताल स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बन्न सक्छ ।
आजका पर्यटक केवल ठूला होटल र मनोरञ्जनका लागि मात्र गन्तव्य खोज्दैनन् । प्राकृतिक वातावरण, शान्त स्थान, स्थानीय संस्कृति, खानपान र ग्रामीण जीवनशैलीप्रति आकर्षण बढिरहेको छ । दुम्सीचौरमा बनेको जलाशयलाई यही सम्भावनासँग जोड्न सकिन्छ । ताल वरपर पैदलमार्ग, विश्रामस्थल, दृश्यावलोकन क्षेत्र, डुंगा सयर, पिकनिकस्थल तथा व्यवस्थित हरियाली विकास गर्न सकियो भने यो क्षेत्र स्थानीय र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ। तर पर्यटन विकासका नाममा प्राकृतिक वातावरण बिगार्ने गल्ती भने गर्नु हुँदैन। तालको पानी, जलचर, आसपासको वनस्पति र जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ । प्लास्टिकजन्य फोहोर, अनियन्त्रित निर्माण र अव्यवस्थित भीडले केही वर्षमै प्राकृतिक आकर्षणलाई कमजोर बनाउन सक्छ । त्यसैले नारेश्वरतालको विकास …पूर्वाधार थप्ने; मात्र नभई ‘प्रकृति जोगाउँदै उपयोग गर्ने’ अवधारणामा आधारित हुनुपर्छ ।
यस योजनाको अर्को महत्वपूर्ण पक्ष स्थानीय रोजगारी हो । ताल बनेपछि बाहिरबाट व्यवसायी ल्याएर मात्र आर्थिक गतिविधि बढाउने सोच पर्याप्त हुँदैन । स्थानीय बासिन्दालाई नै पर्यटन र कृषि अर्थतन्त्रको प्रत्यक्ष लाभग्राही बनाउनुपर्छ । स्थानीय युवालाई डुंगा सञ्चालन, पर्यटन मार्गदर्शन, सरसफाइ, आतिथ्य, होमस्टे तथा अन्य पर्यटन सेवासम्बन्धी सीप प्रदान गर्न सकिन्छ । स्थानीय उत्पादनमा आधारित होटल तथा रेस्टुरेन्ट सञ्चालन, तरकारी तथा फलफूल बिक्री, मत्स्यपालन, हस्तकला र अन्य साना व्यवसायमार्फत गाउँमै आम्दानीको अवसर सिर्जना गर्न सकिन्छ । सिँचाइ सुविधा विस्तारसँगै व्यावसायिक कृषिलाई पनि योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रविधि, बजार व्यवस्थापन, भण्डारण र प्रशोधनसँग जोड्न सके जलाशयले केवल खेतमा पानी पु¥याउने होइन, किसानको आम्दानी बढाउने आधारसमेत तयार गर्न सक्छ । उत्पादन भयो तर बजार भएन भने सिँचाइको उपलब्धि अधुरो रहन्छ । त्यसैले कृषि र पर्यटनलाई एउटै स्थानीय आर्थिक चक्रमा जोड्नु आवश्यक छ ।
नारेश्वरतालको अर्को सम्भावना वातावरणीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नु पनि हो । विद्यालय तथा समुदायका विद्यार्थीलाई जलस्रोत संरक्षण, जैविक विविधता, पानीको महत्व र जलवायु परिवर्तनका विषयमा व्यवहारिक ज्ञान दिने स्थल बनाउन सकिन्छ । जलाशय र यसको जलाधार क्षेत्रलाई संरक्षण क्षेत्रको अवधारणासँग जोड्न सके भविष्यका पुस्ताका लागि पनि यसको महत्व कायम रहनेछ । योजनाको निर्माणमा प्रदेश सरकार र स्थानीय तहबीच भएको सहकार्यलाई यसको दीर्घकालीन सञ्चालनमा पनि निरन्तरता दिनुपर्छ । संरचना बनाउनु उपलब्धिको एउटा चरण हो, त्यसको नियमित मर्मत, सुरक्षा, सरसफाइ, पानीको न्यायोचित वितरण र आर्थिक रूपमा दिगो सञ्चालन अर्को ठूलो चुनौती हो । स्थानीय समुदायलाई व्यवस्थापनमा सहभागी नगराई सरकारी संरचनामात्रै भरमा राख्दा अपेक्षित परिणाम हासिल गर्न कठिन हुन्छ ।
नारेश्वरताललाई एउटा ताल वा सिँचाइ आयोजना भनेर मात्र हेर्नु यसको सम्भावनालाई साँघुरो बनाउनु हो । यो कृषि, पर्यटन, वातावरण र रोजगारीलाई एउटै सूत्रमा जोड्ने अवसर हो । योजनाको उद्देश्यअनुसार स्थानीय नागरिकको जीवनस्तर सुधार्न सकियो भने यसको वास्तविक सफलता त्यही हुनेछ । अबको आवश्यकता प्रचारभन्दा परिणाम हो । ताल हेर्न आउने पर्यटकको संख्या मात्र होइन, त्यसबाट स्थानीय किसानको आम्दानी कति बढ्यो, कति युवाले रोजगारी पाए, कति स्थानीय व्यवसाय सञ्चालन भए र जलाशयको प्राकृतिक वातावरण कति सुरक्षित रह्यो भन्ने आधारमा यसको सफलता मापन हुनुपर्छ । नारेश्वरतालले दुम्सीचौरलाई नयाँ पहिचान दिने सम्भावना बोकेको छ । त्यसका लागि सरकार, स्थानीय तह, समुदाय र निजी क्षेत्रबीच स्पष्ट योजना र सहकार्य आवश्यक छ । पानीलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग, बजारलाई पर्यटनसँग र पर्यटनलाई स्थानीय रोजगारीसँग जोड्न सकियो भने नारेश्वरताल एउटा जलाशयमा सीमित रहने छैन– यो स्थानीय समृद्धिको एउटा जीवन्त आधार बन्न सक्छ ।










